२०८१ बैशाख १३ बिहीबार

मेचे समुदायले मनाए ६६औं बाथौ शिव धरम पर्व

मेचीनगर । मेचीनगरमा मेचे समुदायले ६६औं बाथौ शिव धरम माघी पूर्णिमा पर्व पूजा आराधनासहित विविध कार्यक्रम गरी भव्य रूपमा मनाएका छन् । नेपालको लोपोन्मुख जातीको सूचिमा रहेको मेचे जातीले माघी पूर्णिमाको अवसर पारेर शनिवार र आइतबार दुई दिन माघी पूर्णिमा पर्व मनाएको हो ।

नेपालको ७७ जिल्ला मध्ये झापामा मात्रै बसोबास रहेको लोपोन्मुख जाती मेचे समुदायले प्रत्येक वर्ष माघी पूर्णिमाको अवसरमा मनाउँदै आएको माघी पूर्णिमा पर्व कोरोना भाइरस सङ्क्रमणका कारण विगत दुई वर्ष मनाउन पाएका थिएनन् । तर, अहिले कोरोना संक्रमण दर न्यून रहेका कारण यसबर्ष नेपालसहित भारत र भुटानका मेचे समुदाय एकै ठाउँमा भेला भएर माघी पूर्णिमा पर्व मनाएका छन् ।

झापाको मेचीनगरमा, भद्रपुर, बिर्तामोड र कचनकवल लगायतका स्थानीय तहमा  बसोबास गर्ने मेचे समुदाय उपस्थित रहेको माघी पर्वमा छिमेकी मुलुक भारतको आसाम र बङ्गाल तथा भुटानबाट पनि मेचे समुदायका मानिसहरूको सहभागिता रहेको थियो ।

पुर्खौँदेखि मनाउँदै आएका माघी पूर्णिमा पर्वमा मेचे समुदायले मङ्सिरमा उत्पादन भएको नयाँ धानलाई पूजा गरी भाक्का ९फेट्टो० प्रसादको रुपमा खाने गरेको मेचे समुदायका अग्रज रुपेश मेच बताउँछन् ।

पछिल्लो समय युवा पुस्तामा आफ्नो कला संस्कृति र धर्म सम्बन्धी ज्ञानको अभाव हुँदा मेचे समुदायको पहिचान लोप हुँदै गइरहेको अवस्थामा त्यसलाई संरक्षण र प्रवर्द्धन गर्न नेपालमा त्रिदेशीय माघी पूर्णिमा पर्व आयोजना गरिएको मेचे समाज शिवियारी आफात केन्द्रीय समिति उपाध्यक्ष सन्तोष मेचेले जानकारी दिए ।

त्यस्तै कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी भएका मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले नेपालको लोपोन्मुख जाती मेचे समुदाय मेचीनगरको सम्पत्ति भएको बताएका छन् । उनले स्थानीय सरकार मेचे समुदायसहित अन्य समुदायको धर्म संस्कृतिको संरक्षण र प्रवर्द्धनमा प्रतिबद्धता रहेको बताए । साथै समाज निर्माण गर्न असल संस्कार आवश्यक रहेको बताउँदै सबै आ–आफ्नो क्षेत्रबाट लाग्नुपर्ने नगरप्रमुख बुढाथोकीले बताए ।

कार्यक्रममा मेचीनगर उपप्रमुख मिना पोखरेल उप्रेती, मेचीनगर ८ का वडाध्यक्ष गिरीराज धमला, मेचीनगर ४ का वडाध्यक्ष अर्जुन कार्की, कार्यपालिका सदस्य तथा सामाजिक विकास संयोजक ह्रिर्देस राजवंशी, भौतिक पूर्वाधार विकास समिति संयोजक चित्र धिमाल, मेचीनगर ८ का वडा सदस्य विष्णु भट्टराई, नेपाल थामी समाजका केन्द्रीय उपाध्यक्ष लालबहादुर थामीलगायत नेपाल तथा भारतका विभिन्न व्यक्तिहरूको आतिथ्य रहेको थियो ।

मेचे समाज शिवियारी आफात केन्द्रीय समिति नेपालको आयोजनामा आयोजित कार्यक्रममा मेचेसँगै अन्य विभिन्न जातजातिको झाँकी प्रस्तुत गरिएको थियो ।

मेचे समुदायका अग्रज भारत आसामका थानेश्वर बर्माको अध्यक्षतामा आयोजित कार्यक्रमको स्वागत सन्तोष मेचेले गरेका थिए भने, कार्यक्रम सञ्चालन अग्निमाया मेचेले गरेकी थिइन् ।

२०७९ माघ २३, सोमबार प्रकाशित 0 Minutes 295 Views

ताजा समाचार