२०८१ माघ २७ आईतवार

असहायसँग प्रधानमन्त्रीको दुई घण्टा

उद्यमसँगै ब्युँझिँदै मूर्च्छित सपना

अशाेक अधिकारी

काठमाडौँ, माघ १ गते ।

आलु भण्टा स्कुल गए झोला बोकेर

टमाटरले स्वागत गर्‍यो घण्टी ठोकेर ।

क ख ग घ पढ भन्दा फर्सी आइछिन्

खोर्सानीले प्रश्न सोध्दा पिरो परेछ ।।

भर्खर हिँड्न सुरु गरेका सुमधुर बालसुलभ बोलीले आफ्नै मिठासपूर्ण भाकामा गीत गुनगुनाउँदै प्रधानमन्त्रीको स्वागत गर्दा उहाँहरूका मुहारमा सन्तोषको नूतन आभा प्रस्तुत भयो । बालबालिकाको मनोरञ्जनका लागि बनाइएको यही गीतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तीनदेखि छ वर्षसम्मका साना बालिकाले स्वागत गर्नुभयो ।

प्रधानमन्त्री ओलीले धैर्यपूर्वक गीत सुन्नुभयो र सामूहिक तस्बिर खिचाउनुभयो । माइती नेपालको केन्द्रीय कार्यालयमा प्रधानमन्त्रीलाई त्यहाँ आश्रित ‘चेली’ हरूको स्वागतले सोमबारको चिसो साँझलाई न्यानो बनाइदियो । उहाँहरूले हिंसा र बेचबिखनको त्रासदीपूर्ण सङ्घर्ष र कहालीलाग्दो जीवनको वास्तविक कथा सुनाउनुभयो, सँगै ब्युँझिएका मूच्र्छित सपनालाई साकार पार्दै जाने अठोट बलियो बनाउने प्रण पनि उहाँहरूले गर्नुभयो ।

प्रधानमन्त्री ओलीले पुनस्र्थापना गृह, बाल संरक्षण गृह, एचआइभी उपचारको एआरटी केन्द्र, टेरेसा एकेडेमी/विद्यालय अवलोकन गर्नुभयो । त्यस क्रममा भर्खरै उद्धार गरेर ल्याइएका चेलीले भोगेका अनेकौँ पीडा सुन्नुभयो । माइती नेपालका संस्थापक अध्यक्ष अनुराधा कोइरालाले सोमबारै उद्धार गरेर ल्याइएकी १५ वर्षीय किशोरीको परिचय गराउँदै उद्धार कार्य गर्दा झेलेका समस्याबारे ध्यानाकर्षण गराउनुभयो ।

माइती नेपालमा आश्रित १४–१५ वर्षकै उमेरमा आमा बनेका बालिकाका पीडादेखि भारतमा बेचिएर फिर्ता ल्याइएका चेलीलाई प्रधानमन्त्री ओलीलेधआगामी दिन सुन्दर र सिर्जनशील हुने विश्वास दिलाउनुभयो ।

अक्षयकोषमा एक करोड सहयोग

प्रधानमन्त्री केपी शर्मा ओलीले मानव बेचबिखनविरुद्ध क्रियाशील संस्था माइती नेपालको अक्षयकोषमा एक करोड रुपियाँ सहयोग गर्ने घोषणा गर्नुभयो । उहाँले उद्धार गरिएका सम्पूर्ण बालबालिकालाई बहुआयामिक क्रियाकलाप अघि बढाउने प्रेरणा प्राप्त भएको तथा अलपत्र, बेहाल व्यक्तिलाई उद्धार गरेर सफल जीवनमा रूपान्तरण गर्न माइती नेपालले गरेको प्रयास प्रशंसनीय रहेको बताउनुभयो । उहाँले माइती नेपाललाई देश विदेशबाट सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै बेलायतका महाराज चाल्र्सले संस्था स्थापनासँगै गरेको सहयोगप्रति आभार व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, “वास्तवमा यो सरकारको काम हो । नागरिकको रक्षा, सुरक्षा र उन्नति प्रगति गर्ने काम सरकारको हो तर सरकारको सीमा र अरू कतिपय कारण सरकारले यो काम गर्न नसकिरहेको अवस्थामा नागरिकस्तरबाट अनुराधा कोइराला जस्ता समाजसेवीबाट भएको काम प्रशंसनीय छ । यहाँबाट सेवा पाइरहेका भाइबहिनीलाई बधाई छ ।” उहाँले खेलकुद, साङ्गीतिक क्षेत्र र उद्यमशील क्षेत्रमा आश्रित महिला बालबालिकाले उत्कृष्ट काम गरिरहेको देख्दा खुसी लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “गायन, नृत्य, खेलकुद, सिर्जनशील उद्यमीसहित आआफ्ना क्षेत्रमा क्रियाशील भएर कला क्षमताको अभ्यास गरिरहेका भाइबहिनीलाई मैले देखेँ र प्रगति देख्दा सन्तोष लागेको छ । यसमा सरकारका तर्फबाट पनि अझ बढी केही गर्न आवश्यक छ ।”

उहाँले सरकारका तर्फबाट गर्नुपर्ने काम पनि आफूले देखेको प्रस्ट पार्दै तिनीहरूलाई ध्यानमा राखेको बताउनुभयो । उहाँले भन्नुभयो, “कसैका नागरिकताका समस्या, कसैका जागिरका समस्या, कसैको भारतबाट उद्धार गर्ने समस्यालगायतका अनेक समस्या पनि मैले सुनेँ । हामीले माइती नेपालका समस्यालाई मनमा मात्रै होइन, रेकर्डमा पनि राखेका छौँ । त्यस कारण भनियो, सुनियो, गयो होइन । कति सकिन्छ, त्यसलाई कार्यान्वयन गर्दै लाने प्रतिबद्धता व्यक्त गर्दछु ।”

सरकारको साथ प्रेरणादायी

प्रधानमन्त्री ओलीलाई स्वागत गर्दै माइती नेपालका संस्थापक अनुराधा कोइरालाले सरकारको साथ पाउँदा मानव बेचबिखन, महिला हिंसा जस्ता घटना नियन्त्रण र न्यूनीकरणको अभियानमा अघि बढ्न प्रेरणा मिल्ने बताउनुभयो । उहाँले सामाजिक कार्य गर्दा सरकारको साथ पाउँदा अघि बढ्न अझै प्रेरणा प्राप्त हुने पनि बताउनुभयो । उहाँले भन्नुभयो, “प्रधानमन्त्री आउनुभयो, हेर्नुभयो । उहाँको प्रतिबद्धता नै हाम्रालाई ठुलो कुरा हो । सरकारले के गर्नु पर्छ, उहाँ आफैँले प्रतिबद्धता जनाउनुभयो । प्रधानमन्त्रीको प्रतिबद्धता कार्यान्वयन हुने विश्वास लिएकी छु ।”

माइती नेपालका कार्यकारी निर्देशक विश्वराम खड्काले महिला हिंसा र बालबालिकाको बेचबिखनविरुद्धको अभियानमा आइरहेका चुनौतीबारे सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले बेचबिखनमा परेकालाई भारतबाट नेपाल फर्काउँदा भोग्नु परेका समस्या निराकरण गरी छिटै फिर्ता ल्याउने सन्दर्भमा सरकारले पहल गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले आन्तरिक रूपमा पनि व्यवसायमा यौन शोषण र यौन हिंसाका घटना बढेकाले यसको न्यूनीकरण गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रधानमन्त्री ओलीकै गीत प्रस्तुत

छानेर नि होइन, होइन जानी जानी

तर म जन्मे नेपालमै,

कति भाग्यमानी, रैछु भाग्यमानी

सबैभन्दा ठुलो देश, यही देशका जन,

सेवा गर्न यिनको पाएँ, धन्य भो जीवन ।।

प्रधानमन्त्री ओलीले २०७६ फागुन २४ गते रचना गरेको गीत पनि कार्यक्रममा प्रस्तुत गरियो । उहाँको सोही साल फागुन २१ गते मिर्गौला प्रत्यारोपण भएको थियो । उहाँले अस्पतालको बेडमा हुँदा रचना गरेको गीतबारे आफ्नो अनुभूति सुनाउनुभयो । उहाँले भन्नुभयो, “यति सुन्दर र मनोरम, सभ्यताको सुरुवात भएको देशलाई अझै समृद्ध बनाउनु पर्छ । नेपालमा जन्मिएकोमा गर्व गर्नु पर्छ । पुन्य, पवित्र, देवभूमिमा जन्मिने मौका पाएकोमा गौरव गर्नु पर्छ । जन्मिनलाई देश छान्न मिल्दैन । हामीले समृद्ध राष्ट्र बनाउने सङ्कल्प गर्नु पर्छ ।”गोरखापत्र दैनिकमा खबर छ ।

२०८१ माघ १, मंगलवार प्रकाशित 0 Minutes 18 Views

ताजा समाचार