२०८१ माघ २६ शनिबार

बेलगाम ‘सामाजिक अभियन्ता’ !

स्केच : एआई

मित्र भण्डारी

काठमाडौँ, माघ ३ गते । सिर्जनशील भई समाजलाई सकारात्मक दिशामा अग्रसर बनाउन विभिन्न गतिविधिमार्फत असल कामहरू भइरहेका उदाहरण प्रशस्तै छन् । समाजसँगै देशलाई सत्मार्गमा अघि बढाउन गरिएको त्याग, समर्पणसहित दत्तचित्त र निःस्वार्थ भावले अहोरात्र खटिनुहुने सन्दुक रुइत, महावीर पुन, भगवान कोइराला, अनुराधा कोइराला, पुष्पा बस्नेत जस्ता नेपालीले विश्व छवि बनाउनुभएको छ ।

सकारात्मक प्रयासबाट समाज परिवर्तनमा खेलेको भूमिकाकै कारण दशकौँअघि मृत्युवरण गरेका कतिपय व्यक्तिका सुन्दर कहानी नयाँ पुस्ताले प्रेरणाका रूपमा लिन्छन् । विश्वजगत्ले यस्ता व्यक्तिलाई असल ‘नायक’ का रूपमा आदरपूर्वक सम्मान गरी सामाजिक अभियन्ताको उपाधि दिने गरेका छन् ।

तर, पछिल्लो समय समाजसेवा र सामाजिक अभियन्ताको आवरणमा आफ्नै प्रचारबाजी गर्ने र त्यसैको आवरणमा आफ्नो अभीष्ट पूरा गर्ने क्रम बढ्दो छ । आफूलाई सामाजिक अभियन्ता स्वघोषणा गर्नेका गतिविधिले कानुनी राज्यको धज्जी मात्र उडाएको छैन, गलत सूचनाको सन्देशमार्फत सामाजिक सद्भाव नै खलबलिने खतरा बढ्दो छ ।

गत पुस २५ गते हिन्दुहरूको पवित्र तीर्थस्थल पशुपति मन्दिरपरिसरमा यस्तै घटना दोहोरियो । आफूलाई सामाजिक अभियन्ताका रूपमा प्रचार गर्ने आशिका तामाङ केही युवालाई लिएर पशुपति मन्दिरपरिसरमा पुगी पशुपति क्षेत्र विकास कोषका पदाधिकारी, कर्मचारी तथा सुरक्षार्थ खटिएका प्रहरीमाथि अपशब्द प्रयोग गरी अभद्र रूपमा प्रस्तुत हुनुभयो । मन्दिर र विकास कोषको सुरक्षार्थ तैनाथ कर्मचारीका अनुसार तामाङ केही कामदारको माग लिएर कोषको कार्यालयमा प्रवेश गर्दै अभद्र रूपमा प्रस्तुत हुनुभएको थियो ।

यो घटानापछि पीडित कोषका कर्मचारी र सुरक्षाकर्मीको जाहेरीपछि प्रहरीले तामाङलाई बुधबार पक्राउ गरी अनुसन्धान अघि बढाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक नवराज अधिकारीले पक्राउ परेकी तामाङबारे अभद्र व्यवहारको कसुरमा अनुसन्धान भइरहेको जानकारी दिनुभयो । पशुपति क्षेत्र विकास कोषको जाहेरी, प्रहरी वृत्त गौशालाको प्रारम्भिक अनुसन्धान र जिल्ला प्रशासन कार्यालय काठमाडौँको अनुमतिमा तामाङलाई अभद्र व्यवहारको कसुरमा नियन्त्रणमा लिइएको पनि अधिकारीले जानकारी दिनुभयो ।

आफूलाई सामाजिक अभियन्ता दाबी गर्ने विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले गत मङसिर ४ गते भक्तपुरबाट पक्राउ ग¥यो । सामाजिक सञ्जालको दुरुपयोग गरी किर्ते कागजपत्रमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलगायत विभिन्न व्यावसायी तथा राजनीतिक व्यक्तिको चरित्र हत्या गरेको उजुरीपछि नेपाल प्रहरीको साइबर ब्युरोले प्रसाइलाई भक्तपुरस्थित निकोसेराबाट पक्राउ गरी अनुसन्धान गरेको थियो ।

अनुसन्धानमा प्रसाईंले प्रधानमन्त्री ओलीलाई नियोजित रूपमा चरित्र हत्या गर्न कम्बोडियाको टेलिकम कम्पनीमा साढे ३२ अर्ब लगानी फेक डकुमेन्ट तयार पारेको र भारतीय आतङ्कवादी समूहको आवरणमा नेपालका व्यवसायीलाई धम्क्याउँदै रकम असुली गरेको पाइयो ।

आफूलाई सामाजिक अभियन्ता दाबी गर्ने कतिपय व्यक्ति पछिल्लो समय विभिन्न पार्टीमा सक्रिय भई अर्को पार्टीका नेता, राष्ट्रसेवकमाथि सामाजिक सञ्जालको दुरुपयोग गरी चिरित्र हत्या गर्न सक्रिय छन् ।

कथित सामाजिक अभियन्ता ज्वाला सङ्गौला राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध भई अन्य पार्टीका नेतामाथि सामाजिक सञ्जालको दुरुपयोगमार्फत चरित्र हत्या गर्न र गलत सूचना प्रवाहमा सक्रिय रहेको पाइएको छ ।

त्यस्तै हेमराज थापा, उमा जैसी, शर्मिला वाइबालगायतले सामाजिक अभियन्ताको आवरणमा सकारात्मक नभई समाजमा कायम सद्भाव नै खलबलाउने गतिविधि गर्दा कतिपय व्यक्ति पीडित हुनुपरेको गुनासो सुनिन्छ ।

नेपाल प्रहरीका पूर्वडिआइजी हेमन्त मल्ल सामाजिक अभियन्ताको आवरणमा भइरहेका कानुनविपरीतका गतिविधि रोक्न राज्य कठोर बन्नुपर्ने बताउनुहुन्छ । नागरिक अन्यायमा परे उजुरी गर्ने र न्याय दिलाउने निकायप्रति नै नागरिकको भरोसा टुट्ने गरी भइरहेका गतिविधिले समाज नै अराजकतातर्फ जाने खतरा बढेको बताउँदै मल्ल भन्नुहुन्छ, “कतिपय द्वन्द्वग्रस्त मुलुकको समस्या नै कानुनी अराजकता हो, यो बढ्दै गए नियन्त्रण गर्न मुस्किल पर्छ ।”

उहाँले सामाजिक अभियन्ताको आवरणमा अदृश्य रूपमा कसैमाथि भइरहेको दुराग्रहपूर्ण गतिविधि भविष्यमा आफैँमाथि पनि पर्ने निश्चित रहेकाले यस्ता असामाजिक गतिविधिलाई सबैले निरुत्साहित गर्नुपर्ने बताउनुभयो ।गोरखापत्र दैनिकमा खबर छ ।

 

२०८१ माघ ३, बिहीबार प्रकाशित 1 Minute 25 Views

ताजा समाचार