चितवन । नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालमा गएको पहिरोमा परेर शुक्रबार बिहानदेखि त्रिशूली नदीमा हराइरहेकामध्ये आइतबार थप तीन शव फेला परेका छन् । घटनास्थलभन्दा ५० किमि तल गैंडाकोटदेखि गोलाघाट क्षेत्रमा शव फेला परेका हुन् । शनिबार पनि सोही क्षेत्रमा दुई शव भेटिएका थिए ।
गण्डक नहरमा पनि दुई र सुस्तामा एक शव फेला परेका छन् । तर ती शवको पहिचान हुन सकेको छैन । चितवन प्रशासनले आइतबार नयाँ विवरण सार्वजनिक गर्दै काठमाडौंदेखि गौर जाँदै गरेको बसमा ३८ जना र वीरगन्जदेखि काठमाडौं जाँदै गरेको बसमा २७ गरी ६५ जना यात्रु रहेको जनाएको छ । जसमा तीन यात्रु पौडिएर बाँच्न सफल भए पनि दुई बस र बाँकी ५७ यात्रु भने तीन दिन बित्दा पनि फेला पर्न सकेका छैनन् । सनाखत भएका पाँच शव आफन्तले बुझिसकेको चितवन प्रशासनले जनाएको छ ।
शुक्रबार बिहान साढे ३ बजेतिर खसेको पहिरोले बगाएर त्रिशूलीमा हराएका दुई बससँगै यात्रुको खोजीमा लगत्तै सुरक्षाकर्मी परिचालन भएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । घटनास्थल आसपास खोजी कार्यमा संलग्न सशस्त्र प्रहरीको गोताखोर टोली र सेनाको टोलीले बसको एक थान पर्दा र बच्चाको ट्राउजर मात्र फेला पारेको छ । बस घटनास्थल नजिकै रहेको संकेत मिलेको भन्दै प्रजिअ यादवले सोमबार गोताखोर पानीभित्रै गएर खोजी गर्ने बताए । हराइरहेका यात्रुका आफन्त धमाधम सिमलताल क्षेत्रमा आएर बिलौना गरिरहेका छन् । उनीहरूले घटनास्थलमा भएको उद्धार सुस्त र प्रविधियुक्त नभएको भन्दै आफन्त भेटिनेमा आशंका व्यक्त गरिरहेका छन् ।
चितवन प्रहरी प्रवक्ता डीएसपी भेषराज रिजालले फेला परेका ५ वटा शवबारे स्थानीयले खबर गरेको बताए । घटनास्थलभन्दा निकै परपर शव देखिन थालेपछि खोजी रणनीति परिवर्तन गरेर गोलाघाटसम्म सुरक्षा टोली परिचालन गरिएको प्रजिअ यादवले बताए ।
फेला परेकामध्ये अधिकांश शव बालुवाले शरीरको भाग पुरेको अवस्थामा छन् । नदीको बहाव कम हुँदै जाँदा शव फेला पर्न थालेका छन् । ‘अहिले टोली खोजीका लागि गोलाघाटसम्म खटेको छ । प्रहरीको मात्र १५ टोली खोजीमा लागेको छ,’ डीएसपी रिजालले भने । सुरक्षा अधिकारीका अनुसार सेनाको तीन टोली र सशस्त्रको एउटा मोटरबोट, सातवटा र्याफ्टिङ बोटसहित १५ टोली खटेको छ । सशस्त्रको टोली दूरबिनसहित शव खोज्न जुटेको सुरक्षा अधिकारीले बताएका छन् । ‘शव खोजीका लागि ठाउँ ठाउँमा टोली खटेको छ । तर बस घटनास्थलभन्दा पर पुगेको छ भन्ने लाग्दैन । त्यसैले आसपास नै बसको खोजी केन्द्रित हुन्छ,’ प्रजिअ यादवले भने ।
घटनास्थलको निरीक्षण गर्न आइतबार गृह सचिव एकनारायण अर्याल र सुरक्षा प्रमुखहरूको टोली आएको थियो । उनीहरूले पानीभित्र हेर्न मिल्ने थप शक्तिशाली सोनार क्यामरासहित प्राविधिक पठाउने बचन दिएका छन् ।
‘इन्जिनियरसहितको प्राविधिक टोली विशेष क्यामरासहित आउनेछन्,’ सशस्त्रको विपद् व्यवस्थापन तालिम शिक्षालयका सशस्त्र एसपी जनक पुरीले भने । यस्तो क्यामरा शनिबार पनि प्रयोग भएको थियो । प्रजिअ यादव खोजीका लागि त्रिशूलीको उर्लंदो भेल र धमिलो पानीले चुनौती दिएको बताउँछन् । उद्धारमा खटिएका अधिकारीले पनि पानीभित्र लैजानुपर्ने उपकरणहरू स्थिर राखेर काम गर्न निकै गाह्रो भइरहेको गुनासो गरेका छन् । ‘हामीसँग जेजति उपकरण छन् तिनले नदी सफा र शान्त भएका बेलामा काम गरेकै छन् । यस्तो भेल र धमिलो पानीमा काम गर्न जुनसुकै अत्याधुनिक उपकरण भए पनि गाह्रो नै हुन्छ होला,’ सशस्त्रका एसपी पुरीले भने ।
हराएका यात्रुका आफन्तले विदेशबाट गोताखोर मगाएर भए पनि खोजी गर्न माग गरिरहेका छन् । यसअघि २०७३ असोजमा पूर्वगृह सचिव तथा पूर्वगृहमन्त्री रहेका माधव घिमिरे चढेको जिप मुग्लिन नजिकबाट खसेर त्रिशूलीमा बेपत्ता भएको थियो । ‘त्यसबेला घिमिरेको खोजीमा बंगलादेशबाट गोताखोर मगाइएको थियो । तर नदीको वेग देखेर उनीहरू भित्र नपसी फर्किए,’ एसपी पुरीले नेपालका गोताखोर नै भरपर्दा रहेको दाबी गरे । इकान्तिपुर