२०८१ माघ २७ आईतवार

जिबीको राहदानी रोक्का

सहकारी खोली सङ्गठित रुपमा ठगी गर्ने समूहका प्रमुख गीतेन्द्रबाबु (जिबी) राई ।

फडिन्द्र अधिकारी

लेखनाथ, माघ ४ गते । देशको मुख्य सहरमा सहकारी खोली सङ्गठित रुपमा ठगी गर्ने समूहका प्रमुख गीतेन्द्रबाबु (जिबी) राईको राहदानी रोक्का भएको छ। जिल्ला अदालत कास्कीका न्यायाधीश हिमलाल बेल्बासेको इजलासले शुक्रबार राईको राहदानी रोक्का हुने आदेश गरेको हो ।

कास्कीको सूर्यदर्शनसहित देशका विभिन्न भागमा सहकारी खोली बचत र सेयर रकम अपचलन गरेको अभियोगमा राईविरुद्ध मुद्दा दायर भएको छ । २०८० साउनसम्म सम्पर्कमा रहनुभएका राई कास्कीमा मुद्दा दर्ता भएपछि फरार हुुनुहुन्छ । कास्कीको सूर्यदर्शन सहकारीका पूर्व अध्यक्षसमेत रहनुभएका राईले दर्जनभन्दा बढी कम्पनी खोली सहकारीको रकम गैरकानुनी रुपमा अपचलन गरेको अभियोग छ ।

देशका पाँच सहकारीबाट गोरखा मिडिया नेटवर्कमा ६५ करोड गैर कानुनी रुपमा लगी ठगी गरेको अभियोग उहाँमाथि छ । सोही अभियोगमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित ६३ जनाविरुद्ध कास्कीमा दायर भएको मुद्दा विचाराधीन छ । यसअघि जिल्ला प्रहरी कार्यालय कास्कीको पत्राचारपछि राहदानी विभागले राईको पासपोर्ट गर्न नमिल्ने भनेको थियो ।

गोरखा मिडिया नेटवर्कका पूर्वप्रबन्ध निर्देशकसमेत रहनुभएका रास्वपा सभापति रवि लामिछानेको हिरासतमा रहँदाको तस्बिर खिची सार्वजनिक गर्ने कमल भुसाल (डा निकोलस भुसाल) लाई अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

जिल्ला अदालत कास्कीका न्यायाधीश शंकरबहादुर राईको इजलासले भुसाललाई ५० हजार धरौटीमा छाड्न शुक्रबार आदेश दिएको हो । लामिछाने कास्की प्रहरीको हिरासतमा रहेका बेला गत २९ मङ्सिरमा सुतिरहेको फोटो खिचेर भुसालले सार्वजनिक गर्नुभएको थियो ।

भुसाललाई साइबर अपराध कसुरमा बिहीबार नियन्त्रणमा लिई शुक्रबार अदालत पेश गरिएको थियो । यसअघि पुस ७ गते भुसाललाई काठमाडौंबाट पक्राउ गरी ८ गते पोखरा ल्याइएको थियो । त्यसबेला अदालतले उहाँलाई म्याद थप्न इन्कार गरेको थियो ।

गोरखापत्र अनलाइन

२०८१ माघ ४, शुक्रबार प्रकाशित 0 Minutes 17 Views

ताजा समाचार