
केशवराज पौडेल
काठमाडौँ, वैशाख २६ गते । सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका–३ का कृषक देउबहादुर तामाङ यो वर्ष उत्कृष्ट प्राङ्गारिक कृषि उत्पादन गर्ने कृषकका रूपमा सम्मानित हुनुभएको छ । बजारमा विषादीबिनाको तरकारी पाउनै मुस्किल भएको उपभोक्ताले गुनासो गरिरहेको समयमा पाँच रोपनी जग्गामा पूर्ण प्राङ्गारिक रैथाने बाली उत्पादन गरेर सहरका उपभोक्तालाई चखाएपछि तामाङ सम्मानित हुनुभएको हो ।

आफूले गाउँमै रहेका जैविक विषादीको प्रयोग गरेर उत्पादन गरिरहेको तामाङले बताउनुभयो । खेती गरेर पनि सम्मान हुने कुराले मेहनत गर्न अझै प्रेरणा मिलेको उहाँले बताउनुभयो । उहाँ भन्नुहुन्छ, “विषादीको प्रयोगले किसान र उपभोक्ता दुवैको स्वास्थ्यमा असर गरेको देखेपछि जैविक विषादीको प्रयोगमा जोड दिएको छु ।”
वनस्पतिको प्रयोगबाट बालीनालीका लागि जैविक विषादी बनाउन सकिने भएपछि सयपत्री, तितेपाती जस्ता मौसमी वनस्पतिको खेती गरेर विषादी बनाउने गरिएको छ । पाँचपोखरी थाङ्पाल गाउँपालिकाले सेरचु बरोलो साना किसान सहकारीसँगको समन्वयमा सहभागितामूलक गुणस्तर निर्धारण प्रणाली (पिजिएस) मार्फत गरेको उत्पादनको निरीक्षणमा पूर्ण अर्गानिक पाइएपछि उहाँ सम्मानित हुनुभएको हो । गाउँपालिकाले विज्ञलाई बोलाएर किसानले उत्पादन गरेका कृषि सामग्री निरीक्षण गरेर अर्गानिक भएको प्रमाणित भएपछि मात्रै बजारमा पठाउने गरेको छ । त्यसमा जिल्ला कृषि विकास कार्यालय धुलिखेलले अर्गानिक उत्पादन रहेको प्रमाणित गरेपछि बजारमा लाने गरिन्छ ।
“सो गाउँमा कुनै पनि रासायनिक विषादी तथा कीटनाशकको प्रयोग हुँदैन,” जिल्ला कृषि विकास कार्यालयका प्रमुख कुलप्रसाद दवाडी भन्नुहुन्छ, “विषादीको सट्टा जैविक उपाय खोज्दै किसानले अर्गानिक उत्पादनलाई जोड दिएका छन् । गाई भैँसीको मलमूत्रसँगै माटोलाई आवश्यक पर्ने जैविक उपाय खोजी गर्दै त्यहाँका किसानलाई अर्गानिक उत्पादनमा कार्यालयले सहयोग गरिरहेको छ ।”
पछिल्लो समय नसर्ने रोगको मुख्य कारणका रूपमा पनि घातक विषादीको प्रयोग भएको भन्ने तथ्य बाहिर आएपछि किसानले पनि जैविक विषादी बनाएर प्रयोग गर्न थालेका हुन् । किसान आफैँ जैविक विषादी प्रयोग र प्रचारको अभियानमा लागेका छन् ।
रूपन्देहीको देवदह क्षेत्रका १५० घरधुरीका कृषकले सामूहिक रूपमा अर्गानिक तरकारी उत्पादन सुरु गरेको दुई दशक पूरा भइसक्यो । त्यहाँका कृषकले अर्गानिक खेतीमा रमाइरहेका छन् । अन्नबालीभन्दा पनि राम्रो आम्दानी अर्गानिक तरकारी खेतीबाट पाएपछि त्यस क्षेत्रका किसान सकेसम्म विषादी नै प्रयोग नगर्ने र गर्नै परेमा जैविक विषादीको प्रयोगमा आफूलाई समर्पित गरेका छन् । ६० बिघामा लगाइएको खेतीबाट कम्तीमा वार्षिक पाँच करोड रुपियाँभन्दा धेरैको तरकारी बेच्ने गरेका छन् ।
देवदह नगरपालिका कृषि शाखाका प्राविधिक प्रवीन्द्रकुमार मल्लले त्यहाँका किसानले गड्यौला मल र जैविक मलको प्रयोग गर्ने गरेको जानकारी दिनुभयो । त्यस क्षेत्रमा लौरे सिमी धेरै उत्पादन हुने भएकाले सिमी पकेट क्षेत्र विस्तारमा नगरपालिकाले सहयोग गरेको उहाँले बताउनुभयो । अर्गानिक भएपछि व्यापारीहरूले घरमै आएर त्यहाँको उत्पादन किनिदिने गरेका छन् ।
सिँचाइका लागि कुलो, प्लास्टिक पोखरीको निर्माणमा नगरपालिकाले सहयोग गरेको छ । तरकारीको थप बजारीकरणका लागि केही वर्षदेखि नगरले प्रयास गरिरहेको उहाँले उल्लेख गर्नुभयो । मल्लले भन्नुभयो, “पहिलेदेखि प्राङ्गारिक मलको प्रयोग गरेकाले हालसम्म रासायनिक मलको प्रयोग गरिएको छैन ।” तीन दशकभन्दा बढी समयदेखि खेती गर्दै आउनुभएको काभ्रेपलाञ्चोक नालाको निर्मला श्रेष्ठले तीन वर्षयता आफूले लगाउने तरकारी खेतीमा जैविक विषादीको प्रयोग बढाएर बजारमा पठाउने गर्नुभएको छ । त्यो उत्पादनलाई उपभोक्ताले पनि औधी रुचाएका छन् ।
लामो समयदेखि आइपिएम खेती गरिरहनुभएको महेश्वर दाहालले गाउँघरमा पाइने वनस्पतिबाट खेतीमा लाग्ने रोगका कीरा मार्न सकिने भएकाले जिल्लाका धेरै गाउँमा जैविक विषादी बनाउने लहर चलेको बताउनुभयो ।
तेह्रथुम जिल्लाको आठराई गाउँपालिकाका किसानले पनि यस्तो विषादी बनाउन कम खर्च लाग्ने र तिनको प्रयोगबाट हानि नहुने बुझेपछि जैविक विषादीको प्रयोग बढाएको बताइएको छ । बालीनाली र तरकारीमा रासायनिक मलको प्रयोग क्रमशः घट्दै गएको छ ।गोरखापत्र दैनिकमा खबर छ ।