२०८१ माघ २७ आईतवार

देशभर केबलकार निर्माणको लहर

डिबी शर्मा

काठमाडौं । पछिल्लो समय देशका विभिन्न ठाउँमा केबलकार निर्माणको लहर चलेको छ । देशभर आधा दर्जन बढी केबलकार सञ्चालनमा रहेका बेला केही ठाउँमा थप निर्माण र विस्तारको काम भइरहेको हो । हाल चन्द्रागिरि, मनकामना, अन्नपूर्ण, कालिञ्चोक, मौलाकालिका, बन्दीपुर र लुम्बिनी केबलकार सञ्चालनमा छन् । पछिल्लोपटक गत जेठमा तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा बन्दीपुर केबलकार व्यावसायिक रूपमा सञ्चालनमा आएको थियो । झण्डै दुई अर्ब २५ करोड लागतमा बन्दीपुर केबलकार सञ्चालनमा आएको हो ।

अघिल्लो महिना मात्रै कैलालीमा जालपादेवी केबलकारको शिलान्यास गरिएको थियो । कैलालीको लम्कीचुहा नगरपालिका-३ चिसापानीदेखि मोहन्याल गाउँपालिका-७ राजकाँडासम्म निर्माण हुने केबलकारको पुस १३ गते शिलान्यास गरिएको थियो । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र जिल्ला समन्वय समिति कैलालीका पूर्वसभापति सूर्यबहादुर थापाको समूहले जालपादेवी केबलकार निर्माण गर्न लागेको हो ।

यसअघि गत कात्तिकमा ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा मन्दिरसम्म जाने केबलकार निर्माणकार्य अघि बढाइएको थियो । कात्तिक २३ गते संविधानसभा सदस्य डम्बरध्वज तुम्बाहाम्फे र फुङलिङ नगरपालिकाका नगरप्रमुख अमिर मादेनले केबलकार निर्माणको सुरुवाती बिन्दु काफ्लेपाटीमा पूजा गर्दै केबलकार निर्माणको संयुक्त शिलान्यास गर्नुभएको थियो । पाथीभरा देवी मुकुम्लुङ दर्शन केबलकार परियोजना निर्माण कार्य गत मंगलबारबाट सुरु भएको थियो ।

देशका अन्य झण्डै दर्जन ठाउँमा केबलकार निर्माणका लागि अध्ययन भइरहेको छ । तनहुँमा बुढिमा छिन्केश्वरी, कास्कीमा सिक्लेस अन्नपूर्ण, सुदूरपश्चिममा खप्तड, प्युठानमा स्वर्गद्वारी र रसुवामा गोसाइँकुण्ड केबलकार निर्माणका लागि वातावरणीय प्रभाव मूल्यांकन (इआइए)को प्रक्रियामा रहेको संघीय मामिला तथा स्थानीय प्रशासन मन्त्रालयले जनाएको छ । त्यस्तै, लगानी बोर्डमार्फत पोखरा–पुनहिल–तातोपानी–मुक्तिनाथ केबलकार र बौद्ध सातदोबाटो केबलकार निर्माणका लागि पनि अध्ययन भइरहेको छ । त्यस्तै, दोलखामा शैलुङ, संखुवासभामा मकालु र सोलुखुम्बुमा नाम्चे केबलकार निर्माणका लागि पूर्वसम्भाव्यता अध्ययनलगायत अन्य काम भइरहेको मन्त्रालयले जनाएको छ ।

हाल रज्जुमार्ग र केबलकारसम्बन्धी सञ्चालन र नियमन संघीय मामिला तथा स्थानीय प्रशासन मन्त्रालयले हेर्ने गरेको छ । स्थानीय सरकार सञ्चालनसम्बन्धी ऐन २०७४ अनुसार केबलकार सञ्चालनबाट प्राप्त हुने कर, नियमन र सञ्चालन सम्बन्धित स्थानीय तहले गर्नुपर्ने व्यवस्था छ । केबलकार सञ्चालनको अनुमति, इजाजत, नवीकरण र अनुगमन पनि सम्बन्धित स्थानीय तहबाटै गर्ने व्यवस्था छ । संघीय मामिला मन्त्रालयले केबलकारसम्बन्धी नीति, कार्यविधि, मापदण्ड, जग्गा र इआइए स्वीकृतिमा सहजीकरण गर्ने गरेको छ ।

केबलकार बनेपछि पाथीभरामा १० लाख पर्यटक आउने विश्वास
ताप्लेजुङमा रहेको प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा देवी मन्दिरसम्म पुग्ने पाथीभरा देवी मुकुम्लुङ दर्शन केबलकार निर्माण थालिएको छ । अबको १५ महिनाभित्र केबलकार चढेर पाथीभरा देवीको दर्शन गर्न सकिने विश्वास निर्माण कम्पनीको छ । केबलकार निर्माण भई सञ्चालनमा आउँदा ताप्लेजुङको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासमा टेवा पुग्ने विश्वास छ । केबलकारले अशक्त वृद्धवृद्धा तथा बालबालिकालगायत भक्तजनलाई समेत पाथीभरा देवीको दर्शन गर्न सहज हुनेछ । पर्यटन प्रवद्र्धन, रोजगारी सिर्जना, वातावरणीय सन्तुलन र आर्थिक तथा सामाजिक विकासका लागि पाथीभरा केबलकार अनुपम उदाहरण बन्ने पनि सञ्चालकको दाबी छ । परियोजना सम्पन्न हुँदा पाथीभरा देवीको दर्शन गर्न आउने पर्यटकहरूको संख्या १० लाखसम्म पुग्ने विश्वास कम्पनीले लिएको छ । पाथीभरा देवी मुकुम्लुङ दर्शन केबलकार सञ्चालन तथा व्यवस्थापन आइएमई ग्रुपले गरिरहेको छ । आइएमई ग्रुपले केबलकार निर्माण तथा सञ्चालनमा डेढ दशक लामो अनुभव हासिल गरिसकेको छ । काठमाडौंको चन्द्रागिरिमा पहिलो केबलकार निर्माण गरी काठमाडौंमा नयाँ उत्कृष्ट पर्यटकीय गन्तव्य बनेको छ भने नवलपुरको मौलाकाली र बुटवलको लुम्बिनी केबलकारको निर्माण पूरा भई सञ्चालनमा छन् । कर्णालीको जालपादेवी केबलकार निर्माणको काम अघि बढेको छ ।

सुदूरपश्चिममा पहिलो केबलकार बन्दै
सुदूरपश्चिममा पहिलो केबलकार निर्माण हुने क्रममा छ । सुदूरपश्चिम प्रदेशको प्रवेशद्वार कैलालीको चिसापानीबाट राजकाडासम्म चल्ने जालपादेवी केबलकार नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल नेतृत्वको आइएमई गु्रपले निर्माण गर्न लागेको हो । सात अर्ब लगानीमा केबलकार निर्माण गर्न लागेको हो । केबलकार निर्माणले सुदूरपश्चिमको पर्यटकीय विकासमा मद्धत पुग्ने विश्वास गरिएको छ । केबलकारको निर्माणले सुदूरपश्चिमको पर्यटकीय विकाससँगै निजी क्षेत्रलाई लगानीको वातावरण बनाउन थप मद्धत पुग्ने सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले बताउनुभयो । होटल, रिसोर्ट, केबलकारसहित पर्यटकीय पूर्वाधारहरू केबलकार कम्पनीले निर्माण गर्नेछ । गत वैशाखमा सुरु भएको पहिलो चरणको काम सकिएपछि कम्पनीले निर्माणको चरणमा प्रवेश गरेको छ । दुई वर्षमा निर्माण सम्पन्न गर्दै सञ्चालनमा ल्याउने उद्देश्यका साथ कम्पनीले काम गरिरहेको कम्पनीका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताउनुभयो । आयोजना स्थलका एक हजार ८६६ वटा रूख काटिएका छन् भने केबलकार सञ्चालनका लागि २० बिघा जमीन कम्पनीका नाममा सारिएको छ ।

पाथीभरा केबलकार निर्माणमा विरोध
ताप्लेजुङको फुङलिङ नगरपालिका-११ मा रहेको पाथीभरा क्षेत्रको केबलकार निर्माणमा केही समूहले विरोध गरिरहेका छन् । सो क्रममा शनिबार विरोधमा उत्रिएको ‘नो केबलकार समूह’ र प्रहरीबीच झडप भएको थियो । उक्त झडपमा १९ प्रहरी र ६ जना प्रदर्शनकारी घाइते भएका थिए । झडपमा गम्भीर घाइते तीन जनालाई थप उपचारका लागि आइतबार काठमाडौं ल्याइएको छ । प्रहरीले चलाएको गोली लागेर यामबहादुर लिम्बूको तिघ्रा र सगुन लावतीको छातीमा गोली लागेको छ । यसैगरी, भीरबाट लडेका धर्मान पालुङ्वाको कुम भाँचिएको छ । शनिबार साँझ बलुडाँडामा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो । प्रदर्शनकारीले माथिबाट ढुंगा प्रहार गरेपछि प्रहरीले अश्रुग्यास र केही गोली चलाएको थियो । झडपमा प्रहरी इन्स्पेक्टर रोहित शर्मालगायत १९ जना प्रहरी घाइते भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । स्थिति नियन्त्रणमा लिन पटक-पटक गरेको प्रयास असफल भएपछि फायर खोल्नुपरेको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिनुभयो । घटनालाई लिएर कोशी प्रदेश सभामासमेत विरोध भएको छ । कोशी प्रदेशसभामा बोल्दै धेरैजसो सांसदहरूले प्रहरी दमनको तीव्र विरोध गरेका छन् ।हिमालय टाइम्स दैनिकबाट ।

 

२०८१ माघ १४, सोमबार प्रकाशित 1 Minute 13 Views

ताजा समाचार