२०८१ बैशाख १४ शुक्रबार

उचित मूल्य नपाएको आक्रोशमा झापाका किसानले गरे अण्डा र कुखुरा सडकमा फ्याँकेर प्रदर्शन

झापा । उचित मूल्य नपाएर चितवनका किसानहरूले सडकमा तरकारी फालेर प्रदर्शन गरेको घटना सेलाउन नपाउँदै झापाका किसानहरूले सोही किसिमको विरोध प्रदर्शन गरेर सरकारको ध्यानाकर्षण गराएका छन्।

झापाका किसानहरूले मंगलबार पूर्व पश्चिम राजमार्गअन्तर्गत बिर्तामोडको मुक्ति चोकमा अण्डा र जिउँदै कुखुरा फ्याँकेर विरोध प्रदर्शन गरेका हुन्।

उत्पादित वस्तुको उचित बजार मूल्य नपाएको आक्रोशमा झापाका किसानहरूले ‘उत्पीडित किसानहरूको विरोध कार्यक्रम सफल गरौँ’ भन्दै २० कार्टुन अण्डा र एक हजार लेयर्स जातको कुखुरा राजमार्गमा फ्याँकेर विरोध जनाएका थिए।

हाल नेपाली बजारमा एउटा अण्डाको मूल्य १५ रुपैयाँ रहेको छ। किसानहरूले एउटा अण्डा उत्पादन गर्न ११.२० रुपैयाँ खर्च गर्छन्।

तर, बिचौलियाले ८ रुपैयाँ नाफा माग्ने गरेकाले यहाँका किसानहरू व्यवसाय छाडेर पलायन हुने अवस्था सिर्जना भएको किसान भरत चौलागाईंले गुनासो पोखे। ‘अहिले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको ब्याज बढेर तनाव छ,’ उनले भने, ‘बिहान उठ्ने बित्तिकै बैंकबाट फोन आउँछ, नाफा जति सबै बिचौलिया दिएर ठिक्क छ, अनि ऋणको ब्याज कहाँबाट तिर्नु र परिवार कसरी पाल्नु। ‘बिचौलिया मोटाउने र किसान मर्ने स्थिति आए आयो,’ उनले भने।

तीनै तहका सरकारले किसानहरूको मार्का र समस्याप्रति चासो नदेखाउँदा आन्दोलित बन्नु परेको विरोध कार्यक्रममा सहभागी किसानहरूले बताए। उनीहरूको एउटै स्वर छ,‘ कृषि कर्जामार्फत चार प्रतिशतमा लिएको कर्जा अहिले बढेर ९ प्रतिशतको भइसकेको छ, तर सरकार किसानलाई जोगाउन पहल गर्दैन। हामीप्रति सरकारलाई चासो नभएकाले सरकारको ध्यानाकर्षण गराउन यो आन्दोलन गरेका हौँ।’

किसानहरू सडकमा अण्डा र कुखुरा त्यसै छाडेर फर्केका थिए। किसानहरूले सुँगुर र कुखुराको मासुले पनि उचित मूल्य नपाएको गुनासो छ। दूधमा पनि बिचौलियाले चलखेल गरेर उनीहरूले घाटा खेप्दै आएको छ। खुला सीमाका कारण अवैध रूपमा भित्रिने कुखुराको मासु, अण्डा र चल्लाका कारण पनि उनीहरू मारमा परेका छन्।

यसअघि जिल्लाका कुखुरापालक किसानहरू संगठित भएर सीमा नाकाबाट अवैध रूपमा भित्रिने कुखुरा, अण्डा तथा चल्ला आफै नियन्त्रणमा लिएर सुरक्षाकर्मीलाई बुझाएका थिए।  सुरक्षाकर्मीले गर्नुपर्ने काम किसानहरूबाट सम्भव भएन। त्यो अभियान सफल नहुँदा पनि उनीहरू थप मर्कामा परेका हुन्।

२०७९ माघ २४, मंगलवार प्रकाशित 1 Minute 190 Views

ताजा समाचार