अन्तिम दिन शुक्रबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्वको विधिवत् समापन हुनेछ । यस दिनलाई पारन भन्ने गरिन्छ ।
छठ पर्वमा बाँसको ढाकी, डग्री, माटोको कोसिया कुरबार, हात्ती लगायतको सामग्रीहरु चढाइन्छ । त्यस्तै प्रसादको रुपमा ठकुवा, भुसुवा, केरा, खाजा, उखु, हल्दी, अदुवा, तरकारी एवं विविध प्रकारको मिठाई तथा फलफूल आदि सूर्यदेवलाई अर्घको रुपमा चढाउने गरिन्छ ।
छठ पर्वमा विशेष गरी अर्घ दिन ब्रतालुले ४८ घण्टा अन्न र पानी त्यागेर व्रत बस्ने परम्परा छ । यसकारण छठ पर्वलाई निष्ठाको कठोर साधना मानिन्छ ।
अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ दिन चढाइएको सामग्री प्रसादको रूपमा ग्रहण तथा वितरण गर्ने चलन छ । त्यस कारण यस पर्वलाई सामाजिक सद्भाव र एकताको प्रतीक मानिन्छ ।
तराई-मधेशमा छठ पर्वको तयारीले अहिले पूरै क्षेत्र उत्सवमय बनेको छ । पूजा सामग्री किनमेलका लागि बजारमा घुइँचो लागेको छ भने नदी, पोखरी तथा जलाशयका घाटहरूलाई विशेष रूपमा सजाउने काम भइरहेको छ ।
जनकपुरको गंगासागर, धनुषसागर, अंगराजसर, दशरथ ताल लगायतका ऐतिहासिक जलाशय किनारहरूलाई नवदुलही झैं सजाउने काम जारी छ ।
मिथिलाञ्चल सहित तराई-मधेशमा अहिले छठको सुमधुर गीतले गुञ्जायमान बनेको छ । पछिल्लो समय पहाडी क्षेत्रका बासिन्दाहरूले पनि छठ पर्व मनाउन थालेका छन् ।