२०८२ बैशाख १५ सोमबार

चैत्र १५ को हिंसाको सम्पूर्ण जिम्मेवारी ज्ञानेन्द शाहले लिनुपर्छ: प्रधानमन्त्री

‘उन्मुक्ति पाउँदैनन्’

न्युज अफ नेपाल

–त्यत्रो हिंसात्मक घटनाबारे किन धारणा दिन नसकेको ?
–संविधानसभाको ऐतिहासिक निर्णयपछिको सम्झौता उल्लंघनको आरोप

काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गत चैत्र १५ मा भएको आगजनी, लुटपाट, हत्यालगायतका सम्पूर्ण हिंसाको जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्र शाहले लिनुपर्ने बताउनुभएको छ ।

प्रधानमन्त्री ओलीले त्यस्तो संगीन घटना घटाउनेले उन्मुक्ति नपाउने स्पष्ट पार्नुभयो । सोमबार संसद्मा बोल्ने क्रममा प्रधानमन्त्री ओलीले राजसंस्था पुनस्र्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिको आह्वानमा भएको प्रदर्शनका क्रममा तीनकुनेआसपासमा भएको आगजनी, लुटपाट, तोडफोड र दुई जनाको ज्यान जाने गरी भएको हिंसाको मूल जिम्मेवार इतिहासले कुनामा फ्याँकिसकेका पूर्वराजा ज्ञानेन्द्र शाह भएको रेकर्ड दर्ज गराउँदै पूर्वराजा ज्ञानेन्द्रले उन्मुक्ति पाउन नहुने बताउनुभयो ।

व्यवस्था फाल्ने भन्दै राजावादीहरुले तीनकुने क्षेत्रमा गरेको प्रदर्शन भड्किएर हिंसामा परिणत भएको थियो । आक्रोशित प्रदर्शनकारीले कोटेश्वर, जडीबुटी र विमानस्थल क्षेत्रमा आगजनी, तोडफोड मात्र गरेनन्, घटनामा परी दुई जनाले ज्यानसमेत गुमाएका थिए । ‘आपराधिक घटनामा संलग्न कसैले पनि उन्मुक्ति पाउँदैन, पाउनुहुन्न । यसमा पूर्वराजा शाहले पनि उन्मुक्ति पाउनुहुन्न’, प्रधानमन्त्री ओलीले प्रश्न गर्दै भन्नुभयो– ‘फेरि राजा बन्छु, व्यवस्था मास्छु भन्नेले यी सबै शृंखलाबद्ध घटनामा आफ्नो धारणा सार्वजनिक गर्नुपर्दैन ?

प्रधानमन्त्री ओलीले चैत्र १५ मा पूर्वराजाले नै मानिसलाई मार्नलाई दुरुत्साहन गर्नेलार्ई जनकमान्डर बनाएको, इतिहासले कुनामा फ्याँकेका व्यक्तिलाई अभियानको संयोजक बनाएकोमा आक्रोश व्यक्त गर्दै भन्नुभयो– ‘त्यत्रो जनधनको क्षति र लुटापाट हुँदा पनि शासक बन्ने मनसुवा बोक्ने व्यक्ति सिरकभित्र चुपचाप कसरी हुन सक्छ ? यी सबै घटनाको मूल जिम्मेवार उहाँ हो, उहाँले (जिम्मेवारी) लिनुपर्छ ।’ पूर्वराजा शाहले गत फागुन ७ गते आफू ‘अघि बढ्ने, साथ देऊ’ भन्दै वक्तव्यबाजी गरेसँगै मुलुकको माहोल बिग्रिएको प्रधानमन्त्रीको आरोप छ ।

वक्तव्यबाजीलगत्तै ठाउँठाउँमा स्वागत कार्यक्रम राख्दै भड्काउने काम शुरु भएको र फागुन २५ गते कथित ‘स्वागत–सवारी’ आयोजना गरिएको टिप्पणी गर्दै प्रधानमनत्रीले संसद्मा भन्नुभयो– ‘चैत १४ गते समाज बिथोल्न लागिपरेका एक जना अवाञ्छित व्यक्ति (दुर्गा प्रसाईं) लाई आफ्नै निवासमा डाकेर कथित ‘जनकमान्डर’ तोक्नुभयो र हिंसात्मक वारदातका लागि खटाउनुभयो ।’

घटनाबारे सरकारले प्रारम्भिक अध्ययन गरेको र ती सबै घटनाबाट पूर्वराजा ज्ञानेन्द्र शाहले संविधानसभाको ऐतिहासिक निर्णयपछि भएको सम्झौता नै उल्लंघन गरेको प्रधानमन्त्रीले स्पष्ट पार्नुभयो । उहाँले सम्झौतामा त्यतिखेर नागरिकको हैसियतमा शान्त जीवन बिताउने, नागरिकको कानुनी र संवैधानिक अधिकार प्रयोग गरी व्यापार व्यवसाय सञ्चालन गर्ने, पूर्वराष्ट्रप्रमुखको हैसियतमा सरकारले सुरक्षाको प्रबन्ध गर्ने र उहाँलाई नागार्जुन दरबार प्रयोग गर्न र उहाँको मातालाई प्रयोग गरिरहेको नारायणहिटी दरबार परिसरको भवन प्रयोग गर्न दिने सहमति भएको स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो– ‘हाल राष्ट्रियसभाका माननीय सदस्य एवम् तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौलाले सरकारको तर्फबाट संवाद–व्यवस्थापन गर्नुभएको थियो ।’ प्रधानमन्त्रीले सोमबार संसद्मा तीनकुने घटनाको जानकारी दिनुअघि आइतबार राती गणतन्त्रवादी दलहरुलाई बोलाएर सर्वदलीय बैठक राख्नुभएको थियो ।

सो बैठकमा सबै दलहरुले चैत्र १५ को हिंसात्मक घटनाको जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्र शाहले लिनुपर्ने निष्कर्ष निकालेका थिए । बैठकमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी, जसपा नेपाल, जसपा, लोसपा, नागरिक उन्मुक्ति पार्टी र जनमोर्चाका शीर्ष नेता सहभागी भएका थिए । सो बैठकले घटनाको सूक्ष्म अध्ययन अनुसन्धान गरेर दोषीलाई कडा कारबाही गर्नुपर्ने निष्कर्ष निकालेको थियो ।

प्रधानमन्त्रीले सम्झाए त्यतिखेर ज्ञानेन्द्रसँग भएको निम्न सम्झौता
–नागरिकको हैसियतमा शान्त जीवन बिताउने
–नागरिकको कानुनी र संवैधानिक अधिकार प्रयोग गरी व्यापार व्यवसाय सञ्चालन गर्ने
–पूर्वराष्ट्रप्रमुखको हैसियतमा सरकारले सुरक्षाको प्रबन्ध गर्ने
–ज्ञानेन्द्रलाई नागार्जुन दरबार प्रयोग गर्न र उहाँको मातालाई प्रयोग गरिरहेको नारायणहिटी दरबार परिसरको भवन प्रयोग गर्न दिने

२०८१ चैत्र १९, मंगलवार प्रकाशित 0 Minutes 37 Views

ताजा समाचार