२०८२ जेष्ठ ९ बिहीबार

भिजिट भिसामा मानव तस्करी : अध्यागमनका सहसचिव भट्टराई नियन्त्रणमा

मित्र भण्डारी

काठमाडौँ, जेठ ८ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा छापा मारी गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएको छ ।

त्रिवि अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख तीर्थराज भट्टराईलाई गृह मन्त्रालयले मङ्गलबार विमानस्थलबाट सरुवा गरी मन्त्रालयमा तानेको थियो । भट्टराई गत कात्तिक २३ गते त्रिवि अध्यागमन प्रमुखको जिम्मेवारीमा रहनुभएको थियो । अख्तियारले नियन्त्रणमा लिएका भट्टराईमाथि त्रिवि अन्तर्राष्ट्रिय विमानस्थलबाट मानव तस्करीको गिरोहलाई सहयोग पुग्ने गरी भिजिट भिसाको आवरणमा ठुलो सङ्ख्यामा विदेश भ्रमणको अनुमति दिएको आरोप छ ।

यसैबिच सहसचिव भट्टराईलाई बुधबार अबेर हाजिरी जमानीमा छाडिएको अख्तियारले जनाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत प्रहरी नायब महानिरीक्षक हिमालयकुमार श्रेष्ठका अनुसार छापा मारिएको स्थानबाट बरामद कागजपत्र, विद्युतीय उपकरणलगायत प्राप्त प्रमाणको अध्ययन भइरहेको छ । उच्च स्रोतका अनुसार भिजिट भिसाको आवरणमा खाडी मुलुक पु-याई अलपत्र पारिएका पीडितका तर्फबाट अख्तियारमा किटानीसहितका उजुरी परेपछि अख्तियारले गोप्य रूपमा निगरानी बढाएको थियो । अख्तियारले बरामद गरेका कागजपत्र र विद्युतीय उपकरणको प्रारम्भिक अनुसन्धानमा नै मानव तस्करीका गिरोहसँग मिलेमतो देखिने प्रमाण फेला परेको अख्तियार स्रोतले दाबी गरेको छ ।

भिजिट भिसाको आवरणमा नक्कली कागजपत्र पेस गरेकै आधारमा विदेश भ्रमणको अनुमति दिँदा विमानस्थल अध्यागमनका कर्मचारीले ३० देखि ५० हजार रुपियाँ असुली गर्ने गरेको आरोप लाग्दै आएको छ । विशेष गरी महिला तथा किशोरीलाई भिजिट भिसाको आवरणमा खाडी मुलुक पु-याएर बन्धक बनाई श्रम तथा यौनशोषणमा पार्ने गरिएको छ ।

त्रिवि विमानस्थलबाट मिलेमतो (सेटिङ) मा भइरहेको मानव तस्करीबारे गोरखापत्र दैनिकले यसअघि प्रमाणसहित समाचार शृङ्खला नै प्रकाशित गरेको थियो । वार्षिक एक लाखभन्दा बढी नेपाली युवायुवती मानव तस्कर गिरोहले विभिन्न प्रलोभनमा पारी भिजिट भिसाको आवरणमा चर्को रकम असुली गरी खाडी मुलुक पु-याएर अलपत्र पार्ने गरेका छन् ।

अख्तियारले बुधबार गरेको विशेष अपरेसनमा पक्राउ परेका सहसचिव भट्टराई र विमानस्थल अध्यागमन कार्यालयबाट बरामद गरिएका कागजात तथा विद्युतीय उपकरणको अनुसन्धान सुरु गरिएको छ । अख्तियारको नियन्त्रणमा रहनुभएका सहसचिव भट्टराईसँग अख्तियारका अनुसन्धान अधिकृतले लिखित सोधपुछसँगै अनुसन्धान सुरु गरेका छन् ।

नक्कली कागजत्रमा खुलेआम सेटिङ

भिजिट भिसा आवरणमा बर्सौंदेखि हुने गरेको मानव तस्करी कुनै नौलो विषय होइन । यो विकृतिलाई रोक्न सरकारले अनेक प्रयास गर्दै आएको छ तर अध्यागमन कार्यालयमा पुग्ने अधिकांश नेतृत्व नै मानव तस्करको प्रभावमा परी खुलेआम मानव तस्करीमै संलग्न हुने गरेका घटना बाहिर आएका छन् ।

भिजिट भिसालाई पारदर्शी बनाउन अध्यागमन विभागले कार्यविधि तयार गरी लागू गरेको छ । उक्त कार्यविधिमा विदेश घुम्न जानेका हकमा वार्षिक न्यूनतम आय, त्यसको आयकर तिरेको प्रमाण, कम्तीमा तीन लाख रुपियाँ बैङ्क ब्यालेन्स, १२ कक्षा पास गरेको, विगतमा अन्य मुलुक घुमेको, भिजिट भिसामा जाने मुलुकमा परिवारको सदस्य हुनैपर्ने जस्ता प्रावधान स्पष्ट रूपमा राखिएको छ ।

यी प्रावधान कागजमा मात्र सीमित छन् । भिजिट भिसामा खाडी मुलुक जाने अधिकांश महिला र किशोरी विपन्न र दुर्गम स्थानबाट आई प्रलोभनमा पारिएका हुने गरेका छन् ।

भिजिट भिसामा युएईलगायत खाडीतर्फ उड्ने अधिकांशको कागजपत्र बनावटी तथा कार्यविधि अनुरूप मापदण्ड नपुग्ने गरेको पाइएको छ । यसमा अध्यागमन विभागको गम्भीर लापरबाही वा मिलेमतोको आशङ्का गरिँदै आएको छ ।

भिजिट भिसाको आवरणमा खाडी जाने क्रममा विगतमा विमानस्थलबाट फर्काइएकामध्ये अधिकांश महिलाले आफ्नो पासपोर्ट तयार गर्नेदेखि प्रवेशाज्ञा, टिकट र आर्थिक स्रोत (बैङ्क ब्यालेन्स) समेत दलालले नै तयार पारी विमानस्थलसम्म पु-याएको स्विकार्ने गरेका छन् ।

गृह मन्त्रालयले यसअघि गरेको अध्ययनमा भिजिट भिसामा दुबई पु-याइएकाहरू त्यहाँबाट इरानदेखि केन्यासम्म पु-याउने र बन्धक बनाई घरायसी तथा यौनजन्य क्रियाकलाप गर्न बाध्य बनाउने गरेको तथ्य बाहिर आएको थियो । यसअघि भिजिट भिसामा विदेश पठाउने गिरोहसँग मिलेमतो गरेको आरोपमा प्रहरीले नेपाल वायु सेवा निगममा कार्यरत अधिकृत होमनाथ पोखरेललगायत त्रिवि अन्तर्राष्ट्रिय अध्यागमन कार्यालयका २० जनाभन्दा बढीलाई पक्राउ गरी अनुसन्धान गरेको थियो ।

भिजिट भिसामा प्रयोग भएका कागजपत्र तथा भिसासमेत नक्कली रहेको पाइएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले शङ्कास्पद कागजपत्र र पासपोर्ट बरामद गरी अनुसन्धानका लागि अपराध अनुसन्धान कार्यालयलाई पत्राचार गरेपछि विशेष अपरेसन गरिएको थियो । उक्त अपरेसनमा बरामद भएका अधिकांश कागजपत्र नक्कली रहेको पाइएको थियो ।आजको गोरखापत्र दैनिकमा खबर छ ।

२०८२ जेष्ठ ९, बिहीबार प्रकाशित 1 Minute 10 Views

ताजा समाचार