२०८२ असार १७ मंगलवार

झापामा डेंगु संक्रमण बढ्यो

झापा । नेपालका ७३ जिल्लामा डेंगु संक्रमण फैलिएको छ । ती जिल्लाहरुमा २ हजार ६१ जना डेंगु संक्रमित फेला परेका छन् ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार नेपालका ४ जिल्ला बाहेकका सबै जिल्लामा डेंगुका बिरामी फेला परेका छन् । हालसम्म मुस्ताङ, हुम्ला, जुम्ला र डोल्पामा भने डेंगुका बिरामी फेला नपरेको महाशाखाले जनाएको छ ।

नेपालभर २ हजार ६१ डेंगु संक्रमित हुँदा सबैभन्दा बढी संक्रमित बागमती र कोशी प्रदेशमा फेला परेका छन् । काठमाडौंमा सबैभन्दा धेरै २४९ जना डेंगु संक्रमित फेला परेका छन् ।

त्यस्तै, झापामा १३०, चितवनमा १०५, तनहुँमा ८७, मकवानपुरमा ७८, कास्कीमा ७४, भोजपुरमा ६२, काभ्रेमा ६०, ओखलढुंगामा ५९ र धनकुटामा ५८ जनामा डेंगु पुष्टि भएको महाशाखाले जनाएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय झापाका डेंगु रोगका फोकल पर्सन युवनाथ बरालका अनुसार पानी संकलन गरेर राख्ने र पानीमा रहने त्यही लामखुट्टेले टोक्ने भएकाले डेंगुको जोखिम बढिरहेको छ । उनले विशेष गरी जनघनत्व धेरै भएको ठाउँमा र कवाडी सामाग्रीहरु अव्यवस्थित तरिकाले राखिएको ठाउँमा डेंगुको जोखिम हुने बताए । जिल्लामा डेंगुको परीक्षण गर्ने किटको पनि अभाव नै रहेको उनले बताएका छन् ।

फोकल पर्सन बरालका भने, ‘पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र फूलबाट लार्भा निस्कन्छ । त्यही लार्भा वयस्क भएर टोकेपछि डेंगु रोग लाग्दछ ।’ उनले डेंगु संक्रमण अझै बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह समेत गरेका छन् ।

डेंगुबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नु पर्ने भएकाले घर वरपर तथा कार्यस्थलमा सफा पानी जमेको ठाउँमा लामखुट्टेले फुल पार्ने भएको हुँदा पानी जम्न नदिने, घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने, जुनसुकै बेला झुलको प्रयोग गर्ने र पूरै शरीर छोपिने लुगा लगाउने जस्ता कुरामा ध्यान दिन जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

२०८१ श्रावण १८, शुक्रबार प्रकाशित 0 Minutes 158 Views