२०८३ जेष्ठ २९ शुक्रबार

झापामा तोकियो धानको समर्थन मूल्य

झापा । झापाको विर्तामोडस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ५० हजार क्विन्टल धान खरिद गर्ने भएको छ । कम्पनीका कार्यालय प्रमुख चुलमाया लोवाका अनुसार पहिलो चरणमा १५ हजार क्विन्टल सोनामन्सुली र पाँच हजार क्विन्टल रञ्जितमन्सुली धान खरिद गर्न लागिएको हो ।

‘कम्पनीले धानको समर्थन मूल्य प्रति क्विन्टल तीन हजार ५८०.६२ तोकेको छ,’ उनले भनिन्, ‘कम्पनीले तोकेको मूल्य बजार भाउभन्दा माथि रहेकाले किसानले धान बिक्री गर्नेछन् ।’ झापामा यो वर्ष तीन लाख ८५ हजार एक सय ९६ दशमलव पाँच मेट्रिक टन धान उत्पादन भएको छ । धान लगाइएको क्षेत्रफल घटे पनि उत्पादनमा भने सामान्य वृद्धि भएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ ।

यस वर्ष ७५ हजार चार सय ५९ हेक्टरमा धानखेती भएकामा उत्पादकत्व ५.१० मेट्रिक टन प्रतिहेक्टर रहेको केन्द्रका सूचना अधिकारी चेतराज भण्डारीले जानकारी दिए । ‘गत वर्षभन्दा यो वर्ष आठ हजार ७ सय ९१ मेट्रिक टन धान उत्पादन बढेको छ,’ उनले भने ।

जिल्लाको केही स्थानमा हर्दिना-६, सावा मन्सुली, बहुगुणी-२ लगायतका जातका धानबालीमा पेनिकल ब्लाइडको समस्या देखिए पनि समग्रमा धान उत्पादन बढेको ज्ञान केन्द्रले जनाएको छ । यो वर्ष धानखेतीका लागि मौसम अनुकूल हुनु, मलको उपलब्धताका साथै गुणस्तरीय तथा उन्नत बीउका कारण उत्पादन बढेको सूचना अधिकारी भण्डारीले जानकारी दिए ।

२०८१ मंसिर २३, आईतवार प्रकाशित 1 Minute 215 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।