नवराज कट्टेल
विराटनगर, पुस १६ गते । कोशी प्रदेशका १३ सिमेन्ट उद्योग आफ्नै क्लिङ्कर नहुँदा सञ्चालन सङ्कटमा परेका छन् । कोशीका १५ सिमेन्ट उद्योगमध्ये १३ सिमेन्ट उद्योगसँग आफ्नै क्लिङ्कर उत्पादन छैन ।
धनकुटाको निगाले सिमेन्ट उद्योग र उदयपुरको उदयपुर सिमेन्ट उद्योगबाहेकले क्लिङ्कर ल्याएर ग्रान्डिङ गरेपछि उत्पादन गर्न सक्छन् । क्लिङ्कर खरिद गर्दा महँगो पर्ने भएपछि कुनै उद्योग बन्द भएका र कुनै बन्दका चरणमा पुगेका हुन् । कोशी प्रदेशको मोरङमा चार, झापामा आठ, सुनसरीमा एक, उदयपुरमा १ र धनकुटामा एउटा उद्योग सञ्चालनमा छन्, जसमध्ये मोरङको अल्ट्राटेक र अन्नपूर्ण सिमेन्टको उत्पादन बन्द छ ।
यसै गरी झापाका आठमध्ये तीन वटा उद्योग पूर्ण रूपमा बन्द छन् । पाँच वटा उद्योगको उत्पादनसमेत २५ प्रतिशत हाराहारी मात्रै रहेको उद्योगीले बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासङ्घ कोशीका अध्यक्ष एवं अन्नपूर्ण सिमेन्ट उद्योगका सञ्चालक राजेन्द्र राउतका अनुसार आफ्नै क्लिङ्कर नहुँदा ठुलो लगानीमा सञ्चालनमा रहेका उद्योग बन्द हुने अवस्थामा पुगेका हुन् । क्लिङ्कर आयात गरेर ग्रान्डिङ गर्दा लागत बढ्ने र प्रतिस्पर्धा गर्न नसक्ने अवस्था आएपछि सिमेन्ट उद्योग बन्द गर्नुपर्ने चरणमा पुगेका हुन् ।
अर्कातर्फ सरकारको पुँजीगत खर्च गर्न नसक्ने अवस्था, उधारो भुक्तानी नहुनु र भारतमा गुणस्तर चिह्न प्राप्त नगरेका उद्योगको निर्यात रोकिनु पनि नेपाली सिमेन्टका लागि घातक बनेको छ । देशभरमा २१ वटा सिमेन्ट उद्योगको आफ्नै क्लिङ्कर उत्पादन छ । खपत कम भएका बेला यिनै उद्योगको उत्पादनले धानिरहेका कारण सरकारले ग्रान्डिङ प्लान्टका सिमेन्ट उद्योग सञ्चालकको मागलाई खासै वास्ता गरेको छैन ।
सुनसरी–मोरङ औद्योगिक कोरिडोर अल्ट्राटेक सिमेन्टका सञ्चालक मनिष मारुका अनुसार डेढ वर्षयता उद्योगको प्लान्ट बन्द छ । सरकारले माग बढाउने गरी खपत बढाउन पुँजीगत खर्च गर्न सके अहिलेको उत्पादनले थेग्दैन तर पुँजीगत खर्च नै नभइरहेका बेला पूर्वाधारका कामसमेत न्यून मात्रामा भइरहेको छ।
सञ्चालक मारुका अनुसार अहिले आफ्नै क्लिङ्कर प्लान्ट भएका उद्योगले उत्पादन गरेको सिमेन्टको खपतले पुगिरहेका बेला सरकारलाई ग्रान्डिङ उद्योगका सञ्चालकको माग सुनुवाइ गर्न जरुरी नै ठानेको छैन ।
उद्योगीले अरूबाट क्लिङ्कर खरिद गरेर उद्योग चलाउन नसक्ने अवस्था रहेकाले अब सरकारसँगै अनुमति लिएर बन्द गर्ने अवस्था आइसकेको उनीहरू बताउँछन् ।
गोरखापत्र अनलाइन