
झापा । सशस्त्र प्रहरी बल, नेपाल नं.२ गण हेडक्वार्टर झापाले विशेष सूचनाका आधारमा ठूलो परिमाणको अवैध सामान बरामद गरेको छ ।
सशस्त्र प्रहरी उपरीक्षक तुल बहादुर भण्डारीको नेतृत्वमा प्राप्त सूचनाको आधारमा मङ्गलबार बिहान ६ बजे सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण हेडक्वार्टर झापाबाट डीएसपी मदन कुमार रसाइलीको कमान्डमा २३ जनाको टोली खटिएको थियो ।
टोलीले झापा जिल्ला, मेचीनगर नगरपालिका–६,झुल्के घाम टोल क्षेत्रमा निगरानी गरिरहेको अवस्थामा दिउँसो १२ः३० बजे राजस्व अनुसन्धान कार्यालय, इटहरीका अनुसन्धान अधिकृत विधुर गौतम नेतृत्वको दुई सदस्यीय टोली समेत त्यहाँ पुगेको थियो ।

संयुक्त टोलीले सोही स्थानमा रहेका मदन पोख्रेलको घरबाट ३९ बोरा तथा उत्तम ठकुरीको घरबाट २० बोरा विभिन्न प्रकारका कपडा तथा मोटर पार्टस बरामद गरेको छ ।
बरामद गरिएका सामानहरूको अनुमानित मूल्य एक करोड रुपैयाँ रहेको सशस्त्र प्रहरी बल, नेपाल नं.२ गण हेडक्वार्टर झापाका सूचना अधिकारी डीएसपी सुमन पोख्रेलले आमसंचारलाई जानकारी दिए । बरामद सामानहरू आवश्यक कानुनी कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय, इटहरी पठाउने प्रक्रिया अघि बढाइएको बताइएको छ ।