२०८२ बैशाख २४ बुधबार

कम्युनिस्ट आन्दोलनका धरोहर प्रदीप नेपालको निधन

न्युज अफ नेपाल
काठमाडौं ।

वरिष्ठ साहित्यकार तथा नेपाल कम्युनिस्ट आन्दोलनका एक सशक्त नेता प्रदीप नेपालको निधनले नेपाली राजनीतिक र साहित्यिक वृत्तमा अपूरणीय क्षति पुगेको छ ।

उहाँको निधनसँगै मुलुकले एक सादगीपूर्ण, स्पष्टवक्ता र बहुआयामिक व्यक्तित्व गुमाएको छ । पार्किन्सन्स रोगबाट पीडित रहँदै आउनुभएका नेपाल पछिल्लो समय राजनीतिबाट टाढा रहँदै साहित्यिक गतिविधिमा केन्द्रित हुनुहुन्थ्यो । उहाँको मंगलवार अपराह्न नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

विसं २०१० पुस २८ गते भोजपुरको गोगने गाउँमा जन्मनुभएका नेपाल कम्युनिस्ट घटक कोअर्डिनेसन केन्द्र हुँदै नेकपा (माले) स्थापनाका एक महत्वपूर्ण नेताका रूपमा परिचित हुनुहुन्थ्यो । २०२६ सालमा सगरमाथा स्वतन्त्र विद्यार्थी युनियनको सदस्य भएर उहाँले राजनीतिक जीवन प्रारम्भ गर्नुभएको थियो ।

उहाँले नेकपा माले स्थापनापछि कठोर भूमिगत कालमा लुम्बिनी, बाँके बर्दिया, मेची, भारत प्रवास र उपत्यकाको पार्टी कामको नेतृत्व गर्नुभएको थियो । उहाँ चर्चित नख्खु जेल ब्रेक काण्डका एक पात्र हुनुहुन्थ्यो । नेपालको जीवनको सुरुवात एक सशक्त युवा कम्युनिस्ट कार्यकर्ताका रूपमा भएको थियो ।

उहाँ नेपालका प्रथम निर्वाचित कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीको सरकारमा सूचना तथा सञ्चार राज्यमन्त्रीको जिम्मेवारी सम्हाल्दै राष्ट्रिय राजनीतिमा स्थापित हुनुभयो । लामो समयसम्म नेपाल कम्युनिस्ट पार्टी (एमाले) मा समर्पित रहनुभएका नेपाल एमालेको विभाजनपछि सक्रिय राजनीति त्याग गर्दै लेखनमा केन्द्रित हुनुभएको थियो । उहाँको साहित्यिक यात्रा सञ्जय थापा नामबाट शुरू भएको थियो । पञ्चायतकालमा तीव्र प्रतिबन्धका बीच पनि साहित्य सिर्जनामा होमिनु उहाँको साहसको परिचायक मानिन्छ ।

साहित्यकारका रूपमा नेपालले उपन्यास, कथा, कविता, निबन्धजस्ता विधामा महत्वपूर्ण योगदान दिनुभएको थियो । उहाँका कृतिहरू सामाजिक यथार्थ, राजनीतिक चेतना र व्यक्तिपरक अनुभूतिहरूले भरिएका छन् । उहाँका रचनामा सादगी, तिक्त यथार्थ र निष्पक्ष विश्लेषण पाइन्छ । उहाँको शैलीले पाठकलाई सोध्न र सोच्न बाध्य पार्ने गरेको थियो । राजनीतिज्ञ भएर पनि साहित्यमा यति सशक्त उपस्थिति देखाउनु कमै उदाहरणमध्ये उहाँ एक हुनुहुन्छ ।

नेपालको व्यक्तिगत जीवन पनि त्यत्तिकै प्रेरणादायी रह्यो । झुमा देवानसँग वैवाहिक सम्बन्धमा बाँधिनु भएका उहाँ एक छोरीका पिता हुनुहुन्थ्यो । जीवनका पछिल्ला दिनमा राजनीतिक दलहरूको चरित्रप्रति असन्तुष्टि जनाउँदै उहाँले सार्वजनिक रूपमा विभिन्न आलोचनात्मक टिप्पणी गर्नुभएको थियो । जसले उहाँको स्पष्ट दृष्टिकोण र निर्भीकताको पुष्टि गर्दछ । नेपालको मृत्युप्रति राजनीतिक दल, साहित्यिक संस्था, लेखक, पत्रकार तथा आम सर्वसाधारणले श्रद्धाञ्जली अर्पण गरेका छन् । प्रधानमन्त्री केपी ओलीले उहाँको निधनलाई एक आदर्श व्यक्तित्वको क्षति भएको बताउनुभएको छ । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नेकपा एसका सम्मानित नेता झलनाथ खनालले प्रदीप नेपाल विचार, व्यवहार र नेतृत्वमा सच्चा कम्युनिस्ट आचरण रहेको बताउनुभएको छ ।

राष्ट्रिय स्तरका साहित्यिक संघ–संस्थाहरूले नेपालका कृतिहरू नेपाली साहित्यको सम्पदा भएको बताउँदै उहाँको योगदानको कदर गर्ने प्रतिबद्धता जनाएका छन् । वर्तमान पुस्ताका लागि नेपालको जीवनशैली, वैचारिक स्पष्टता, रचनात्मक ऊर्जा र सादगीपूर्ण व्यवहार प्रेरणाको स्रोत बन्न सक्छ । उहाँको निधनले नेपाली वामपन्थी आन्दोलनमात्र होइन, समग्र मुलुकले एक इमानदार चिन्तक, विवेचक र सिर्जनशील व्यक्तित्व गुमाएको छ ।

नेपालप्रति सच्चा श्रद्धाञ्जली भनेको उहाँले देखाएको बाटोमा इमानदारिता र निष्ठाका साथ लाग्नु हो । उहाँका विचार र साहित्यलाई समयसापेक्ष रूपान्तरण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्नु आजको आवश्यकता बनेको छ । उहाँको मंगलवार नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । उहाँको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरिएको थियो । उहाँले जीवनको अन्तिम समयमा आएर आफूलाई पार्टीको झण्डा नओढाउन आग्रह गरेबमोजिम उहाँको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर बिदाइ गरिएको थियो ।

२०८२ बैशाख २४, बुधबार प्रकाशित 0 Minutes 9 Views

ताजा समाचार