२०८३ जेष्ठ २९ शुक्रबार

‘ग्रामर गुरु’ गौतमको निधन

काठमाडौँ, फागुन १३ गते । नेपाली र अङ्ग्रेजी भाषा व्याकरणका मूर्धन्य विद्वान् चूडामणि गौतमको ८१ वर्षको उमेरमा सोमबार मेडिसिटी अस्पतालमा निधन भएको छ । उहाँ मिर्गौला रोगबाट पीडित हुनुहुन्थ्यो ।

विसं २००० साल असोज १ गते तेह्रथुममा जन्मनुभएका गौतम ग्रामर गुरुका रूपमा परिचित हुनुहुन्थ्यो । नेपाली र अङ्ग्रेजी व्याकरणका सिद्धहस्त उहाँका दर्जनौँ पुस्तक प्रकाशित छन् । नेपाली व्याकरण तथा रचना, विद्यालय नेपाली शब्दकोश, अक्षरको उच्चारण गर्ने यसरी, बृहत्तर नेपाली शब्दकोश, शुद्ध नेपाली लेख्ने यसरी, हायर लेभल इङ्ग्लिस ग्रामर, कम्पोजिसन एन्ड प्रोनाउन्सेसन, राम्रो अङ्गे्रजी बोलचाल अभ्यासलगायत नेपाली र अङ्ग्रेजी व्याकरणसम्बन्धी पुस्तक निकै चर्चित छन् ।

उहाँको निधनले नेपाली र अङ्ग्रेजी भाषा, साहित्यको क्षेत्रमा अपूरणीय क्षति पुगेको उहाँका भान्जा रमेश भट्टराईले बताउनुभयो । गोरखापत्र संस्थानका पूर्वअध्यक्षसमेत रहनुभएका भट्टराईले नेपाली र अङ्ग्रेजी भाषाको व्याकरणको सिर्जना र विकासमा निरन्तर लाग्नुभएका गौतमको योगदान उल्लेखनीय रहेको बताउनुभयो । गौतमका एक श्रीमती, एक छोरा र एक छोरी हुनुहुन्छ । उहाँको सोमबार नै पशुपति आर्यघाटमा अत्येष्टि गरिएको छ ।गोरखापत्र अनलाइन

 

२०८१ फाल्गुन १३, मंगलवार प्रकाशित 1 Minute 218 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।