
मेचीनगर। मेचे समाज शिवियारी आफात केन्द्रीय समितिले मेचीनगर नगरपालिकालाई सम्मानसहित धन्यवाद दिएको छ ।
यही बैशाख ३ गते मेचे समुदायको ‘बैशागु बथर’ पर्वमा मेचीनगर नगरपालिकाले सार्वजनिक विदा दिएकोमा केन्द्रीय समितिले आज नगरपालिका कार्यालयमा गएर सम्मानसहित धन्यवाद दिएको हो ।
आफ्नो समुदायको संस्कृति र परम्परा अनुसार बाजागाजा र नागगानसहित नगरपालिका कार्यालय पुगेको मेचे समुदायले नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी लगायतलाई सम्मानसहित धन्यवाद दिएका थिए ।
आज नगरप्रमुख बुढाथोकीको कार्यकक्षमा समितिका अध्यक्ष विरेन मेचेले बैशाख ३ गते मेचे समुदायको ‘बैशागु बथर’ पर्वमा मेचीनगर नगरपालिकाले सार्वजनिक विदा दिएकोमा धन्यवाद व्यक्त गरेका थिए ।
यसैगरी आजै अध्यक्ष विरेन मेचेको टोलीले हल्दिबारी गाँउपालिकामा गएर अध्यक्ष रविन्द्र लिङ्देन लगायतलाई सम्मानसहित धन्यवाद दिएका थिए ।
झापामा मेचे समुदायको ‘बैशागु बथर’ पर्वमा मेचीनगर र हल्दिबारी गाँउपालिकाले मात्र सार्वजनिक विदा दिएको थियो ।
झापाको ९ वटा पालिकामा मेचे समुदायका पाँच हजार १९३ जनाको बसोबास रहेको छ ।
