२०८१ माघ २ बुधबार

भक्तपुर प्रकरण : तनावका कारण बुबा र भाइको हत्या

न्युज अफ नेपाल

काठमाडौँ।

भक्तपुरको बालकोटमा भएको बाबु र छोराको हत्या प्रकरणमा जेठो छोरा प्रहरीमा आत्मसमर्पण गर्दै अपराध स्वीकार गरेका छन् । खोटाङ रूपाकोट मजुवागढी नगरपालिका–१ का ५६ वर्षीय कुलप्रसाद आचार्य र उनका २२ वर्षीय छोरा प्रवीण आचार्यको हत्या प्रकरणमा जेठो छोराले प्रहरीसमक्ष आत्मसमर्पण गर्दै अपराध स्वीकार गरेका हुन ।

गत शनिबार राति घटना भएदेखि उनी सम्पर्कविहीन थिए । उनका बाबु र भाइको शव भने डेरामै सोमबार बिहान बेग्लाबेग्लै कोठामा फेला परेको थियो ।डेराबाट सम्पर्कविहीन भएका जेठा छोरा मिलन मंगलबार प्रहरीको सम्पर्कमा पुगेका हुन् ।

मिलन फरार भएपछि प्रहरीले उनको खोजी सुरु गरेको थियो । सो क्रममा आइतबार राति ३ बजेतिर मिलन उक्त कोठाबाट बाहिरिएको देखिएको थियो । उनी स्कुटर लिएर कोठाबाट बाहिरिएका थिए । सीसीटीभी फुटेजमा उक्त स्कुटर सातदोबाटोसम्म पुगेको प्रहरीले पहिचान गरेको थियो । त्यसपछि स्कुटर कता गयो भन्ने प्रहरीले पत्ता लगाउन सकेको थिएन ।

खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका– १ स्थायी घर भएका उनीहरू बालकोटस्थित फिकाधारा डेरामा बस्दै आएका थिए । मिलन र उनका भाइ प्रवीण डेरामा बस्ने भए पनि हालै उनका बाबु कुलप्रसाद आचार्य पनि सोही डेरामा आएका थिए । कुलप्रसाद जिल्ला हुलाक कार्यालय खोटाङ दिक्तेलका निमित्त प्रमुख समेत थिए । उनी काम र छोराहरू भेट्न भक्तपुर आएका थिए ।

गत शनिबार उनीहरू डेरामा खाना खाएर सुतेका थिए । तर सोमबार बिहानसम्म पनि डेराको ढोकामा बाहिरबाट लगाएको ताला नखुलेपछि भुइँ तलामै डेरामा बस्नेहरूले प्रहरीलाई खबर गरेका थिए । प्रहरीको प्रारम्भिक बयानमा मिलनले आफूले धेरै पटक लोकसेवा आयोगको परीक्षा दिए पनि सफल हुन नसकेको र आफू तनाव रहेको बताएका छन् ।

‘मैले धेरै पटक लोकसेवा आयोगमा परीक्षा दिएँ तर ५–६ पटकसम्म फेल भएँ,’ मिलनले भनेका प्रारम्भिक बयानबारे जानकारी दिँदै प्रहरी स्रोतले भन्यो, ‘बुवा पनि बिरामी हुनुहुन्थ्यो, भाइ पनि केही काम गर्दैनथ्यो, पढ्दै थियो ।’

उनले बुवा र भाइलाई शारीरिक अभ्यासमा प्रयोग गरिने ड्रमबेल र मसला पिँस्न प्रयोग गरिने सिलौटाले हानेर ज्यान लिएको बताएका छन् ।

२०८१ पुष ९, मंगलवार प्रकाशित 0 Minutes 20 Views

ताजा समाचार