२०८१ बैशाख ८ शनिबार

बाबुसँग पैसाको लेनदेन नमिलेपछि ‘हनीट्रयाप’ गरी राजीवको अपहरण

झापा । झापामा १० दिनअघि अपहरणमा परेका एक युवकको प्रहरीले उद्धार गरेको छ । बिर्तामोड– ३ भगवान चोक निवासी कमल बस्नेतका छोरा २१ वर्षीय राजीव बस्नेतलाई प्रहरीले अपहरणकारीको पन्जाबाट शनिबार साँझ मुक्त गरेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी रुगमबहादुर कुँवरले जानकारी दिए । उनलाई पूर्वपश्चिम राजमार्गको देउनिया पुलनजिक फेला पारिएको डीएसपी कुँवरले बताए ।

राजीव गत माघ ५ गते बिहान इलामको श्रीअन्तु घुम्न भनी घरबाट निस्किएका थिए । प्रदेश १–०१–०१५ प ८०९७ मोटरसाइकल चढेर गएका उनी साँझसम्म नफर्किएपछि परिवारले प्रहरीलाई हुलियासहित उजुरी दिएको थियो ।
डीएसपी कुँवरका अनुसार बुद्धशान्ति घर भई हाल भारतको मणिपुरमा बसेर व्यापार गर्ने राजु भनिने राजकुमार भण्डारी नामको व्यक्तिको संलग्नतामा राजीवको अपहरण भएको खुलासा भएको छ। राजीवका बाबु कमल बस्नेत र भण्डारी पहिले व्यापार साझेदार थिए । तर, पछिल्लो समय आर्थिन लेनदेनमा विवाद भएपछि यी दुईबीच मनमुटाव सुरु भएको थियो । उनीहरु सुन व्यापारमा संलग्न रहेको प्रहरीले जनाएको छ ।
‘पीडितका बाबु र भण्डारी पुराना कारोवारी रहेछन् । व्यापारको कुरामा लेनदेनको समस्या रहेछ, त्यही निहुँमा राजीवलाई अपहरण गरिएको खुलेको छ,’ डीएसपी कुँवरले भने, ‘बस्नेतले भण्डारीलाई रकम तिर्न बाँकी रहेको र त्यही कारण भाडाका मान्छे परिचालन गरेर छोरालाई उठाइएको पाइयो ।’

१० दिनसम्म अज्ञातस्थलमा राखिएका उनलाई प्रहरीले उद्धार गरी परिवारको जिम्मा लगाएको छ । भण्डारीले अपहरण गर्न ९ जना मानिस प्रयोग गरेका थिए । ६ जना नेपालीमध्ये तीनजना युवती छन् । त्यस्तै तीनजना भारतीय रहेका छन् । ती तीनजना युवतीले हनीट्रयाप गरी कक्षा १२ मा पढ्ने राजीवलाई अपहरण गरेका थिए । माघ ४ गते ती युवतीहरुले राजीवसंग घुम्न जाने योजना बनाएका थिए । त्यसपछि भोलिपल्ट ती युवक श्रीअन्तु जान्छु भनी घरबाट हिडेका थिए । उनीहरु सालवारी पनि गएको सिसिटीभीले देखाएको डीएसपी कुँवरले बताए । ती युवकलाई नछोडे आफूहरु नबाँच्ने देखेपछि अपहरणकारीहरु देउनिया पुलमा छोडेर भागेको उनले बताए । ‘घटनामा ठूलो मिस्ट्री छ’ उनले भने ‘हनीट्रयाप, आर्थिक लेनदेन ,अपहरणको केसमा प्रहरीले ठीक ठाउँमा एक्सन लिनसक्दा युवकलाई सकुशल जोगायौं , त्यो ठूलो एचिभमेन्ट हो ।’

बस्नेत र भण्डारीबीचको लेनदेन विवाद ८–१० वर्ष अगाडिकै हो । दुवैले भारतको मणिपुरमा संगै व्यापार गरेका थिए । बस्नेतसंग रकम पाउने भन्दै भण्डारीले विप्लव माओवादी पनि लगाएका थिए । बस्नेतले भण्डारीलाई १ करोड भारु बुझाएका थिए । तर, भण्डारीले अझै २० करोड भारु पाउने दावी गर्दै आएका थिए । पैसा नपाइने सोचेर उनले छोरालाई अपहरण गर्न लगाएको डीएसपी कुँवरले बताए । हाल मणिपुरमा रहेका भण्डारी आफै बिर्तामोड आएका थिए । बिर्तामोडको एउटा होटलमा ४–५ दिन बसेर उनले सो अपहरणको योजना बनाएको खुलेको छ ।

अपहरणकारीले छोरालाई छुटाउन ४० करोड फिरौती रकम मागे पनि परिवारले भने नदिएको प्रहरीले दाबी गरेको छ । अपहरणकारीहरुले परिवारलाई अपहरित युवकको भिडियोसंगै म्यासेज पनि पठाएका थिए । तर, केही सीप नलागेपछि र प्रहरीले पक्राउ गर्न लागेपछि उनीहरु युवक छोडेर भागेको बताइएको छ । प्रहरीले घटनामा संलग्न एकजनालाई पक्राउ गरिसकेको छ । घटनामा संलग्न ९ जनाविरुद्ध जिल्ला अदालतमा ५ दिन म्याद थप गरी मुद्धा दायर गरिसकेको डीएसपी कुँवरले जानकारी दिए ।

२०७९ माघ १६, सोमबार प्रकाशित 0 Minutes 329 Views

ताजा समाचार