२०८२ जेष्ठ ९ बिहीबार

मोबाइलमा दुधको घण्टी !

सत्यवती–४, एक्सिङका महिला दुध बिक्री गर्दै ।

टोपलाल अर्याल

रेसुङ्गा (गुल्मी), जेठ ८ गते । गुल्मीको सत्यवती–४, एक्सिङकी राधिका गैरे गाहाको मोबाइलमा महिना मर्नेबित्तिकै दुधको भुक्तानी घण्टी बज्छ । स्याङएक्सिङ कृषि तथा पशुपालन महिला समूहकी सदस्यसमेत रहनुभएकी उहाँको एउटा भैँसी र गाई छ । अर्को गाई थप्ने योजना छ । गैरेले अहिले दैनिक बिहान साँझ गरेर २४ लिटर दुध बेच्नुहुन्छ । मासिक ४५/५० हजार रुपियाँ कमाउनुहुन्छ । बिहे भएर घर आउँदा जीविकोपार्जनको कुनै उपाय नै थिएन । घरेलु मदिरा पारेरै कैयौँ वर्ष बिताउनुभएकी गैरेको जीवन फेरिन भने धेरै समय लागेन ।

स्थानीय सरकार बनेपछि गाउँपालिकाले कृषि र पशुपालनको योजना बनायो । महिला एकीकृत बने । सिप र अनुदान पाएपछि सत्यवती गाउँपालिका–४, एक्सिङका महिला मदिरा छाडेर पशुपालनमा जोडिए । गैरेले भन्नुभयो, “त्यो बेला कमाइको विकल्प थिएन, मदिराले गर्जो मात्रै चल्थ्यो । मदिरा व्यापारले समाजमा इज्जत पनि हुन्नथ्यो अनि लडाइँ झगडा धेरै हुन्थ्यो ।” अहिले राधिकाले परदेश जानुभएका श्रीमान् तिलक गाहालाई पनि गाउँ फर्काएर कृषिसँगै कुटानीपिसानी व्यवसायमा जोड्नुभएको छ । उहाँले सत्यवती गाउँपालिकाले अनुदान अनि सिप पनि दिइरहेको बताउनुभयो ।

एक्सिङकै मीना सारुले पनि डेढ दशक मदिरा पारेर जीविकोपार्जन गर्नुभयो । अहिले चाडपर्वबाहेक मदिरा उत्पादन हुँदैन । घरमा समूहबाट किनेका दुई वटा गाई छन् । सारुको मोबाइलमा पनि महिना मरेपछि करिब ६० हजार रुपियाँ आउँछ । श्रीमान् झमानसिंह सारू र आफ्नो सबै समय पशुपालनमा खर्च भइरहेको छ । याङएक्सिङ कृषि तथा पशुपालन महिला समूहको सदस्य भएकाले ऋण लिएर ६० हजार रुपियाँमा गाई किन्नुभएकी सारुलाई पालिकाले २५ हजार अनुदान दियो ।

एक्सिङका राधिका र मीना जस्तै अधिकांश जनजाति महिला अचेल मदिरा उत्पादन छाडेर पशुपालन गर्छन् । एउटै गाउँका ४०/४५ जना महिलाले व्यावसायिक रूपमा पशुपालन गर्दै आएका छन् । सत्यवती दुग्ध उत्पादक सहकारी संस्थाले सबैभन्दा धेरै दुध सङ्कलन गर्ने गरेको छ । सत्यवती दुग्ध उत्पादक सहकारी संस्थाका सञ्चालक गोकर्ण भण्डारीले लिम्घाका विभिन्न ठाउँ र खैरेनी बजारको समेत गरेर दैनिक सात सय लिटरसम्म दुध सङ्कलन गर्ने सहकारीले दही, पनिर उत्पादनलगायत दुग्ध विकास संस्थानलाई दुध बिक्री गर्ने गरेको बताउनुभयो । उहाँले बर्सेनि दुध उत्पादन वृद्धि भए पनि विविधीकरणमा काम गर्न नसकिएको बताउनुभयो ।

गाउँमा २०७३ सालबाट पशुपालन बढेको छ । पहिले थोरै थोरै उत्पादन हुन्थ्यो । सत्यवती गाउँपालिकाले एकल कम्पनीबाट भन्दा समूहमार्फत दुध उत्पादन विस्तार गर्दा धेरै जनाको परिवारसम्म पैसा पुग्ने भएकाले संस्थागत उत्पादन र बजारीकरणमा जोड दिएको छ । पशु प्राविधिक नारायण खनालले गाउँपालिकाले प्रतिगाई २५ हजार अनुदान र तालिमसहित सङ्कलन केन्द्रका लागि सहजीकरण गरिरहेको बताउनुभयो । खनालका अनुसार अघिल्लो वर्ष एक लाख ६४ हजार लिटर दुध सत्यवती दुग्ध उत्पादक सहकारी संस्था र अस्लेवा, ठुलोलुम्पेक र चेहेमीबाट बिक्री भएको बताउनुभयो ।

खनालका अनुसार गाउँपालिकाको उत्पादनमा आधारित अनुदानमार्फत दुई सय लिटरभन्दा माथि उत्पादन गर्ने कृषकलाई प्रतिलिटर तीन रुपियाँ अनुदान दिएको छ । खनालले गत वर्ष सत्यवतीबाट दुई करोड रुपियाँभन्दा बढीको दुध बिक्री भएको र अहिले वृद्धि भएर तीन करोड रुपियाँ पुग्ने दाबी गर्नुभयो । गाउँपालिकामा २०२ जना किसान दुध उत्पादनमा जोडिएका छन् । दुधबाटै व्यक्तिगत रूपमा दुई लाख रुपियाँसम्म मासिक कमाउने छन् ।

सत्यवती गाउँपालिकाका अध्यक्ष टीकाराम पाण्डेले पहाडको समृद्धिको आधार नै कृषि भएकाले आफूहरू योजनाबद्ध रूपमा कृषि र पशुपालनमा जोडिएको बताउनुभयो । उहाँले अनुदान, सिप र उपकरणमा सहयोग तथा बजारीकरणमा पालिकाले सहजीकरण गरिरहेको बताउनुभयो ।गोरखापत्र अनलाइन

 

२०८२ जेष्ठ ९, बिहीबार प्रकाशित 1 Minute 8 Views

ताजा समाचार