
काठमाडौँ- राष्ट्रिय पञ्चायत सदस्य नानीमैयाँ दाहालको ९२ वर्षको उमेरमा निधन भएको छ । निमोनियाले पीडित दाहालको सोमबार चाबहिलस्थित दीर्घायु अस्पतालमा निधन भएको हो ।

पञ्चायतकाल अर्थात् २०३८ वैशाख २० गते भएको निर्वाचनमा जोगमेहर श्रेष्ठलाई दोब्बर बढी मतान्तरले हराएर दाहाल राष्ट्रिय पञ्चायत सदस्य निर्वाचित हुनुभएको थियो । दाहालले ६५ हजार सात सय ७७ मत ल्याउनुभएको थियो । श्रेष्ठलाई हराएपछि उहाँ चर्चामा आउनुभएको थियो । सानैदेखि विद्रोही स्वभावकी दाहाल विसं २०२९ मा जोरपाटी गाउँ पञ्चायतको उपप्रधानपञ्च निर्वाचित हुनुभएको थियो ।
अविवाहित दाहाल बहिनीको घरमा बस्ने गर्नुभएको थियो । उहाँको हिजै सोमबार पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको पारिवारिक स्रोतले जनाएको छ ।नेपाल टिभी अनलाइनबाट ।