२०८१ बैशाख ७ शुक्रबार

जंगली हात्ती नियन्त्रणका लागि मेचीनगरमा सोलार फेन्सिङ

मेचीनगर । मेचीनगरमा जंगली हात्ती नियन्त्रणका लागि दुई वटा क्षेत्रमा विद्युतीय तारवार (सोलार फेन्सिङ) को काम भइरहेको छ ।

मेचीनगरस्थित चारआली वन क्षेत्रमा छ किलोमिटर र मागुरमाडी सामुदायिक वन क्षेत्रमा नौ किलोमिटर गरी १५ किलोमिटर विद्यतुीय तारवारको काम भइरहेको राष्ट्रिय प्रकृति संरक्षण कोष, कोशी संरक्षण केन्द्रका प्रमुख वीरेन्द्र गौतमले जानकारी दिए ।

जसमध्ये चारआली वन क्षेत्रको छ किलोमिटर विद्युतीय तारवारको काम सकिएको छ । दुवै वन क्षेत्रमा चैतसम्म काम सम्पन्न गर्ने गरी ठेकेदार कम्पनीसँग सम्झौता भएको छ ।

भ्याटबाहेक रू दुई करोड ३५ लाख १५ हजारको लागतमा दुई वनमा विद्युतीय तारवारको काम भइरहेको हो । नेपाल सरकारको लगानीमा प्रकृति संरक्षण कोषमार्फत् काम भइरहेको प्रमुख गौतमले बताए । यहाँ जडान गरिएको ‘अफसेट’ सोलार प्यानलको विद्युतीय तारवार हुलमा आउने हात्ती नियणन्त्रका लागि प्रभावकारी हुने उनको भनाइ छ ।

“हात्तीको मनोविज्ञानलाई अध्ययन गरी यो प्रविधि निर्माण गरिएको छ, बाहुनडाँगीमा जडान गरिएको यही प्रविधि हो”, उनले भने, “त्यहाँ ६/७ वर्ष राम्रो काम गर्यो, हुलमा आउने हात्ती नियन्त्रणका लागि झापामा यो सफल मोडल मानिन्छ ।” अन्यको तुलनामा यो विद्युतीय तारवारभन्दा केही महँगो रहेको छ ।

हात्ती संरक्षणसँगै मानव बस्ती जोगाउने उद्देश्यले विद्युतीय तारवार निर्माण गरिएको हो । झापा, मोरङ र सुनसरीमा हात्ती नियन्त्रणका लागि काम भइरहेको प्रमुख गौतमले बताउनुभयो ।

टुक्रा टुक्रामा सोलार फेन्सिङको काम हुँदा हात्ती नियन्त्रणको काम प्रभावकारी हुन सकेको छैन । जलथलदेखि चुरेसम्म एकै पटक सोलार फेन्सिङको काम हुन सके प्रभावकारी हुने प्रमुख गौतम बताउँछन् । “वनसँगै बीचबीचमा रहेको बस्ती चुनौतीको रुपमा रहेको छ”, उनले भने, “जसले मानव–हात्ती द्वन्द्व न्यूनीकरण हुन सकेको छैन ।”

झापा, मोरङ र सुनसरीमा बर्सेनि ५/ ६ वटा हात्ती करेन्ट लागेर मर्ने गरेका छन् । त्यस पनि झापामा हात्तीको मृत्यु संख्या धेरै छ । पछिल्लो समय झापामा ३ वटा हात्तीको मृत्यु भएको छ ।

हात्तीलाई ठूलो क्षेत्रफल र धेरै आहार चाहिने तर यहाँका वनमा पर्याप्त हात्तीको आहारा नहुँदा बस्ती पस्ने गरेका छन् । जसका कारण जनधनको क्षति हुने गरेको छ ।

वन क्षेत्रमा हात्तीले मनपराउने बाँस, जंगली केरा, सिसौ, सिमल लगायतका वनस्पति लगाए हात्ती नियन्त्रणमा टेवा मिल्ने प्रमुख गौतमले बताउनुभयो । सामुदायिक वनसँगको सहकार्यमा जलथल र मागुरमाडी वनमा हात्तीले मन पराउने वनस्पति लगाउन थालिएको प्रमुख गौतमले बताउनुभयो ।

२०७९ माघ ९, सोमबार प्रकाशित 0 Minutes 178 Views

ताजा समाचार