
फाइल तस्विर
अशाेक अधिकारी

काठमाडौँ, जेठ ७ गते । कास्कीको पोखरा महानगरपालिका–१६ स्थित अर्मलासहित विभिन्न क्षेत्रमा २०७० साल यता सिङ्कहोल अर्थात् जमिन भासिने र गहिरो खाल्डो पर्ने सिलसिला चलिरहेको छ । कतिपय आवासीय क्षेत्रमै पनि खाल्डो परेपछि स्थानीयवासी त्रसित छन् ।
पोखरा मात्रै होइन, काठमाडौँकै टोखा नगरपालिका–११ स्थित वनदेवीमा २०८१ साउनमा जमिनको भित्री भाग भासिएपछि छ वटा घर जोखिममा परेका थिए तर सामान्य मर्मत र सडक छेउमा पर्खाल लगाएर स्थानीयवासी घरमा पुनः फर्किएका छन् । पोखरा महानगरपालिका–१६ का अध्यक्ष अमृत शर्मा तिमिल्सिनाका अनुसार जमिन भासिने क्रम तत्कालका लागि समस्या समाधान भएको छ । उहाँले कालीखोलामा तटबन्ध निर्माण गरेपछि केही नियन्त्रण भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “तर पहिले बढी प्रभाव परेको दक्षिणतर्फको भागमा आंशिक समस्या देखियो । बस्ती केही पर छ । त्यतिबेला भौगर्भिक अध्ययन र परीक्षण गर्न सकिएन तर काली खोलामा तटबन्ध लगाए जस्तै धार्नी खोलामा पनि पाँच वटा ‘ड्याम’ बनाउने योजना छ । बस्ती थोरै भए पनि स्थानीय त्रसित छन् ।”
उहाँका अनुसार महानगरले जमिन भासिएको क्षेत्रमा के गर्ने भन्ने विषयमा निर्णय लिन र कानुनी एवं नीतिगत व्यवस्था गरेर त्यो क्षेत्रलाई अधीनमा राख्ने काम गरेको छैन ।
त्यसै गरी टोखा नगरपालिका–११ का अध्यक्ष घनश्याम खड्काले वनदेवीमार्गमा बालुवा र माटो बग्दै गएपछि गत वर्ष साउनमा उक्त स्थानको भित्री सतह खोक्रो भएको बताउनुभयो । उहाँले पाँच वटा घरमा सामान्य क्षति भएको बताउँदै अहिले पनि एउटा बरन्डामा रहेको सिङ्कहोलबाट मुनि पानी बगेको आवाज सुनिने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “मुनि कहाँबाट पानी जान्छ, थाहा छैन तर आवाज सुनिन्छ । अहिले समस्या छैन । सबै घरधनी आआफ्नो घरमा फर्किनुभएको छ तर अब आवासीय क्षेत्र निर्माण गर्दा अध्ययन गर्नुपर्ने देखियो ।”
अध्ययन आवश्यक : विज्ञ
वैशाख १९ गते मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१६, गैरीगाउँमा सडकमा गुडिरहेको गाडी जमिनमा भासिएको थियो । गाडी नै दलदलमा फसे पनि चर्चामा रहेको यो विषयले आवासीय क्षेत्र विस्तार गर्दा र अन्य संरचना निर्माण गर्दा भौगर्भिक अध्ययन गर्न सचेत गराइएको छ ।
वरिष्ठ भूगर्भविद् प्राडा मेघराज धिताल र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत खानी तथा भूगर्भ विभागका महानिर्देशक मोनिका झाले खतरापूर्ण क्षेत्रमा भौगर्भिक अध्ययनबिना निर्माण कार्य गरिए परिणाम घातक हुने बताउनुभयो ।
झापाका भद्रपुर र दमक, मोरङको विराटनगर, सुनसरीको धरान, सिन्धुली, धनुषाको जनकपुरधाम, महोत्तरीको बर्दीबास र जलेश्वर, पर्साको वीरगन्ज, मकवानपुरको हेटौँडा, काठमाडौँ र नुवाकोटमा जमिन भासिने जोखिमयुक्त भौगर्भिक संरचनाको अध्ययन सम्पन्न भइसकेको छ ।
त्यसै गरी चितवनको भरतपुर, कास्कीको पोखरा, तनहुँको दमौली, रुपन्देहीका बुटवल र भैरहवा, दाङको तुलसीपुर, बाँकेको नेपालगन्ज, बर्दियाको गुलरिया, सुर्खेत, कैलालीका टीकापुर र धनगढी र कञ्चनपुरको महेन्द्रनगरमा पनि जमिन भासिने खतराबारे अध्ययन पूरा भएको छ ।
प्राडा धितालले जमिन भासिने समस्या देशका धेरै ठाउँमा रहेको प्रस्ट पार्दै जोखिम नभएका ठाउँमा बस्ती विस्तार गर्ने गरी सरकारको नीति बन्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “पोखराको अर्मला क्षेत्रमा बस्ती छ । काठमाडौँमै पनि जमिन भासिने खतरा छ । त्यसैले भौगर्भिक अध्ययन गरेर मात्रै भौतिक संरचना निर्माण गर्नु पर्छ । खतरापूर्ण क्षेत्रको पहिचान गर्नु पर्छ । यदि अध्ययनबिना निर्माण गरिए त्यसले भविष्यमा गम्भीर परिस्थिति निम्तिन्छ ।”आजको गोरखापत्र दैनिकमा खबर छ ।