२०८१ मंसिर २९ शनिबार

राष्ट्रपति पौडेल कतारमा

दोहा- राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको राजधानी बाकुमा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९औँ सम्मेलन (कोप-२९) मा उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भाग लिन जाने क्रममा कतारको दोहा आइपुग्नुभएको छ ।

यही कात्तिक २६ गतेबाट सुरु हुने सम्मेलन आगामी मङ्सिर ७ गतेसम्म चल्नेछ । राष्ट्रपति पौडेललाइ दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा कतारका लागि नेपालका कार्यवाहक राजदूत कुमार राईलगायत दूतावासका कर्मचारीले स्वागत गर्नुभएको थियो ।

भ्रमण दलमा प्रथम महिला सविता पौडेल, राष्ट्रपतिका विज्ञ/सल्लाहकारसहित नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुको सहभागिता रहेको छ । भ्रमण दलका सदस्य वन तथा वातारणमन्त्री ऐनबहादुर शाही ठकुरी भने बाकु पुगिसक्नुभएको छ ।

राष्ट्रपति पौडेल आज दोहाबाट अजरबैजानको बाकु प्रस्थान गर्नुहुनेछ । कोप–२९ सम्मेलनमा राष्ट्रपति पौडेलले उच्चस्तरीय सत्रको ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’ लाई सम्बोधन गर्ने कार्यक्रम छ ।

सम्मेलनका क्रममा नेपालले आफ्ना एजेण्डामाथि विश्वको ध्यानाकर्षण गराउन कात्तिक २८ गते राष्ट्रपति पौडेलको नेतृत्वमा बेग्लै सत्रको आयोजना गर्ने कार्यक्रम छ ।नेपाल टिभी अनलाइनबाट ।

२०८१ कार्तिक २६, सोमबार प्रकाशित 1 Minute 28 Views

ताजा समाचार