२०८१ भाद्र २७ बिहीबार

५० वर्षअघिको त्यो सैन्य ‘कू’ : दिल्लीले शरण दिएको थियो शेख हसिना र उनकी बहिनीलाई

ढाका- बंगलादेशमा समयको चक्र घुमेर फेरि त्यहीँ पुगेको छ, जहाँ ५० वर्ष पहिले थियो । सन् १९७५ मा शेख हसिनाका पिता शेख मुजीब उर रहमान नेतृत्वको सरकारविरुद्ध सैन्य ‘कू’ भएको थियो ।

त्यसबेला मुजीबसहित उनको परिवारका १८ सदस्यहरूको हत्या गरिएको थियो । मुजीबका दुई छोरी शेख हसिना र शेख रिहानामात्रै बाँच्न सफल भएका थिए ।

सन् १९७५ मा उनका पिता तथा बांगलादेशका तत्कालीन प्रधानमन्त्री शेख मुजीब उर रहमानको हत्यापछि भारतले नै शेख हसिनालाई शरण दिएको थियो ।

१९७५ मा मंगलादेशमा भएको सैन्य ‘कू’ मा हसिना र रिहाना जोगिएका थिए । ‘कू’ हुनुभन्दा १५ दिनअघिमात्रै उनीहरु जर्मनी गएका थिए ।

हसिनाका पति ‘न्यूक्लियर साइन्टिस्ट’, जो त्यसबेला जर्मनीमै थिए । ३० जुलाई १९७५ मा हसिनाले आफ्ना पितासँग अन्तिमपल्ट भेटेकी थिइन् । दुई सातापछि १५ अगस्ट १९७५ मा हसिनाले सैन्य ‘कू’ मा पिताको मृत्यु भएको जानकारी पाएकी थिइन् ।

बंगलादेशका तत्कालीन प्रधानमन्त्री मुजीबको हत्या भएपछि भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीलाई दुवै छोरीको चिन्ताले सताउँछ । उनी जर्मनीमा भारतीय राजदूत हुमायुङ राशिद चौधरीलाई हसिना भएको स्थानमा पठाउँछिन् ।

इन्दिराले शेख हसिनाको जिम्मेवारी लिइन्

हसिनाको कुराकानी इन्दिरा गान्धीसँग भयो । उनले भारतमा शरण लिने फैसला गरिन् । अनि योजना बन्छ–कसैलाई कुनै जानकारी नहुने गरी हसिना र रिहानालाई भारत ल्याउनेबारे ।

२४ अगस्ट १९७५ दिउँसो शेख हसिनाले पतिका साथ जर्मनीको फ्र्यांकफर्टबाट भारतका लागि उडान भरिन् ।

भारतले उनलाई ल्याउन एयर इन्डियाको विमान जर्मनी पठाएको थियो । २५ अगस्ट १९७५ को बिहानै विमान दिल्ली अवतरण भयो ।

उनलाई ५६ रिङ रोडस्थित एक सेफ हाउसमा राखिन्छ । परिचय लुकाउन हसिना र उनका पतिलाई ‘मिस्टर’ र ‘मिसेज’ मजुमदारको नयाँ परिचय दिइन्छ । त्यसबेला स्वयम् प्रधानमन्त्री इन्दिरा गान्धीले उनीहरूको विशेष ख्याल राखिन् ।

कडा सुरक्षाबीच बसिन् हसिना

केही दिनपछि शेख हसिनालाई पन्डारा पार्कको ‘सी ब्लक’ स्थित तीन कोठाको घरमा स्थानान्तरण गरिएको थियो ।

उक्त घरको चौतर्फी सुरक्षाकर्मीको पहरा थियो । डिटेक्टिभ पनि तैनाथ गरिएको थियो । हसिनाका वैज्ञानिक पतिलाई नयाँ दिल्लीस्थित परमाणु ऊर्जा आयोगमा जागिर दिइयो । जहाँ उनले सात वर्ष काम गरे ।

यसका साथै सुरक्षाका तीन नियम बनाइएको थियो ।
१) शेख हसिना घर बाहिर निस्कन पाइने छैन ।
२) उनले कसैलाई पनि आफ्नो खास परिचय दिन पाइने छैन ।
३) दिल्लीमा कसैसँग पनि सम्पर्क गर्न पाइने छैन ।

प्रणव मुखर्जी अभिभावक

इन्दिरा गान्धीले प्रणव मुखर्जीलाई शेख हसिनाको जिम्मेवारी सुम्पिएका थिए । मुखर्जीले हसिनाको अभिभावकत्व निभाउन कुनै कमी गरेका थिएनन् ।

हसिना पनि मुखर्जीसँग मात्रै नभएर उनको घरपरिवारसँग घुलमिल भएकी थिइन् । हसिनाका छोरा जय र मुखर्जीका छोरा अभिजीतबीच गहिरो मित्रता थियो ।

मुखर्जीकी श्रीमतीले हसिनाको खास ख्याल राखिन् । २०१५ मा मुखर्जीकी पत्नीको निधन हुँदा शेख हसिना तत्काल दिल्ली पुगेकी थिइन् । खबरहब

२०८१ श्रावण २१, सोमबार प्रकाशित 1 Minute 175 Views

ताजा समाचार