२०७९ माघ १३ शुक्रबार

कचनकवल घटना : प्रेमदेखि जेलसम्म, त्यसपछि सँगै छाडे राजेश र पवित्राले यो संसार

झापा । अभिभावकले प्रेम विवाहको प्रस्ताव अस्वीकार गर्दा झापा कचनकवल गाउँपालिका–४ स्थित पूर्वलोदाबारीकी १८ वर्षीया पवित्राकुमारी राजवंशी प्रेमी २५ वर्षीय राजेशकुमार गणेशसँगै यो संसार छाड्न विवश भइन् ।

सोही वडा खुट्टामुनिका राजेशसँगै हासीखुशी जीवन बिताउन उसैलाई आफ्नो तनमन दिइसकेकी पवित्राको अभिभावक बाधक बनेपछि अन्ततः दुवै जनाले सँगै आत्महत्याको बाटो रोजे ।

उनीहरू घर नजिकै रहेको एभरेस्ट टी गार्डेनभित्र एउटै सिरिसको रुखमा एउटै कपडाको पासो (झुन्डिएर) मङ्गलवार आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए ।

घटनास्थलमा प्रहरी कार्यालय झापाका एसपी दुर्गाराज रेग्मी पनि पुगेका थिए । घटनास्थलको मुचुल्का उठाएर कानुनी प्रक्रिया पूरा दुवै शवलाई प्रादेशिक अस्पताल भद्रपुरमा पोस्टमार्टम गरी परिवारजनलाई बुझाइसकेको डीएसपी पाठकले बताए ।

‘घटनाको प्रकृति हेर्दा प्रेम असफल हुँदा दुवै जनाले आत्महत्याको बाटो रोजेको देखिन्छ,’ डीएसपी थापाले भने, ‘अन्य कुनै कारण देखिँदैन ।’

घटना विवरण अनुसार राजेश र पवित्रा लामो समयदेखि प्रेम सम्बन्ध थिए । प्रेम सम्बन्धलाई उनीहरूले विवाहमा पनि परिणत गरे, तर सफल भए । उनीहरूले २०७८ साउनमा भागेर विवाह गरेको राजेशका मामा रघुनन्दन गणेशले बताए ।

‘भान्जाले विवाह गरेर बुहारी सोजै घर भित्राएका थिए, उनीहरूले गरेको विवाहबाट दिदी भिनाजु पनि खुसी नै थिए,’ मामा रघुनन्दनले भने, ‘दुई महिनासम्म सब ठिकठाक चलिरहेको थियो, असोजमा केटी पक्षले एक्कासि भान्जा राजेशको नाममा प्रहरीमा किटानी जाहेरी दियो ।’

उमेर नपुगेको १७ बर्षीया नाबालिक पवित्रालाई ललाइफकाइ गरी जबरजस्ती विवाह गरेको भन्दै केटीका बुबाले प्रहरी कार्यालय झापामा जाहेरी दिएका थिए । त्यसपछि प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिएर जिल्ला लगियो ।

जिल्ला लगेपछि प्रहरीले पवित्रालाई अभिभावकको जिम्मा लगाइदियो । राजेशलाई हिरासतमा राखेर मुद्दा प्रक्रिया अघि बढायो । राजेश ३५ दिन प्रहरी हिरासतमा बसे । त्यसपछि झापा जिल्ला अदालतको आदेश अनुसार पुर्पक्षका लागि उनलाई झापा कारागार चलान गरियो । पवित्रालाई अभिभावकले घरमै नजरबन्दमा राखे । राजेश कारागारमा पुगेपछि उनका परिवारजनले मुद्दा फिर्ता लिन केटी पक्षसँग हारगुहार गरे । केटी पक्षले मुद्दा फिर्ता लिन लेनदेनको सर्त अघि सारे ।

काँग्रेस नेता तथा प्रदेश सांसद भूमिप्रसाद राजवंशीले दुवै पक्षलाई राखेर छलफलका लागि वातावरण बनाइदिएका थिए । ‘छलफल पश्चात् भिनाजुले साढे ६ लाख रुपैयाँ केटीका बुबालाई दिनुप¥यो,’ राजेशका मामा रघुनन्दनले भने, ‘त्यसपछि मात्र केटी पक्षले अदालतमा बयान फेरियो र भान्जा तीन महिनामै छुटेर घर आयो ।’

केटो जेलमा गएपछि आफ्नै पहलमा दुवै पक्षबीच सहजीकरण गरिदिएको बताउँदै प्रदेश सांसद राजवंशीले भने, ‘आर्थिक लेनदेनको बारेमा मलाई थाहा भएन, केटालाई छुट्ट्याउन कानुनी प्रक्रियाको बारेमा सहयोग दिएको थिए ।’ ‘दुवै जनाको मन मिलेकोले विवाह गरिदिन केटीको बुबालाई आग्रह गर्दा पनि केटी पक्षले नमान्दा आज गाउँमा यस्तो दुःखद घटना घट्यो,’ उनले भने ।

यो घटना घटेको झन्डै एक वर्ष बितिसकेको थियो । त्यस अवधिसम्म भान्जा राजेश आफ्नै जीवनमा फर्किएर परिवारको कुरा अनुसार अघि बढिरहेको थियो । ५ महिनाअघि मात्र घरमै कुखुरा फारम पनि खोलेर नयाँ व्यवसाय थालेका थिए । भान्जाको विवाहको लागि केटी खोज्ने काम पनि घरपरिवारले गरिरहेको थियो ।

‘परिवारकै इच्छा बमोजिम विवाह गर्ने भान्जाले आमाबुबालाई वचन पनि दिइसकेको थियो,’ रघुनन्दनले भने, ‘सोमबार राती एक्कासि के भयो भयो, बिहान घटना सुनेर हामी सबै चकित परेऔँ ।’

कान्छो भान्जा दिनेश र राजेश एउटै कोठामा राती सुतेका थिए । बिहान ५ बजेतिर दिनेश बिउँझिँदा दाजु कोठामा नदेखेपछि खोजे गरे । ‘घर–आँगन र छरछिमेकमा राजेशलाई नदेखेपछि खोज्दै जाँदा चिया बगानमा दुवै जना झुन्डिएको अवस्थामा फेला प¥यो,’ उनले भने । उनीहरूसँगै बाच्न नपाएपछि मृत्युलाई रोज्न बाध्य भए । दुवै परिवारमा जातको विषयमा त्यस्तो केही समस्या थिएन । गणेश (गनगाई) र राजवंशीको धर्म, संस्कार, रहनसहन सबै मिल्छ, पहिला चाहिँ विवाहवारि चल्दैन थियो । ‘पछिल्लो समयमा गणेश र राजवंशीबीच विवाहवारि भइरहेको छ,’ उनले भने, ‘आज घटेको घटना जातीय राजनीतिको कारण भएको हो ।’

टाइम्स अफ प्रदेशबाट

२०७९ माघ ११, बुधबार प्रकाशित 0 Minutes 65 Views

ताजा समाचार