
धुलाबारी । मेचीनगर–७ स्थित राधाकृष्ण इण्डष्ट्रिजले उत्पादन गरेको उज्यालो ब्राण्डको मनसुली चामलको नमुना जाँच गर्दा अखाद्य वस्तु नभेटिएको रिपोर्ट सार्वजनिक भएको छ ।
मिसावट नभएको रिपोर्ट आएपछि आज मेची उद्योग वाणिज्य संघमा चामलको उत्पादन गर्नेइटाभट्टा स्थित राधाकृष्ण इन्डस्ट्रिजका सञ्चालक अरुण साह र संघका पदाधिकारीले पत्रकार सम्मेलन गरेर रिपोर्ट बारे जानकारी दिएको हो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय झापाले धुलाबारी स्थित एक किराना पसलबाट संकलन गरेको चामलको नमुना जाँच गर्दा अखाद्य वस्तु नभेटिएको रिपोर्ट दिएको छ ।
मेचीनगर–१० का नजरलाल राजबंशीले उक्त किराना पसलबाट किनेर लगेको चामलमा अखाद्य बस्तु मिसावट भएको दावी गर्दै यही चैत ३ गते इलाका प्रहरी कार्यालय धुलाबारीमा उजुरी दिएका थिए ।
उक्त उजुरीका आधारमा प्रहरीले थप कारवाहीअघि बढाइदिन खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय झापालाई पत्राचार गरेको थियो ।
पत्राचारपछि कार्यालयका खाद्य निरीक्षण अधिकृत सागरराज पोखरेलले धुलाबारीको किराना पसलमा आएर जाँचका लागि चामलको शिलबन्दी नमुना लिएर गएका थिए ।
उक्त नमुना विराटनगर स्थित प्रादेशिक खाद्य प्रयोगशालामा जाँचिएको थियो । प्रयोगशाला जाँचबाट उक्त चामलमा अखाद्य वस्तु मिसावट नभएको र नेपाल सरकारले तोकेको अनिवार्य गुणस्तर अनुरुप अनुकूल पाइएको रिपोर्टमा उल्लेख छ ।
उक्त उद्योगले उत्पादन गरेको उज्यालो ब्रान्डको मन्सुली चामलमा प्लास्टिक मिसावटको दावी गर्दै उजुरी परेको थियो ।
डिभिजन कार्यालयले जाँचको रिपोर्ट आइसकेकाले उक्त ब्रान्डको चामलको बिक्री वितरण खुला गरि दिएको छ ।
मेची उद्योग वाणिज्य संघका अध्यक्ष खेमराज प्रसाईको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा सञ्चालक साह, संघका वरिष्ठ उपाध्यक्ष कपिल क्षेत्री (किशोर), पूर्व अध्यक्ष विजय डालमिया, वडा नं.७ का वडाध्यक्ष प्रलादमणि ओली लगायतले पत्रकारको जिज्ञासाको जवाफ दिएका थिए ।कार्यक्रमको सहीजकरण संघका महासचिव दिनेश शाक्यले गरेका थिए ।