भद्रपुर । पहिलो संस्करणको भद्रपुर झापा गोल्ड कपमा निजी तथा संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई पनि प्रवेश निःशुल्क गरिने भएको छ । गोल्ड कप आयोजक समितिका अध्यक्ष दीपेश ढकालका अनुसार नगर क्षेत्रका सामुदायिक विद्यालयका विद्यार्थीसँगै निजी तथा संस्थागत विद्यालयका विद्यार्थीलाई पनि खेल हेर्दा शुल्क लाग्ने छैन ।
यसअघि भद्रपुर नगर क्षेत्रका सरकारी विद्यालयका विद्यार्थीले रंगशाला प्रवेश गर्दा शुल्क नलाग्ने घोषणा गरिएको थियो । महासचिव जीवनकुमार श्रेष्ठका अनुसार विद्यालयले आलोपालो गरेर प्रतियोगिताका बेला विद्यार्थी पठाउनुपर्ने छ । सामुदायिक र संस्थागत विद्यालयका विद्यार्थीलाई खेलकुदसँग जोड्न सहज होस् भनेर प्रवेश निःशुल्क गरिएको सल्लाहकार टिकाराज ढकालले बताए ।
भद्रपुर नगरपालिकामा सबै तहका गरेर ३१ वटा सामुदायिक र २९ संस्थागत विद्यालय रहेका छन् । यसैबीच, प्रतियोगिताका सबै खेलमा विशेष परिस्थितिका नागरिकलाई प्रवेश निःशुल्क गरिने भएको अध्यक्ष ढकालले बताए । त्यस्तै, नगरभित्रका ज्येष्ठ नागरिक तथा फरक क्षमता भएका नागरिकलाई पनि प्रवेश निःशुल्क गरिएको ढकालले जानकारी दिए ।