२०८१ माघ २७ आईतवार

मेची राजमार्ग ठप्प भयो, झापामा बन्द गराउँदै हिडेका तीनजना पक्राउ

मेचीनगर ।

मुक्कुम्लुङ संरक्षण तथा केबुलकार खारेजी अन्तरदलीय संघर्ष समितिले आह्वान गरेको बन्दको प्रभाव झापामा परेको छ ।

ताप्लेजुङ स्थित पाथीभरा क्षेत्रमा निर्माणाधीन केबलकारको विरोध गर्दै आइरहेको संघर्ष समितिले आज(आईतबार) र भोलि(सोमबार) पनि झापासहित पूर्वका नौ जिल्लामा बन्दको आह्वान गरेको छ ।

झापामा बन्द गराउँदै हिँड्ने तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए । आज बिहान दमक नगरपालिका–६ स्थित आकाशे पुलमा भेला भई बन्द गराउँदै हिँडने तीनजना बन्दकर्तालाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको हो ।

 

पक्राउ पर्नेमा पदम बेघालगायत रहेका छन् । राजमार्गमा गुडिरहेका गाडीको चाबी थुत्न खोज्दा उनीहरूलाई नियन्त्रणमा लिएको डीएसपी चन्दले बताए ।

त्यस्तै आज बिहान मेची राजमार्गअन्तर्गत बुद्धशान्ति गाउँपालिका –४ स्थित बर्नेमा बन्दकर्ताहरूले दुईवटा घाघरुको रुख ढालेर राजमार्ग अवरुद्ध पारेका थिए ।

त्यसलाई पन्छाएर सडक सुचारु गराएको डीएसपी चन्दको भनाइ छ । जिल्लामा बन्दको प्रभाव देखिएको छैन । राजमार्गमा सवारीसाधन चलिरहेका छन् । बजार पसल पनि खुला छ । राजमार्गका विभिन्न स्थानमा व्यापक सुरक्षाकर्मीहरू परिचालन गरिएको उनले बताए । यता बिर्तामोड, दमक लगायतका क्षेत्रमा पहिचानका पक्षमा नारा जुलुस गरिएको छ भने विराटनगरमा पनि बन्दको प्रभाव परेको जनाइएको छ ।

पाथीभरा क्षेत्रमा केबुलकारको विरोध गर्दै आएका मुक्कुम्लुङ संरक्षण संर्घष समिति र प्रहरीबीच झडप भएको थियो । झडपमा प्रहरीको गोली लागेर तीनजना प्रदर्शनकारी गम्भीर घाइते भएपछि उनीहरू थप आन्दोलित बनेका हुन् ।

२०८१ माघ २०, आईतवार प्रकाशित 1 Minute 16 Views

ताजा समाचार