२०८१ चैत्र ५ मंगलवार

राजधानीमै क्रिप्टो कारोबार र अनलाइन बेटिङका अखडा !

मित्र भण्डारी

काठमाडौँ, माघ ३० गते । सङ्घीय राजधानी काठमाडौँ उपत्यकामा पछिल्लो समय सट्टेबाजी, क्रिप्टोकरेन्सी कारोबारलगायत आर्थिक अपराधका घटना एकपछि अर्को गरी बाहिरिन थालेका छन् ।

यस्तामा नेपालीसहित विदेशी नागरिकसमेत पक्राउ पर्न थालेको छ । यसै क्रममा प्रहरीले आइतबार राति काठमाडौँको बुढानीलकण्ठबाट २३ जना भारतीयलाई पक्राउ गर्‍यो । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले बुढानीलकण्ठ­­–३ स्थित दोर्जे लामाको घर भाडमा लिई अनलाइन बेटिङ सञ्चालन गरेको सुराकीका आधारमा छापा मारी भारतको विहार बाङ्काका ती युवकलाई नियन्त्रणमा लियो ।

परिसरका प्रमुख विश्व अधिकारीका अनुसार छापा मारिएको स्थानबाट ८८ थान मोबाइल फोन, १० वटा ल्यापटप, ८१ हजार नगद बरामद भएको र प्रारम्भिक अनुसन्धानमा अवैध अनलाइन सट्टेबाजी हुने गरेको बताउनुभयो ।

बरामद विद्युतीय उपकरण र कारोबारमा प्रयोग भएका एपको अनुसन्धान प्रहरीको प्राविधिक टोलीले गरिरहेको जानकारी दिँदै अधिकारीले भन्नुभयो, ‘लोटस’ नाम गरेको बेटिङ साइटमार्फत सट्टेबाजी गरेको खुलेको छ । यद्यपि हामी विस्तृत अनुसन्धान गरिरहेका छौँ ।” गत माघ २० गते ललितपुरको महालक्ष्मी–२, सानेपाबाट अवैध अनलाइन सट्टेबाजी गर्ने १० भारतीयसहित २४ जनालाई पक्राउ परेका थिए ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयको टोलीले सानेपाका दुई वटा निजी घरमा छापा मार्दा विभिन्न मोडेलका ५७ थान मोबाइल फोन, १३ थान ल्यापटप, विभिन्न व्यक्तिका नाममा जारी भएका ३४ थान विभिन्न बैङ्कका एटिएम कार्ड, ८८ थान सिमकार्ड, १२ थान चेकबुक, आठ थान भारतीय आधार कार्ड र छ थान राहदानीसमेत बरामद गर्‍यो ।

पक्राउ परेकामध्ये प्युठानका हरिबहादुर जिसीले भारतीय ऐजेन्टसँगको मिलेमतोमा अवैध सट्टेबाजी सञ्चालन गरेको अनुसन्धानबाट खुल्यो । वैदेशिक रोजगारीबाट फर्केका जिसीले गृह जिल्ला प्युठानबाट युवालाई आर्थिक प्रलोभनमा पारी अवैध सट्टेबाजीमा लगाउने गरेको र हालसम्म तीन अर्ब चार करोड ७३ लाख ५६ हजार ६१२ रुपियाँबराबरको अवैध सट्टेबाजी कारोबार गरेको पाइएको प्रहरी उपरीक्षक काजीकुमार आचार्यले बताउनुभयो ।

यही माघ १० गते प्रहरीले अनलाइन सट्टेबाजी सञ्चालन गर्ने रामेछाप खाँडादेवी–९ का राजप्रकाश श्रेष्ठ तथा नुवाकोट विदुर–१३ का हरिचन्द्र भुजेललाई काठमाडौँको बाफल क्षेत्रबाट पक्राउ गर्‍यो । श्रेष्ठ र भुजेलले दुई करोड ४१ हजार ६३६ रुपियाँबराबरको अवैध सट्टेबाजी कारोबार गरेको खुलेको छ ।

गत पुस २२ गते ललितपुरको सातदोबाटोबाट २९ महिलासहित ५१ नेपाली र दुई भारतीय गरी ५३ जना पक्राउ परे । उनीहरूका साथबाट ८५ थान ल्यापटप र ९६ थान मोबाइल बरामद भयो ।

केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीका अनुसार सुरेन्द्रगोपाल श्रेष्ठको पाँचतले घर भाडामा भारत विहार मोतिहारीका मनीषकुमार झा र गुजरातका राहुल मेगोडाले अनलाइन जुवा सट्टेबाजी सञ्चालन गरेको पाइयो । गत मङ्सिर १२ गते ललितपुरबाट पक्राउ परेका पाँचथरको मिक्लाजुङ–७ का सुनील राईले ५५ करोड रुपियाँबराबरको अनलाइन जुवा खेलाएको पाइयो । यी केही प्रतिनिधि घटना मात्र हुन् !

नेपालमा प्रतिबन्धित अवस्थामा रहेको अनलाइन सट्टेबाजी र क्रिप्टोकरेन्सीको अवैध कारोबार पछिल्लो समय काठमाडौँ उपत्यकामा बढ्न थालेपछि सङ्घीय राजधानी काठमाडौँ उपत्यकै आर्थिक अपराधको अखडा बन्न लागेको त होइन भन्ने शङ्का व्यक्त हुन थालेको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता दिनेशकुमार आचार्यले अवैध सट्टेबाजी र प्रतिबन्धित क्रिप्टोकरेन्सीको कारोबारलगायत आर्थिक अपराधका घटना वृद्धि भइरहेको बताउँदै नियन्त्रणका लागि प्रहरीले सक्रियता बढाएको बताउनुभयो ।

अवैध अनलाइन बन्द कोठा र सिङ्गो घर भाडामा लिई सुरक्षा निकायको आँखा छल्न सकिन्छ कि भन्ने उनीहरूको उद्देश्य देखिन्छ तर हामी विभिन्न कोणबाट सर्भिलेन्स बढाएर नियन्त्रणमा लिँदै आएको उहाँले बताउनुभयो । जनघनत्व बढी भएको भिडभाडयुक्त स्थानमा लुक्न सहज हुने र निगरानी पनि कम हुने भएकाले सट्टेबाजी, क्रिप्टो कारोबार काठमाडौँ उपत्यकामा समेत हुने गरेको बताउँदै आचार्यले भन्नुभयो, “बन्द कोठाबाट अदृश्य रूपमा भइरहेका अवैध कारोबारमा सुरक्षा निकायको नजर नपुग्ने भन्ने हुँदैन । हामी यस्ता हरेक गतिविधि अदृश्य रूपमा निगरानी गरिरहेका हुन्छौँ ।”

अवैध अनलाइन सट्टेबाजी र क्रिप्टो कारोबार कुनै एक स्थानमा बसेर सञ्चालन गर्न मिल्ने भएको र नेपालमा औसत सस्तो कामदार पाउने भएकाले पनि गिरोहको ध्यान यतातर्फ परेको हुन सक्ने पनि उहाँले बताउनुभयो । जुनसुकै अवैध गतिविधिलाई नियन्त्रण गरी कानुनी दायरामा ल्याउन प्रहरी सङ्गठन पूर्ण रूपमा भइरहेको आर्थिक अपराध नियन्त्रणका लागि प्रहरी प्रधान कार्यालयले विशेष युनिट परिचालन गरेको जनाएको छ ।गोरखापत्र दैनिकमा खबर छ ।

 

२०८१ माघ ३०, बुधबार प्रकाशित 1 Minute 24 Views

ताजा समाचार