२०८२ बैशाख १२ शुक्रबार

तीन विकास बैङ्क र दुई फाइनान्स कारबाहीमा

काठमाडौँ। नियामक निकायको निर्देशनविपरीत काम गर्ने र नियमाकीय मापदण्डबाहिर गएका तीन विकास बैङ्क र दुई फाइनान्स कम्पनीलाई नेपाल राष्ट्र बैङ्कले कारबाही गरेको छ ।

राष्ट्र बैङ्कले मुक्तिनाथ विकास बैङ्क, नारायणी डेभलपमेन्ट बैङ्क, सालपा विकास बैङ्क, जानकी फाइनान्स र पोखरा फाइनान्सलाई कारबाही गरेको हो ।

स्थलगत निरीक्षणका क्रममा मुक्तिनाथ विकास बैङ्कको सञ्चालक समितिको अध्यक्ष भरतराज ढकाल संस्थाको भवन निर्माण प्रयोजनार्थ गठित भवन निर्माण समितिको संयोजकका हैसियतले सहभागी भएको पाइएपछि सचेत गराएको राष्ट्र बैङ्कले जनाएको छ ।

यस्तै नारायणी डेभलपमेन्ट बैङ्कले न्यूनतम चुक्ता पुँजी र पुँजी कोष अनुपात कायम नगरेको, तोकिएको सीमाभन्दा बढी निक्षेप सङ्कलन गरेको र एकल ग्राहक कर्जा सीमाभन्दा बढी कर्जा प्रवाह गरेको राष्ट्र बैङ्कले जनाएको छ । नारायणीको सञ्चालक समितिलाई न्यूनतम चुक्ता पुँजी तथा पुँजी कोष अनुपात २०८२ असार मसान्तभित्र अनिवार्य कायम गर्न र निर्देशन पालना गर्न लिखित आदेश दिएको राष्ट्र बैङ्कले जारी गरेको सूचनामा उल्लेख छ ।

सालपा विकास बैङ्कले पनि तोकिएको न्यूनतम चुक्ता पुँजी हालसम्म पनि कायम नगरेको तथा तोकिएको चुक्ता पुँजी पुर्‍याउन दिइएका निर्देशन पनि पालना नगरेको सूचनामा उल्लेख छ । यता न्यूनतम पुँजी कोष अनुपात नियामकीय मापदण्डबमोजिम नरहेका पोखरा फाइनान्स र जानकी फाइनान्सलाई शीघ्र सुधारात्मक कारबाही गरिएको छ ।

पोखरा फाइनान्सका प्रमुख कार्यकारी अधिकृत रविचन्द्र गुरुङलाई आफ्नो जिम्मेवारी पूरा नगरेको भन्दै पाँच लाख रुपियाँ जरिबानासमेत गरिएको छ । पोखरा फाइनान्सले अनिवार्य मौज्दात रकम कायम नगरेको हुँदा ४६ हजार ७१८ रुपियाँ २३ पैसा जरिबाना पनि तिर्नुपर्ने गरी कारबाही गरिएको राष्ट्र बैङ्कले जनाएको छ ।गोरखापत्र अनलाइन

 

२०८२ बैशाख १२, शुक्रबार प्रकाशित 1 Minute 9 Views

ताजा समाचार