ताप्लेजुङमा अवस्थित प्रशिद्ध धार्मिकस्थल पाथीभरा क्षेत्र विकास समिति अब कोशी प्रदेश सरकारमातहत रहने भएको छ। यसअघिसम्म उक्त समिति सङ्घीय सरकारमातहत रहेको थियो। कोशी प्रदेश सरकारले पाथीभरा क्षेत्र विकास समिति गठन आदेश, २०८१ जारी गर्दै समितिलाई प्रदेश सरकारको संस्कृति र पुरातत्त्व मन्त्रालयअन्तर्गत राख्ने निर्णय गरेको हो। उक्त आदेश प्रदेश सरकार, मन्त्रिपरिषद्को २०८१ असार ३० गतेको बैठकले स्वीकृत गरेको हो।
कोशी प्रदेश सरकारले जारी गरेको पाथीभरा क्षेत्र विकास समिति गठन आदेश, २०८१ अनुसार पाथीभरा क्षेत्रको चार किल्ला निर्धारण गरिएको छ।
पूर्वमा सिरिजङ्गा गाउँपालिका–३ को हर्कटे डाँडादेखि फुङ्लिङ नगरपालिकाको वडा नं ११ फावाखोला सिम्बुसम्मको सम्पूर्ण भागलाई समितिभित्र राखिएको छ। पश्चिममा फक्ताङ्लुङ गाउँपालिका–३ लिङ्खिम र वडा नं ४ तापेथोकको पाथीभरा मन्दिरबाट तीन किलोमिटर क्षेत्रभित्रको सम्पूर्ण क्षेत्रलाई पाथीभरा क्षेत्रमा राखिएको छ।
उत्तरमा फक्ताङ्लुङ गाउँपालिका–४ र सिरिजङ्गा गाउँपालिकाको वडा नं ३ र ६ को सीमा क्षेत्र यसमा समेटिएको छ। दक्षिणमा फुङ्लिङ नगरपालिका–१० फुरुम्बुको गडीडाँडा, वडा नं ९ को देउराली, वडा नं ६ को सुकेटार सानो पाथीभरा उत्तरको सम्पूर्ण क्षेत्र र पाथीभरा याङवरक गाउँपालिका–३ को दुधीले पश्चिम फुङ्लिङ नगरपालिकाको सिमाना समेटिएको छ।
नयाँ गठन आदेशअनुसार पाथीभरा क्षेत्र विकास समितिको अध्यक्ष प्रदेश सरकारको सिफारिशमा नियुक्त हुनेछ। यसअघि सङ्घीय संसद्का सदस्य समितिमा रहने प्रावधानलाई संशोधन गर्दै अब प्रदेशसभाका सदस्यहरू पाथीभरा क्षेत्र विकास समितिमा रहने व्यवस्था गरिएको छ।
समितिमा प्रमुख जिल्ला अधिकारी, सम्बन्धित पालिकाका प्रमुख वा अध्यक्ष, तथा समाजसेवी, बुद्धिजीवी र प्रतिष्ठित व्यक्तिमध्येबाट तीनजना सदस्य रहने छन्। यी सदस्यहरूको नियुक्ति प्रदेश सरकारको सिफारिशमा ४ वर्षका लागि हुनेछ।