२०८१ चैत्र २९ शुक्रबार

अमेरिकाले थप्यो दस प्रतिशत भन्सार- विश्व व्यापारमा नयाँ हलचल

विश्वास रेग्मी

काठमाडौँ, चैत २२ गते । ‘आर्थिक स्वतन्त्रताको घोषणा’ गर्दै संयुक्त राज्य अमेरिकाले विश्वका सबै देशलाई न्यूनतम १० प्रतिशत भन्सार महसुल लगाउने निर्णय गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार यस्तो निर्णय सार्वजनिक गर्दै आजको दिनलाई अमेरिकाको आर्थिक स्वतन्त्रताको संज्ञा दिनुभएको हो ।

अमेरिकाको यो घोषणासँगै निर्यातमा शून्य भन्सार सुविधा पाइरहेका नेपाल जस्ता धेरै मुलुकसमेत यसबाट प्रभावित हुने छन् । अमेरिकासँगको सम्झौता अनुसार दुई दर्जनभन्दा बढी वस्तुमा १० प्रतिशतभन्दा कम र एक दर्जन वस्तुमा शून्य भन्सारको लाभ उठाइरहेको नेपालको निर्यात बजारमा असर पर्ने सरोकारवालाले बताएका छन् ।

रेसिप्रोकल ड्युटी रेट अर्थात् सम्बन्धित देशमा अमेरिकी वस्तुको आयातमा लगाइने बराबरकै भन्सार महसुल लगाउने नीति अनुसार अमेरिकाले निश्चित देशलाई नयाँ भन्सार महसुल पनि सार्वजनिक गरेको छ । पछिल्लो घोषणाले खास गरी छिमेकी मुलुक चीन, युरोपियन युनियन, मेक्सिको, क्यानडा, जापान, बेलायत, दक्षिण कोरिया, भारत, न्युजिल्यान्ड, अस्टे«लिया, ताइवान, भियतनाम, बङ्गलादेश, थाइल्यान्डमा भन्सार महसुल उच्च रूपमा बढेको छ । राष्ट्रपति ट्रम्पले यो घोषणामध्ये विश्वव्यापी १० प्रतिशत महसुल आउँदो शनिबारदेखि र रेसिप्रोकल रेट आगामी चैत २७ गतेदेखि लागु हुने बताउनुभएको छ ।

अमेरिकाले घोषणा गरेको विश्वव्यापी औसत भन्सार महसुलको असर नेपालको निर्यातमा पनि पर्ने व्यापारविज्ञ सोभन सैँजु बताउनुहुन्छ । “भन्सार महसुलमा अमेरिकाले गरेको नयाँ घोषणाले खासगरी गलैँचा, पस्मिना जस्ता नेपालबाट धेरै निर्यात हुने वस्तुको व्यापारमा असर गर्न सक्छ,” उहाँले भन्नुभयो । तर कतिपय विशेष किसिमका वस्तु जस्तै छुर्पीलगायतको निर्यातमा भने खासै असर नपर्ने उहाँको भनाइ छ ।

यसअघि कानुनकै रूपमा मानिएको व्यापार तथा लगानी ढाँचा सम्झौता परिषद् (टिफा) अन्तर्गत नेपालले निर्यातमा शून्य भन्सारको सुविधा पाएका वस्तुको हकमा यो घोषणा आकर्षित हुन्छ या हुन्न भन्ने विषयमा भने स्पष्टता आवश्यक रहेको सैँजुले बताउनुभयो ।

निर्यात व्यवसायी भने अमेरिकाको पछिल्लो घोषणाले नेपालको निर्यातमा पर्ने असर अथवा लाभका सम्बन्धमा दुविधामै देखिन्छन् । खासगरी १० प्रतिशतको भन्सार महसुल हाल कायम भन्सार महसुलमा थप हुने वा नहुने विषयले मात्र अमेरिकासँगको निर्यातको भविष्य निर्धारण गर्ने उनीहरूको भनाइ छ । नेपाल निर्यात व्यवसायी महासङ्घका अध्यक्ष शङ्करप्रसाद पाण्डे घोषणा गरिएको १० प्रतिशत महसुल सबै वस्तुमा एउटै भएमा नेपालले लाभ लिन सक्ने बताउनुहुन्छ । अन्यथा हाल कायममा पनि थप भएको अवस्थामा भने नेपालको निर्यात प्रभावित बन्ने उहाँको भनाइ छ ।

अमेरिकी सञ्चारमाध्यमले भने केही देशहरूलाई तोकिएको रेसिप्रोकल ट्यारिफ विद्यमान महसुलमा थप भएर आउने उल्लेख गरेका छन् । सिएनएनले चीनका लागि हाल तोकिएको २० प्रतिशत भन्सार महसुल र बिहीबार सार्वजनिक गरिएको ३४ प्रतिशत रेसिप्रोकल ट्यारिफसहित चीनबाट आयात हुने सामानमा अबदेखि ५४ प्रतिशत भन्सार लाग्ने उल्लेख गरेको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पको पछिल्लो कदमलाई आलोचकले व्यापार युद्धको घोषणाका रूपमा अथ्र्याएका छन् । चीनले पनि यस्तो नीतिले विश्वव्यापी आर्थिक विकासमा असर पर्ने प्रारम्भिक प्रतिक्रिया दिएको छ । ह्वाइटहाउसले पनि पछिल्लो घोषणाले अमेरिकाको व्यापार असन्तुलनको अवस्थालाई सन्तुलन गर्ने, २८ लाख थप रोजगारी सिर्जना हुने, प्रत्येक घरपपिरवारको आम्दानी ५.७ प्रतिशतले बढ्ने र अमेरिकी अर्थतन्त्रमा ७२८ अर्ब अमेरिकी डलर थप हुने जनाएको छ ।

भन्सार विभागको चालु आर्थिक वर्षको आठ महिनाको तथ्याङ्क अनुसार अमेरिका नेपालको सबैभन्दा दोस्रो ठुलो निर्यात बजार हो । यस अवधिमा नेपालले अमेरिकामा ११ अर्ब ३८ करोड रुपियाँको वस्तु निर्यात गरेको छ । त्यस्तै आयातको हिसाबले अमेरिका छैटौँ ठुलो मुलुक हो । आठ महिनामा नेपालले अमेरिकाबाट १७ अर्ब ३५ करोड रुपियाँको वस्तु आयात गरेको छ । नेपालबाट अमेरिकामा सबैभन्दा धेरै गलैँचा, छुर्पी, फेल्ट, कपडालगायतका वस्तु निर्यात हुन्छ ।गोरखापत्र दैनिकमा खबर छ ।

२०८१ चैत्र २२, शुक्रबार प्रकाशित 0 Minutes 25 Views

ताजा समाचार