ज्याला वृद्धि गर्न श्रमिकको माग, श्रम ऐन व्यावहारिक नभएको उद्योगीको भनाइ
बिर्तामोड । श्रम ऐनअनुसार ज्याला वृद्धि नभएको भन्दै चिया श्रमिकहरूले आगामी चैतदेखि बगानमा हडताल गर्ने बताएका छन् । प्रत्येक दुई/दुई वर्षमा चिया श्रमिकको ज्याला वृद्धि गर्नुपर्ने श्रम ऐन–२०७४ को प्रावधानअनुरूप चालु वर्षको साउनदेखि उनीहरूको ज्याला वृद्धि हुनुपर्ने थियो । तर, कोभिडलगायत विविध कारण देखाउँदै उद्योगीले श्रमिकको ज्याला वृद्धि गरेका छैनन् । ज्याला वृद्धिको माग गर्दै उनीहरूले गत असोजमा लिखित पत्रमार्फत उद्योगीको ध्यानाकर्षण गराएका थिए ।
‘तर, कुनै सुनुवाइ भएको छैन’ नेपाल चिया बगान श्रमिक संघका केन्द्रीय अध्यक्ष दीपक तामाङले भने, ‘त्यसैले बगानमा हडताल गर्ने तयारीमा छौं ।’ चिया बगानका श्रमिकले अहिले दैनिक ४ सय ३५ रुपैयाँ ज्याला पाउँदै आएका छन् । यसअघि उनीहरूले ज्याला वृद्धि तथा ऐन कार्यान्वयनको माग गर्दै २०७५ चैत १७ देखि २०७६ वैशाख ३० सम्म चिया इतिहासमै लामो समयको आन्दोलन गरेका थिए । ४४ दिनसम्म चलेको उक्त आन्दोलनले चिया क्षेत्र ठप्प बनेपछि नेपाल चिया उत्पादक संघ र आन्दोलनरत ट्रेड युनियनबीच तीनबुँदे सहमति भएको थियो ।
मुलुकमा २७ हजार ५ सय हेक्टर क्षेत्रफलमा चिया खेती गरिन्छ । झापामा १० हजार ५ सय क्षेत्रफलमा चिया खेती हुने गरेको राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय बिर्तामोडका प्रमुख इन्द्र अधिकारीले जानकारी दिए । चिया क्षेत्रमा करिब ७० हजार जनशक्तिले प्रत्यक्ष रोजगारी पाएको उनको दाबी छ । देशभर वार्षिक करिब २ करोड ८० लाख किलोग्रामभन्दा बढी तयारी चिया उत्पादन हुन्छ । झापामा मात्र १ करोड ८२ लाख तयारी चिया उत्पादन हुन्छ । उत्पादितमध्ये करिब ५० प्रतिशत चिया मात्र आन्तरिक बजारमा खपत हुने गरेको बोर्डको दाबी छ । चिया निर्यातबाट बर्सेनि ३ अर्ब ८० करोड विदेशी मुद्रा आर्जन हुने गरेको बोर्डले जनाएको छ । देशमा उत्पादित चियामध्ये ९८ प्रतिशत प्रदेश १ मा हुने गरेको अधिकारीले जानकारी दिए ।
चिया उत्पादन गर्ने ३० वडा अर्थोडक्स र ३८ वटा सीटीसी गरी ६८ वटा ठूला चिया उद्योग छन् । १ सय ५० भन्दा बढी साना अर्थोडक्स प्रशोधन उद्योग सञ्चालनमा छन् । नेपालभर १ सय ६० भन्दा बढी चिया बगान छन् । १५ हजारभन्दा बढी साना किसानले चिया खेती गर्ने गरेको तथ्यांक छ । चिया उद्योगीहरूले भने श्रम ऐन व्यावहारिक नभएको प्रतिक्रिया दिएका छन् । उक्त ऐनअनुसार श्रमिकलाई सेवा सुविधा दिन सक्ने अवस्थामा चिया उद्योग नरहेको उनीहरूको तर्क छ । चिया क्षेत्रमा छुट्टै चिया श्रम ऐन लागू गर्नुपर्ने चिया उत्पादक संघका केन्द्रीय अध्यक्ष सुरेश मित्तलले जानकारी दिए । उनले ज्याला वृद्धिको माग गर्दै श्रमिकले आन्दोलन गर्ने भनी दिएको चेतावनीप्रति आफ्नो ध्यानाकर्षण भएको बताए । उक्त विषयमा ट्रेड युनियनहरूसँग फागुन पहिलो साता वार्तामा बस्ने उनले बताए । इ-कान्तिपुरबाट