
झापा । झापामा लामो समयदेखि नेपाली काङ्ग्रेसको नेपाल विद्यार्थी संघमा विवाद देखिएको छ । संघको जिल्ला समितिमा देखिएको विवादको असर तल्लो तहसम्म परेको छ । मंगलबार मेची बहुमुखी क्याम्पसमा दुई वटा समिति बनेको छ ।
मंगलबार भद्रपुरस्थित मेची बहुमुखी क्याम्पसको सभाहलमा सम्पन्न इकाई सम्मेलनमा विवाद सिर्जना भएपछि दुई वटा समिति बनेको हो । नयाँ एक समितिको नेतृत्व किशोर ढुङ्गानाले गरेका छन् भने अर्को समितिको नेतत्व शिकेन्द्र यादवले गरेका छन् ।

ढुङ्गानालाई सभापति बनाउने कार्यक्रमको प्रमुख अथिती भुवन बुढाथोकी थिए भने यादवलाई सभापति बनाउने कार्यक्रमको प्रमुख अथितीका रुपमा नेविसंघ जिल्ला सभापति सञ्जय निरौला थिए । निरौलालाई संघको कार्यसमितिले सिधैं सभापति तोकेको छ भने निरौलाभन्दा बुढाथोकी जिल्ला सभापतिका रुपमा कार्यरत थिए ।
जिल्ला सभापति निरौला मेची क्याम्पसमा दुई वटा समिति निमार्ण भएको आफूलाई जानकारी नभएको बताउँछन् । उनी भन्छन् ‘मलाई मेरो प्रमुख आतिथ्यतामा निमार्ण भएको समितिको बारेमा मात्र थाहा छ, अरु पनि समिति बनेको बारे मलाई कुनै जानकारी छैन ।,’ उनी सोध्छन् ‘अर्को समिति कसको नेतृत्वमा बनेछ ?’
मेची क्याम्पसको आधिकारिक नेविसंघको समिति यादवले नेतृत्व गरेकै समिति भएको जिल्ला सभापति निरौलाले दावी गरेका छन् । उनी भन्छन् ‘आफूले आफैलाई नेता घोषणा गरेर हुँदैन, यसको आफ्नै विधि पद्धति हुन्छन् ।’ उनी भन्छन् ‘फेसबुकमा पहिलो स्टाटस हालेकै भरमा आधिकारिक समिति भइदैन । हामी तत्काल क्याम्पस र त्यहाँ भएका प्रतिस्पर्धी मित्र संगठनहरुलाई तत्कार पत्राचार गरेर आधिकारिकताको बारेमा जानकारी गराउँछौं ।’
किशोर ढुङ्गानाले नेतृत्व गरेको समितिको पदाधिकारीहरुमा वरिष्ठ उपसभापति गौरव गुप्ता, उपसभापति भिष्म घिमिरे, राजेश शिवाकोटी, प्रजिन खतिवडा र शिकेन्द्र यादव, सचिव निलम कार्की र तेजप्रसाद शिवाकोटी (आकाश), सहसचिव प्रतिक रौनियार र कोषाध्यक्ष दिपशिखा रिजाल लगायतको नाम सार्वजनिक गरिएको छ । त्यसै गरी शिकेन्द्र यादवले नेतृत्व गरेको समितिको पदाधिकारीहरुमा उपसभापति अभय रजक र रोशित पकुवाल, सचिव किशोर ढुङ्गेल र सन्दिप बजगाईं, सहसचिव ओम प्रकाश गणेश, किरण राजवंशी र कोषाध्यक्ष पुजा दास लगायतको नाम सार्वजनिक गरिएको छ ।