नवलपुरको कावासोतीस्थित जटायु रेस्टुरेन्टमा गिद्धलाई आहारा दिँदै एक हेरालु (बायाँ) । गिद्ध अवलोकन गर्दै आन्तरिक तथा बाह्य पर्यटक ।
बोमलाल गिरी
नवलपुर, मङ्सिर १० गते । जङ्गलको बिचमा एउटा ठुलो चौर छ । चौरको छेवैमा सानो प्वाल राखेर हेर्न र फोटो खिच्न मिल्ने गरी एउटा मचान बनाइएको छ । मचानमा देशी र विदेशी पर्यटक खचाखच छन् । जसले फोटो र भिडियो खिच्नका लागि अत्याधुनिक क्यामरालाई तयारी अवस्थामा राखेका छन् ।
जब हेरालु यामबहादुर नेपालीले मरेको गाईलाई डोरीले बाँधेर मोटरसाइकलमा घिसार्दै त्यही चौरमा प्रवेश गराउनुहुन्छ, रुखका टुप्पामा बसेका सयौँ गिद्ध एकैसाथ मैदान प्रवेश गर्छन् र मरेको गाईलाई लुछ्न थाल्छन् । केही मिनेटमै गाईलाई सिध्याउँछन् र मैदानलाई कुचीकारले जस्तै सफा गर्छन् ।
नवलपुरको कावासोती नगरपालिका वडा नं. १३ मा रहेको जटायु रेस्टुरेन्टमा गिद्धको यही दृश्य अवलोकन गर्न र अनुसन्धानका लागि नेपाली र विदेशी पर्यटकको घुइँचो लाग्ने गरेको छ । आहार खुवाउने बेलामा धेरै गिद्ध आउने भएकाले गिद्ध अवलोकनका लागि पर्यटक आकर्षित भएका यामबहादुरले बताउनुभयो । जटायु रेस्टुरेन्टले आहारका रूपमा हरेक तीन दिनमा मरेका जनावरको मासु खुवाएर गिद्ध संरक्षण अभियानलाई निरन्तरता दिइरहेको छ ।
नवलपुरलाई गिद्ध पर्यटनको हबका रूपमा विकास गर्ने प्रयास गरिरहेको जटायु रेस्टुरेन्ट व्यवस्थापन समितिका अध्यक्ष एवं चराविद् डिबी चौधरीले बताउनुभयो । “नेपाल र विश्वकै लागि पनि एउटा मोडेल हुने गरी हामी गिद्ध पर्यटनको अभियानमा छौँ । गिद्ध अवलोकनका लागि देश विदेशबाट धेरै आउनुहुन्छ,” चौधरीले भन्नुभयो, “यहाँ भुँइमा, रुखमा धेरै गिद्ध हुन्छन्, गिद्धलाई असर नगर्ने र पर्यटक पनि खुसी हुने गरी निश्चित मापदण्ड अपनाएर हामीले पर्यटकलाई भित्र्याउँछौँ ।”
वातावरण, कानुन, जैविक विविधता र पर्यटनमैत्री अभियानले यहाँका स्थानीयलाई पनि रोजगारी र आर्थिक लाभ हुने उहाँको भनाइ छ । मौसम अनुसार पर्यटक आउने भएकाले अहिलेको मौसम पर्यटनका लागि उपयुक्त भएको र मासिक हजारौँको सङ्ख्यामा आएको चौधरीले बताउनुभयो । उहाँका अनुसार यहाँ अहिलेसम्म गिद्धकै बारेमा झन्डै १५ जना नेपाली विद्यार्थीले स्नातकोत्तर तहको शोधपत्र नै तयार पारेका छन् भने विभिन्न देशका सयौँ विद्यार्थीले अनुसन्धान गरेका छन् ।
“विभिन्न देशबाट साधारण विद्यार्थीदेखि वैज्ञानिकसम्म गिद्धको अनुसन्धान र जैविक विविधताको अध्ययनका लागि आउनुभएको छ । सामुदायिक पर्यापर्यटनलाई खुला विश्वविद्यालयका रूपमा विकास गर्ने हाम्रो प्रयास छ,” चौधरीले भन्नुभयो, “किराफट्याङ्ग्रा, चराचुरुङ्गी र वनस्पतिदेखि ठुला जनावरको अध्ययन अवलोकन गर्ने पर्यटक ल्याउन सक्छौँ तर विडम्बना हामी गैँडा र बाघको पर्यटनमा मात्र फसेका छौँ ।”
अस्ट्रेलियाबाट गिद्ध अवलोकन गर्न आउनुभएका रिचार्डसन आफू विश्वविद्यालयको विद्यार्थी भएको र एकै ठाउँमा यति धेरै गिद्धको अवलोकन गर्न पाउँदा निकै उत्साही भएको बताउनुभयो । यस्ता प्रजातिका गिद्ध लोपोन्मुख अवस्थामा रहेकाले संरक्षणमा विशेष जोड दिनुपर्ने उहाँको सुझाव छ ।
बङ्गलादेशको ढाकाबाट आउनुभएकी पाठशाला दोस्रो वर्षमा अध्ययनरत रस्पी फैयाजले आफ्नो देशमा यस्ता गिद्ध देख्न नपाउने भएकाले यहाँ आएर गिद्ध र उनीहरूको जीवनचक्रका बारेमा जानकारी पाएको र अत्यन्तै हर्षित भएको प्रतिक्रिया दिनुभयो ।
गिद्धलाई आहार खुवाउने रेस्टुरेन्टले सामुदायिक वनमा गौशाला पनि सञ्चालन गरेको छ । जहाँ मृत्युको मुखमा पुगेको गाई गोरुलाई बाँच्न पाउने अधिकार हनन नहुने गरी पालिन्छ र प्राकृतिक रूपमा मरेपछि गिद्धलाई खुवाइन्छ । यसो गर्दा कावासोती छाडा गाईगोरुमुक्त हुने, किसानको समस्या पनि समाधान हुने, बालीनालीमा हुने क्षति कम हुने र दुर्घटना पनि न्यूनीकरण हुने विश्वास गरिएको छ ।
गिद्धलाई संरक्षण गर्दै गिद्ध पर्यटनको हब बनाउने, रोजगारी र व्यवसायको अवसर सिर्जना गर्ने, सँगसँगै सचेतना, अपनत्व र संरक्षणलाई जोडेर दिगो जीविकोपार्जन गरी चक्र (साइकल) का रूपमा अभियान अघि बढाउने योजना रहेको अध्यक्ष चौधरीले सुनाउनुभयो ।
यो रेस्टुरेन्ट सञ्चालन गर्दा सन् २००५ मा सात प्रजातिका ७२ वटा मात्र गिद्ध थिए । सन् २०२३ मा यहाँ आठ प्रजातिका ५१७ वटा गिद्ध गणना भएका थिए । यहाँ हरेक पटक आहार खुलाउने बेला गिद्धको गणना गरिन्छ । अघिल्लो हप्ताको गणनामा २१३ वटा गिद्ध रहेका नेपाल पन्छी संरक्षण सङ्घका संरक्षण अधिकृत देउबहादुर रानाले जानकारी दिनुभयो ।
अब हिमाल र साइबेरियाबाट आउने गिद्धले यो सङ्ख्या बढ्ने अनुमान गरिएको छ । गत वर्ष यो क्षेत्रमा एक सय जति गिद्धका गुँड रहेकाले सङ्ख्या बढ्ने रानाले बताउनुभयो । कावासोतीको ज्योतिकुञ्ज सामुदायिक वन, लामीचौर सामुदायिक वन, नमुना सामुदायिक वनलगायतमा गिद्धले गुँड लगाई प्रजनन गर्ने गर्छन् ।