२०८२ बैशाख १२ शुक्रबार

कोशीका सांसदहरुद्वारा झापा–१ को निर्माणाधीन सडकको अनुगमन

मेचीनगर । कोशी प्रदेशको प्राकृतिक श्रोत तथा पूर्वाधार विकास समितिले आज झापा क्षेत्र नंं १ को निर्माणाधीन सडकको अनुगमन गरेको छ ।
आज समितिका सभापति होमबहादुर थापाको नेतृत्वमा आएको सांसदहरुको टोलीले भद्रपुरदेखि इलामको सीमाना जोडिएको निन्दा सिरान सम्मको निर्माणाधीन सडकको अनुगमन गरेको हो ।
२०७८ भदौ २३ गते कनकाई मोतीदान जेभी काठमाडौँले २६ करोड ६६ लाख ३३ हजार ८२८ रुपैयाँ ८५ पैसामा ठेक्का लिएको थियो । उक्त ठेक्काको म्याद यही २०८२ जेठ २२ गते सकिदै छ ।
भौतिक पूर्वाधार विकास कार्यालय भद्रपुरका इन्जिनियर मुकेश साहले १८ किलोमिटर उक्त सडकको वित्तिय प्रगति ६५ प्रतिशत र भौतिक प्रगति ७० प्रतिशत रहेको जानकारी दिए ।
उनका अनुसार निर्माण व्यवसायीले भ्याटसहित १५ करोड २८ लाख भुक्तानी लिएको छ ।
टोलीमा सभापति थापा, समितिका सदस्य सांसदहरु लीलाकुमारी राई, निमसरी राजबंशी, नुरसीद्वि वेगम, खड्गबहादुर वस्नेत, गोविन्द गिरी, बन्दना झाँगड लगायतको उपस्थिति रहेको थियो ।


अनुगमनको टोलीमा सांसद एवम् नेपाली कांग्रेस संसदीय दलका सचेतक गोपाल तामाङ, मेचीनगर–१ का वडाध्यक्ष रामकुमार राई, नगरपालिकाको पूर्वाधार विकास समिति संयोजक चित्र धिमाल लगायत स्थानीय समाजसेवीहरुको उपस्थिति रहेको थियो ।
सांसद एवम् समितिका सभापति थापाले आज झापाका ५ वटै निर्वाचन क्षेत्रमा योजनाका के कति काम भइरहेको छ, त्यसको अनुगमन गरिएको बताए ।
बुधबार चन्द्रगढीमा झापाका सबै सांसद, जिल्लाका सडक डिभिजनका प्रमुख र सरोकारवाला निकायसँग पनि ५ वटै निर्वाचन क्षेत्रका योजनाका विषयमा छलफल गरिएको उनको भनाई छ ।
१२ जना सांसद रहेको प्राकृतिक श्रोत तथा पूर्वाधार विकास समितिको अन्य सदस्यहरुमा कमलप्रसाद जवेगु, तीलकुमार म्याङवो लिम्बु, अमृतकुमार अर्याल, रामप्रसाद महतो र मोहन महर्जन छन् ।

२०८२ बैशाख ११, बिहीबार प्रकाशित 0 Minutes 11 Views

ताजा समाचार