बिश्वास दाहाल
मेचीनगर । मेचीनगर-१० मा निर्माणधिन नगर अस्पाताल ठेकेदार भागेपछि २ बर्षदेखि अलपत्र परेको छ । नगरमै सुविधा सम्पन्न नगर अस्पतालबाट नगरवासीलाई स्वास्थ सेवा दिने उद्देश्यले निर्माण सम्झौता गरेको ठेकेदार भागेपछि स्थानिय निराश बनेका छन् ।
संघीय सरकारको २४ लाख लागतमा निर्माण हुन लागेको अस्पताल २ वर्षदेखि अलपत्र परेको छ । देशकै ठूलो मेचीनगर नगरपालिकामा १५ बेडको सुविधा सम्पन्न अस्पताल बनेपछि सहज र सुलभ ढङ्गबाट स्वास्थ सेवा प्राप्त गर्ने स्थानियबासीले सपना बुनेका थिए । तर २ बर्षदेखि निर्माण ठप्प छ, यसले थप निराशा बनाएको छ । १३ करोड ३० लाखमा निर्माण गर्ने भुमी बिपियल कन्टक्सनका सञ्चालक कृष्ण बोहोराले २०८० साउन मसान्तसम्म निर्माण सम्पन्न गर्ने सम्झौता गरेका थिए । तर, बोहोरा २ वर्षदेखि सम्पर्क बिहीन बनेका छन् । अस्पताल निर्माण सम्पन्न मिति सकिन लाग्दा १०% प्रतिशत पनि निर्माण कार्य भएको छैन्।
मेचीनगर नगरपालिकाको स्वामित्वमा रहेको करिब ६ बिघा जग्गा परिसरमा बन्न लागेको अस्पतालबाट यहाँका लाखौं नागरिकले स्वास्थ्य सेवा प्राप्त गर्नेछन् । निर्माणस्थलको राम्रो सुरक्षा व्यवस्थापन नहुँदा लाखौंका निर्माण सामाग्री चोरी भएको नगर प्रमुख गोपालचन्द्र बुडाथोकीले बताए । प्रमुख बुढाथोकीले भने- समयमै निर्माण सम्पन्न गरेर स्वास्थ्य सेवा दिने उदेश्यले आवश्यक प्रकृया पूरा गरेर सम्झौता गरियो तर अहिले ठेकेदार नै फरार भएपछि उदेश्य अनुरूप कार्य सम्पादनमा अवरोध भएको छ । समस्यका बिषयमा सरोकारवाला निकायलाई जानकारी गराएका छौं, बुढाथोकीले भने- छिटै अस्पताल निर्माणको काम सुरू गर्छौ । नगरले आफ्नै घर-आँगनमा अस्पताल बनाउन थालेपछि स्थानिय रबिना राजवंशीमा खुशी छाएको थियो, तर यतिका दिनसम्म अलपत्र पारेर ठेकेदार भागेपछि निराश छौं, उनले भनिन्- नगरवासीको स्वास्थ्य जस्तो बिषयमा यस्तो मजाक गर्नेलाई कारबाही गर्नुपर्छ र तत्काल स्थानिय सरकारले निर्माण सुरू गर्नु पर्ने उनको भनाइछ।
त्यस्तै, मेचीनगर १० का वडाध्यक्ष नारायण खनालका अनुसार ठेकेदारको खोजी कार्य जारी छ । सम्झौता गर्ने ठेकेदार कम्पनीलाई कालो सुचिमा राख्ने प्रकृया अघि बढेको छ । छिटै विशेष कानुनी प्रकृया अवलम्बन गरेर कार्य सम्पन्नतर्फ लाग्ने छौं ।
नगर अस्पताल अलपत्र पारेर लामो समयदेखि सम्पर्कविहिन बनेका ठेकेदार बोहोरालाई २०७८ कार्तिक ५ गते २ करोड ६० लाख पेश्की रकम नगरले भुक्तानी गरेको देखिन्छ । २ बर्षअघि निकै तामझामका साथ शिलान्यास भएको नगर अस्पताल अहिले वेवारिसे अवस्थामा छ ।
यो अस्पताल मात्र होइन् नगरमा निर्माणाधीन धेरै विकास निर्माणका काम अलपत्र छन्, जसका कारण जनताले तिरेको ठुलो धनराशी बलुवामा पानी जस्तै भएको छ ।