२०८१ बैशाख २६ बुधबार

व्यवसायी माझ लोकप्रिय छवि बनाउन सफल कपिल क्षेत्री (किशोर)

मेचीनगर । मेची उद्योग वाणिज्य संघ र व्यवसायी माझ लोकप्रिय छवि बनाउन सफल कपिल क्षेत्री (किशोर) दुबै प्यानलको मत तान्नसक्ने’ बलिया उम्मेद्वार मानिन्छन् ।

यसपालीको मेची उद्योग वाणिज्य संघको चुनावमा उनलाई अध्यक्षको उम्मेद्वार बनाउने धेरैको अनुमान थियो । तर, लोकतान्त्रिक प्यानलले उनलाई वरिष्ठ उपाध्यक्षको उम्मेद्वारमा खुम्च्यायो । चर्चामा आएभन्दा ‘एक स्टेप’ खुम्चिनु पर्दा उनलाई झनै फाइदा भएको छ । किनकि, अब उनले ‘अध्यक्ष बन्नुपर्थ्यो’ भन्नेहरुको सहानुभूति मत पनि पाउने सम्भावना बढेको छ ।

लोकतान्त्रिक प्यानलले ‘अर्कोपटक अध्यक्षमा’ उम्मेद्वार बन्न र यसपटक ‘मोहन निरौलालाई जिताउन’ आग्रह गरेपछि उनी आनाकानी नगरी वरिष्ठ उपाध्यक्षको उम्मेद्वार बन्न राजी भए ।

अध्यक्षको बलियो उम्मेद्वारको रुपमा चर्चा पाइसकेका क्षेत्री वरिष्ठ उपाध्यक्षमा पनि बलियो नहुने कुरै भएन । लोकतान्त्रिक प्यानलको पूणर् समर्थन रहेको र छ दलीय गठबन्धनका साथीहरुको पनि प्रशस्त सहानुभूति पाइरहेको उनी दावी गर्छन् ।
‘एउटा समूहमा बसिसकेपछि समूहको निणर्य मेरा लागि पदभन्दा ठूलो हुन्छ,’ उनले भने-‘साथीहरुले मलाई वरिष्ठ उपाध्यक्षमा यसपाली उठ्नुपर्छ भन्नुभयो, मैले थपक्कै मानेँ ।’

धुलाबारी बजारमा संघर्षशील व्यापारीबाट उदीयमान उद्योगीको पहिचान बनाएका युवा व्यवसायी कपिल क्षेत्री (किशोर) आम व्यवसायीमाझ लोकप्रिय छन् ।

दार्जीलिङको सेन्ट लुइसबाट उच्च शिक्षा हासिल गरेका उनले युक्रेनको युनिभर्सिटीबाट सफ्टवेयर इन्जिनियरिङ उत्तीणर् गरेको छन् ।

गार्मेन्ट व्यवसायीको रुपमा परिचित उनको धुलाबारी बजारमा रेडिमेट पसल छ भने बिर्तामोडमा कोल्ड स्टोर सञ्चालनमा छ । चीनबाट सामान नेपाल ल्याउने इम्पोर्टरको रुपमा व्यवसाय गरेका उहाँ नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय राजस्व समितिको सदस्य समेत हुनुहुन्छ ।

उनले मेची आम्दा हस्पिटलमा अक्सिजन प्लान्ट ल्याउन, जोरसिमलको सशस्त्र चौकी हटाउन, कोरोनाकालमा विभिन्न राहतमूलक अभियानमा निणर्ायक भूमिका निर्वाह गरेका थिए ।

मेची उद्योग वाणिज्य संघको स्थापना गर्न र त्यसलाई सबैको साझा थलो बनाउने सन्दर्भमा उनको भूमिकालाई सबै विचार र क्षेत्रका व्यवसायीहरुले प्रशंसा गर्दै आएका छन् ।
‘उनी वान साइडेड भएर कहिल्यै पनि काम गर्नुहुन्न, यो राम्रो पक्ष हो,’ व्यवसायीहरु उनको कार्यशैली बारे भन्ने गर्छन्-‘उनी लोकतान्त्रिक विचारधारा बोक्छन्, त्यो विषयमा उनी प्रष्ट छन् । तर सबैको विचारको उचित सम्मान हुनुपर्छ भन्ने उनको भावनाबाट साम्यबादी, राजाबादी र स्वतन्त्र मत राख्नेहरुसमेत प्रभावित हुन्छन् ।’

सबैसँग छिटो घुलमिल हुने, संस्थामा काम गर्दा राजनीतिभन्दा माथि उठ्ने र जिम्मेवारी बाँडेर काम गर्ने उहाँको शैली छ । यही कार्यशैलीका कारण उनी कहिल्यै विवादमा परेनन् । बरु फरक विचार राख्नेहरुमाझ झन् लोकप्रिय बने ।
धुलाबारी र काँकरभिट्टा वाणिज्य संघको एकीकरण गरेर मेची उद्योग वाणिज्य संघको पहिलो कार्यसमिति गठन हुँदा उनी संस्थापक सचिव थिए । उनी ‘सिनियर क्यान्डिडेट’ हो भन्ने प्रष्टै छ ।

अहिले वरिष्ठ उपाध्यक्षका लागि संघका संस्थापक अध्यक्ष पन्नालाल जैन र स्वतन्त्र उम्मेद्वारी दिनु भएका हरि कोइराला उनको प्रतिष्पर्धीको रुपमा छन् । दुबैजनासँग उनको राम्रो सम्बन्ध रहेको छ ।

प्रतिष्पर्धीका बारेका कुनै नकारात्मक टिकाटिप्पणी नगरी उनी आफ्ना लागि मतदातासमक्ष मत मागिरहेका छन् । ‘म यस्तो र उनीहरु उस्तो भनेर टिप्पणी गर्न चाहन्न,’ उनी भन्छन्-‘मेची उद्योग वाणिज्य संघमा कस्तो उम्मेद्वारलाई जिताउनु पर्छ भनेर आम व्यवसायीहरुले सोचविचार गरेर मत दिनुहुन्छ । विगतमा गरेका राम्रा काम र संस्थाप्रतिको मेरो लगावलाई देखेर उहाँहरुले मलाई नै मत दिनुहुन्छ, यो मेरो विश्वास हो ।’

विभिन्न कालखण्डमा उहाँले संघको भिन्नाभिन्नै जिम्मेवारी सम्हाल्नु भएको छ । रोटरी क्लव जस्तो मानवीय संस्थामा पनि उनले नेतृत्वदायी कार्य गरिसकेका छन् ।

धुलाबारी बजार निवासी उनी मेचीनगरका आम व्यवसायीहरुको समस्या बारेमा परिचित छन् । धुलाबारी बजारलाई चलायमान बनाउनु पर्ने, काँकरभिट्टालाई पर्यटकीय पूर्वाधारयुक्त आकर्षक सहरको रुपमा विकास गर्नुपर्ने र बाहुनडाँगी, इटाभट्टा, चारआलीलगायतका बजारहरुमा आधुनिक शहरी सुविधा र व्यवस्थापन पुर्याउन जरुरी रहेको उनको धारणा छ ।
‘यी सबै समस्याको समाधान संघको आफ्नै स्रोत र साधनबाट सम्भव नहोला, तर सक्षम नेतृत्व चुनियो भने त्यसले विभिन्न सरोकारवाला निकायसँग समन्वय र पहल गरेर परिणाम दिन्छ’-उनी भन्छन् ।

संघको नेतृत्वले व्यवसायीका समस्याको समाधानका लागि मेचीनगर नगरपालिकासँग धेरै सहकार्य गर्नुपर्छ । आम व्यवसायीहरुले क्षेत्रीलाई नगरपालिकाबाट सहयोग लिने क्षमता भएको व्यावसायिक नेताको रुपमा पनि पत्याउने गरेका छन् ।

मेची उवासंघ र व्यवसायीका लागि मरिमेटेर लाग्ने लोकप्रिय छवि बनाएका क्षेत्री सामाजिक संघ संस्थामा पनि उत्तिकै क्रियाशील छन् । अहिले चुनावमा उनको यही छवि लोकप्रियताको सबैभन्दा ठूलो आधार बनिरहेको छ ।

२०७९ माघ २०, शुक्रबार प्रकाशित 1 Minute 268 Views

ताजा समाचार