२०८१ बैशाख ८ शनिबार

खुट्टीडाँगी सिमसारमा ‘सानो पानीजहाज’ चलाउने योजना

मेचीनगर, २३ माघ । पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै गरेको मेचीनगर–९ स्थित खुट्टीडाँगी सामुदायिक वन उपभोक्ता समूहले शनिबार अध्ययन तथा अवलोकन भ्रमण गरेको छ । खुट्टीडाँगी वन तथा सिमसार समितिले सुनसरी जिल्लाका चारवटा पर्यटकीय क्षेत्रको अवलोकन गरेको हो ।
समूहका अध्यक्ष टंक बहादुर नेपाल नेतृत्वको २५ सदस्यीय टोलीले सुन्दर हरैँचा नगरपालिकामा अवस्थित त्रिवेणी रिसोर्ट, धरानको दन्तकाली मन्दिर, हरियाली सामुदायिक वन समूहले सञ्चालन गरेको पर्यटकीय स्थल र इटहरीमा रहेको तालतलैया सिमसार क्षेत्रको अवलोकन गरिएको वन समूहका कार्यालय सचिव राजु धिमालले बताए ।
वन समूह टोलीले त्रिवेणी रिसोर्टले सञ्चालन गरेको पार्क तथा इन्जिनबाट चल्ने डुंगा (सानो पानीजहाज) को विषयमा बुझेको छ । यस्तै किसिमको डुंगा सञ्चालन गर्ने वन समूहको लक्ष्य रहेको छ । पेट्रोलबाट चल्ने उक्त डुंगाको मूल्य १० लाखदेखि माथि पर्छ । उक्त डुंगा पर्यटकका निम्ति आकर्षण र आम्दानीको बाटो बन्नसक्ने देखिएको वन समूहका अध्यक्ष टंक बहादुर नेपालले बताए ।
यस्तै, टोलीले दन्तकाली मन्दिरको दर्शन गरेपछि हरियाली वन समूहको पर्यटकीय क्षेत्रको अवलोकन गर्यो । पूर्वमा सबैभन्दा पहिले हरियाली वन समूहले नै पर्यापर्यटकीय क्षेत्रको विकास गरेको हो ।
सरकारको हेर्नलायक पर्यटकीय गन्तव्यको १०० सूचिमा परेको तालतलैया सिमसार क्षेत्रले पर्यटकीय गन्तव्यलाई विस्तार गर्दै लगेको छ । वार्षिक डेढ करोड रुपैयाँ आम्दानी गर्ने उक्त सिमसारले पर्यटकका निम्ति थुप्रै भौतिक संरचनाहरु निर्माण गरेको छ । पछिल्लो समय पर्यटकको रोजाइमा तालतैलिया सिमसार परेको छ ।
वन समूहका पदाधिकारी तथा सदस्य, उपसमितिका संयोजक तथा सदस्यहरु तथा सञ्चारकर्मीसहितको टोलीले अवलोकन भ्रमण गरेको हो । टुक्रे वनले परिचित खुट्टीडाँगी सिमसारले भौतिक संरचना थप गर्नसक्ने पर्यटकका निमित्त उत्कृष्ट गन्तव्य बन्नसक्ने निष्कर्ष निकालेको छ ।

२०७९ माघ २२, आईतवार प्रकाशित 0 Minutes 423 Views

ताजा समाचार