२०८३ जेष्ठ २१ बिहीबार

आजदेखि देशभरका बालबालिकालाई पोलियोविरुद्धको खोप

सरकारले आइतबारदेखि देशभरका बालबालिकालाई पोलियोविरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ। दुई हप्ता चल्ने अभियानमार्फत पोलियोविरुद्धको खोप ‘आईपीभी’ दिइनेछ।

यसअघि खोप लगाउन छुटेका बालबालिकाले अभियानमा खोप लगाउन पाउने स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले जानकारी दिए। पोलियो रोगको सङ्क्रमण अझै देखिएकाले अभियान सञ्चालन गर्न लागेको उनले बताए। पोलियोबाट बचाउन देशभरिका झण्डै १४ लाख ६२ हजार बालबालिकालाई ‘आईपीभी’ लगाइनेछ ।

उनका अनुसार २०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका बालबालिकालाई खोप लगाउन लागिएको हो। सन् २०१६ देखि २०१८ को बीचमा ‘आइपीभी’ खोप उत्पादन हुन नसकेपछि ती उमेर समूहका बालबालिका खोप लगाउनबाट छुटेका थिए।

खोप अभियानका लागि ग्लोबल एलाएन्स फर भ्याक्सिन एण्ड इमुनाइजेसन (गाभी) ले ३२ करोड बराबरको खोप उपलब्ध गराएको विभागले जनाएको छ । नियमिततर्फ पोलियोविरुद्ध ६ हप्ता, १० हप्ता र १४ हप्ताका बालबालिकालाई मुखबाट थोपा तथा १४ हप्ता र नौ महिनासम्मका बालबालिकालाई खोप लगाइन्छ । सरकारले सन् २०२६ सम्म पोलियो उन्मूलन गर्ने लक्ष्य राखेको छ।

२०८१ जेष्ठ १३, आईतवार प्रकाशित 0 Minutes 312 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।