२०८२ बैशाख २० शनिबार

काँकरभिट्टामा बहुउदेश्यीय सहितको बहुतले बसपार्क बन्ने

मेचीनगर । काँकरभिट्टामा बहुतले बसपार्क बन्ने भएको छ ।
मेचीनगर–६ स्थित काँकरभिट्टा बजारमा बहुउदेश्यीयसहितको बहुतले बसपार्क बन्ने भएको हो ।
अहिलेको काँकरभिट्टाको बस टर्मिनललाई नै बहुतले बसपार्कका रुपमा रुपान्तरण गर्न खोजिएको छ ।
भर्खरै विराटनगरमा सम्पन्न ‘कोशी प्रदेश लगानी सम्मेलनमा’ दीर्घायु विजनेश ग्रुप काठमाडौँले बहुतले बसपार्कका लागि काँकरभिट्टा बस टर्मिनलमा लगानी गर्ने भएको छ ।
त्यसका लागि उक्त ग्रुपले एमओयूमा हस्ताक्षर गरिसकेको अवस्था छ । मल्टी स्टोरियो बस टर्मिनल काँकरभिट्टा परियोजना नामकरण गरिएको छ ।
उक्त काम सम्पन्न गर्न ४० करोड रुपैयाँमा ग्रुपले सम्झौता गरेको छ । यसको सहजीकरण प्रदेश लगानी प्राधिकरणले गरेको छ ।
मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले चुनावताका नै काँकरभिट्टा बजारमा बहुउदेश्यीयसहितको बहुतले बसपार्क बनाउने घोषणा गरेका थिए ।


निर्वाचित भएपछि यसका लागि नगरप्रमुख बुढाथोकीले कोशी प्रदेशको लगानी बोर्ड, संघिय सरकार र विभिन्न दातृ निकायमा प्रस्ताव गरिरहेका थिए ।
दुई महिनाअघि मात्र पनि नगरपालिकाको निमन्त्रणामा दक्षिण कोरियाको लगानीकर्ताहरुको टोली काँकरभिट्टामा आएर स्थलगत अवलोकन भ्रमण गरेको थियो ।
यसमा नगर विकास कोष, कोरियाली टिम समेत लगानी गर्न यच्छुक रहेको उनको भनाई छ ।
नगरप्रमुख बुढाथोकीले बहुतले बसपार्क बनाउने योजना सफल पार्न लागि परेको बताए । अव्यवस्थित बस पार्कलाई विभिन्न प्रकारका व्यवसायिक प्रयोजनमा विजनेश गर्ने उदेश्यसहित बहुतले बसपार्क बन्ने उनको भनाई छ ।
‘बहुतले बसपार्कमा अण्डर ग्राउण्ड सवारी साधानको पार्किङ, होटल, मल लगायतका थुप्रैव्यवसायिक विजनेश प्रयोजनहरु रहन्छ’, बुढाथोकीले भने–‘पूर्वी नाका काँकरभिट्टालाई विश्वमा चिनाउन नमूनाकै रुपमा विकास गर्न लागि परिरहेका छौँ ।’

२०८२ बैशाख २०, शनिबार प्रकाशित 0 Minutes 13 Views

ताजा समाचार