२०८२ बैशाख २६ शुक्रबार

घटे बैङ्क तथा वित्तीय संस्था

काठमाडौँ, वैशाख ११ गते । पाँच वर्षमा बैङ्क तथा वित्तीय संस्थाको सङ्ख्या १५५ बाट १०७ मा झरेको छ । नेपाल राष्ट्र बैङ्कका अनुसार २०७७ असार मसान्तमा १५५ वटा रहेका बैङ्क तथा वित्तीय संस्था चालु आर्थिक वर्ष २०८१/८२ को फागुन मसान्तमा १०७ म झरेका हुन् । बैङ्कहरू गभिने तथा प्राप्ति (मर्जर तथा एक्विजिसन) बाट ४८ वटा घटेका हुन् ।

अहिले राष्ट्र बैङ्कबाट इजाजतप्राप्त बैङ्क तथा वित्तीय संस्थाको सङ्ख्या (लघुवित्त वित्तीय संस्थासमेत) २०८१ फागुन मसान्तमा १०७ रहेको छ । तीमध्ये २० वाणिज्य बैङ्क, १७ विकास बैङ्क, १७ वित्त कम्पनी, ५२ लघुवित्त वित्तीय संस्था र एक पूर्वाधार विकास बैङ्क रहेका छन् ।

बैङ्क तथा वित्तीय संस्थाको शाखा सङ्ख्या ११ हजार ५४३ पुगेको छ । नेपाल राष्ट्र बैङ्कका अनुसार चालु आव २०८१/८२ को फागुन मसान्तसम्ममा ११ हजार ५४३ पुगेको हो । बैङ्क तथा वित्तीय संस्था (लघुवित्त वित्तीय संस्थासमेत) को शाखा सङ्ख्या २०८१ असार मसान्तमा ११ हजार ५३० रहेकोमा २०८१ फागुन मसान्तसम्ममा ११ हजार ५४३ पुगेको हो । २०७७ असार मसान्तमा बैङ्क तथा वित्तीय संस्थाको सङ्ख्या १० हजार ६८३ रहेको थियो ।

समीक्षा अवधिमा वाणिज्य बैङ्कका पाँच हजार ८१, विकास बैङ्कका एक हजार १३२, वित्त कम्पनीका २९१, लघुवित्त वित्तीय संस्थाका पाँच हजार ३९ वटा शाखा रहेका छन् ।

सबै पालिकामा वाणिज्य बैङ्क

गत माघअघि एउटा स्थानीय तहमा वाणिज्य बैङ्क नपुगेकामा हाल त्यसमा पनि वाणिज्य बैङ्कको शाखा सञ्चालनमा आएपछि अब सबै ७५३ पालिकामा वाणिज्य बैङ्क पुगेका छन् ।

लामो समयसम्म बैङ्कविहीन रहेको बझाङ जिल्लाको साइपाल गाउँपालिकामा एभरेस्ट बैङ्कको शाखा विस्तार भएपछि देशभरका ७५३ वटै पालिकामा ‘क’ वर्गका वाणिज्य बैङ्कबाट बैङ्किङ सुविधा पुगेको हो । गाउँपालिकाको प्रवेशमार्गमा रहेको पहिलो गाउँ धलौनमा एभरेस्ट बैङ्कले शाखा स्थापना गरी सञ्चालनमा ल्याएको हो । ७५३ पालिकामध्ये बैङ्क नभएको एउटा मात्रै पालिका साइपाल रहेको थियो । स्थानीय तह भएको आठ वर्षपछि साइपालवासीले बैङ्क देख्न पाएका थिए ।

नेपाल राष्ट्र बैङ्कले २०७४ सालमै साइपाल गाउँपालिकामा बैङ्किङ सेवा दिने जिम्मा एभरेस्ट बैङ्कलाई दिएको थियो । सडक, सञ्चार, सुरक्षालगायतका पूर्वाधार स्थानीय तहमै उपलब्ध नभएसम्म त्यहाँ शाखा स्थापना गर्न नसक्ने भन्दै एभरेस्टले शाखा स्थापना गर्न आनाकानी गर्दै आएको थियो । बैङ्क नभएका कारण साइपालका बासिन्दाले स्थानीय सरकारको अनुभूति गर्न नपाएको भन्दै पालिकाका जनप्रतिनिधि बैङ्क स्थापना गर्न माग्न गर्दै पटक पटक काठमाडौँ धाउँदै आएका थिए ।गोरखापत्र अनलाइन

 

२०८२ बैशाख ११, बिहीबार प्रकाशित 1 Minute 21 Views

ताजा समाचार