झापा । दमक क्लिन इन्डष्ट्रियल पार्क (नेपाल-चीन मैत्रीपूणर् औद्योगिक पार्क) निर्माणमा चिनियाँ लगानी र कार्ययोजना तय गर्ने भनिए पनि पार्कले भविष्यमा धेरै प्रकारको संकटलाई निम्तो दिने निश्चित छ । यस परियोजनाले प्राकृतिक संशाधनहरूलाई व्यापक क्षति पुर्याउने छ अनि सामाजिक स्तरमा पनि यसको प्रभावलाई नकार्न सकिन्न । यसले क्षेत्रमा विभिन्न प्रकारको समस्याहरू उत्पन्न गराउने विज्ञहरूको ठहर छ ।
तत्कालीन केपी ओली सरकारले साढे ७ वर्षअघि निणर्य गरेको र ओली स्वयंले ३ वर्षअघि शिलान्यास गरेको पार्क निर्माणमा ६५ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ । यसबारेमा लगानी बोर्डले स्वीकृति प्रदान गरेको भए पनि लगानीको टुंगो भने लागेको छैन ।
झापाको दमक र गौरादह नगरपालिका तथा कमल गाउँपालिकाअन्तर्गत प्रारम्भिक योजनामा २२ सय बिघा क्षेत्रफलमा पार्क रहने भनिए पनि अहिले १२ सय बिघामा पार्कको क्षेत्र निर्धारण (डिमार्केसन) भएको छ । पार्क क्षेत्रमा रहेका बासिन्दालाई चीन सरकारको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गत लगानी निर्धारण भइसकेको जानकारी दिइएको थियो ।
यसमा तिब्बतस्थित ल्हासा इकोनमिकल एन्ड टेक्नोलोजिकल डेभलपमेन्ट जोन र जिङ-फिङ जोइन्ट क्रिएसन कन्स्ट्रक्सन प्रोजेक्ट डेभलपमेन्टले लगानी खोज्ने भनिएको थियो । चिनियाँ लगानीको प्रारम्भिक सूचना दिइए पनि नेपालतर्फ जग्गा (पार्क) को स्वामित्व विवाद, मुआब्जाको अन्योल र स्थानीय बासिन्दाको विरोधका कारण पार्क शिलान्यासमै सीमित भएको छ ।
यसैबीच यदि पार्क निर्माण भए यसले पार्ने दुरगामी प्रभावहरूलाई भने नकार्न सकिन्न । पार्क निर्माणले भौतिक वातावरणमा धेरै क्षति पुर्याउनेछ । आज यस लेखमार्फत हामी यो पार्क निर्माणले यस क्षेत्रमा के-कस्ता समस्याहरू देखा पर्नेछ र भविष्यमा यसको प्रभाव कस्तो हुनेछ भन्नेबारे चर्चा गर्नेछौँ ।
यो आयोजना निर्माण गतिविधिले भूमिको स्थायित्व र रतुवा र मावा नदीको तटीय कटानलाई गति प्रदान गर्नेछ । नदी कोरिडोरमा मुख्य सडक निर्माण जस्ता गतिविधिहरू हुनेछन् । उत्खनन साइटहरूबाट निर्माण सामग्रीको निकासी हुन्छ । आयोजनाको सम्पूणर् क्षेत्रमा पर्खाल निर्माण गर्दा नदीको प्राकृतिक सतहको प्रवाहमा परिवर्तन आउनेछ ।
सतही प्रवाहलाई नदीतर्फ मोडिनेछ, जसले उच्च गतिले पानीको प्रवाह बढ्नेछ र ठूलो मात्रामा फोहोर पनि आउनेछ । यसले परियोजना क्षेत्रमा अस्थिरता र कटान निम्त्याउनेछ । यसले प्रत्यक्ष रूपमा प्रकृतिमा प्रभाव पार्नेछ ।
प्रस्तावित आयोजनाको कार्यान्वयनमा परियोजना क्षेत्रको भूमि प्रयोग परिवर्तन हुनेछ र धेरै सामाजिक र पारिस्थितिक परिणामहरू निम्तिनेछ । दमक औद्योगिक पार्कको वर्तमान भूमि प्रयोगलाई मुख्यतया चार प्रकारमा वर्गीकृत गरिएको छ र ती हुन् कृषि भूमि, बाँझो भूमि, जलस्रोत र निर्माण क्षेत्र । कृषिभूमि अधिक रहेको यस क्षेत्रमा यो परियोजना निर्माण गतिविधिहरुको कारण कुल भूमिको उपयोग परिवर्तन हुनेछ । यसले भविष्यमा ठुलो संकट देखा पर्न सक्छ ।
यति मात्र होइन, आयोजनाको सम्पूणर् क्षेत्रमा निर्माण कार्यका कारण आयोजना क्षेत्रको वायु प्रदुषण बढ्नेछ । वायु प्रदुषणको स्रोत उत्खनन स्थल, माटोको फोहोर र निर्माण सवारी साधन र उपकरणबाट हुने उत्सर्जन हुनेछ । परियोजनाका कम्पोनेन्टहरू निर्माण गर्दा धुलोको मात्रा अधिक बढ्न सक्छ । वायु प्रदूषकहरूको उत्सर्जन स्तर बढेको सवारी साधनको आवागमन र निर्माण मेसिनरी सञ्चालनका कारण अस्थायी रूपमा क्षेत्रमा वायु प्रदुषण बढ्न सक्छ ।
विभिन्न निर्माण उपकरणहरू सञ्चालन गर्न इन्धनको दहन आवश्यक हुन्छ । जसबाट अधिक मात्रामा वायु प्रदुषण स्वतः बढ्दछ । वायु प्रदूषणमा हुने सम्भावित वृद्धिले
मानव स्वास्थ्यमा असर पार्न सक्छ विशेषगरी निर्माण स्थलका बासिन्दा, यात्रुहरू र कामदारहरूको स्वस्थ बिग्रिन सक्छ । यो परियोजनाको क्रममा ध्वनि प्रदूषण बढ्ने पक्कापक्की छ । परियोजना क्षेत्र तराईमा पर्दछ र यसको नजिकै नदी र वस्ती अवस्थित छ । साथै, यो कृषि भूमि मिलेर बनेको छ । जसले यो देखाउँछ कि परियोजना क्षेत्रभर जमिन समतल गर्न आवश्यक छ ।
जमिनलाई समतल गर्न काट्ने र भर्ने काम गर्नुपर्छ र यसका लागि भारी उपकरणहरू जस्तै एक्साभेटर, बुलडोजर र अर्थ टिपरहरू चाहिन्छ । यसै प्रक्रियाको समयमा, धुलो बढ्छ र आवाज उत्पादन अपेक्षित छ । माटो कम्प्याक्सनको समयमा भाइब्रेटरहरू प्रयोग गरिनेछ ।
निर्माण सवारी साधनका अतिरिक्त, जेनेरेटर, कम्प्रेसर र पम्प जस्ता उपकरणहरू ध्वनि प्रदूषण र कम्पनका स्रोत हुन् । ध्वनी प्रदूषण र कम्पनका प्रतिकूल प्रभावहरू आयोजना क्षेत्र वरपरका बासिन्दाहरूले अनुभव गर्नेछन् । वायु र ध्वनी मात्र होइन, आयोजनाको कारण माटो प्रदूषण पनि हुनेछ ।
निर्माण स्थलमा र वरपरको माटो परियोजना साइटहरूमा निर्माण प्रदूषकहरू जस्तै कण, वाष्पशील जैविक यौगिकहरू, रंग, ग्लुज, डिजेल, तेल, अन्य विषाक्त रसायनहरू, र सिमेन्टका साथै वरपर ठोस र तरल फोहोरहरूको अव्यवस्थित जम्माबाट दूषित हुन सक्छ । जसको प्रभाव प्रत्यक्ष रूपमा प्रकृतिमा पर्नेछ ।
यस आयोजनाको निर्माणको चरणमा ठूलो मात्रामा पानी चाहिन्छ । माटोको कम्प्याक्सन, धुलो नियन्त्रण गर्न पानी छर्कने, सिमेन्ट कंक्रीट र मोर्टार मिसाउने, कंक्रीटको संरचनालाई क्युरिङ, सिमेन्ट प्लास्टर, सतह सफा गर्ने जस्ता निर्माण कार्यमा ठूलो मात्रामा पानी चाहिन्छ । साथै, श्रम शिविरमा पानी प्रयोग गरिनेछ ।
यी सबै गतिविधिको लागि पानीको स्रोत भूमिगत पानी हो । यसले दीर्घकालीन रूपमा जमिनमुनिको पानी घटाउनेछ । यस बाहेक माथिका क्रियाकलापबाट प्रयोग हुने पानीले पानी बर्बाद गर्ने र वातावरण र वरपरका सतही पानीका स्रोत र बस्तीमा नकारात्मक असर पार्नेछ । यस निर्माण कार्यअवधि फोहोर अत्यधिक बढ्नेछ । निर्माण सामग्रीको फोहोर जस्तैः इपोक्सी, जिप्सम, एडिटिभ्स, मिश्रण, सिमेन्ट, बिटुमेन, एसिड र इत्यादिको फोहोर अपरिहार्य छ ।
माथि उल्लेखित सबै सामाग्रीहरु खतरनाक हुन्छन् र यदि जथाभावी डिस्पोज गरेमा वातावरणमा प्रतिकूल असर पर्छ । यी पदार्थहरूको अनुचित र नराम्ररी प्रयोग गरिए कामदारहरूलाई प्रत्यक्ष असर पार्छ । निर्माणको क्रममा विभिन्न आयोजना निर्माण स्थलबाट विभिन्न किसिमका फोहोरहरू आउँछन् र ती प्याकेजिङ बक्स, सिमेन्टको झोला, प्रयोग गरिएको इन्जिन आयल, लुब्रिकेन्ट, प्रयोग गरिएको टायर र अन्य फोहोर पदार्थ हुन् ।
यी फोहोरहरू यदि अस्वच्छ अवस्थामा जलाएमा, जसले अत्यधिक वायु प्रदूषण निम्त्याउँछ । त्यसैगरी, निर्माण कार्यको क्रममा दहनशील पदार्थ र विषाक्त पदार्थको प्रयोगले जोखिम निम्त्याउन सक्छ । उपरोक्त फोहोरलाई अवैज्ञानिक ढंगले विसर्जन गर्दा स्थानीयवासीलाई स्वास्थ्य समस्या हुने गरेको छ ।
नेपालको एक मात्र प्रमुख र व्यस्त राजमार्ग पूर्वपश्चिम राजमार्ग हो । आयोजनाको निर्माण चरणमा यही राजमार्गमा निर्माण सवारी साधनहरूको आवातजावत बढाइनेछ । जसले राजमार्गमा र वरपरका क्षेत्रमा सवारी साधनको आवागमनमा बाधा उत्पन्न हुन्छ । निर्माण कार्यमा थप सवारीसाधन प्रयोग गर्ने भएकाले सवारीसाधनको चाप थपिनेछ । यसले यस क्षेत्रमा दुर्घटनाको घटना बढ्नेछ । साथै, राजमार्गको ट्राफिकमा बाधा पुग्नेछ र यस मार्गमा सवारी साधनको आवागमनमा ढिलाइ हुनेछ ।
यो परियोजना निर्माण गर्दा यहाँ अवस्थित नदीहरूलाई क्षति पुग्ने देखिएको छ । नदीलाई अस्थायी रूपमा डाइभर्सन गर्दा नदीको आकारविज्ञानमा असर पर्छ । विभिन्न प्रकारका निर्माण फोहोरको विसर्जनले पनि नदीमा महत्वपूणर् परिवर्तनहरू देखा पर्नेछ । यसरी गहन अध्ययन गरेर हेर्दा यो चिनियाँ लगानीमा निर्माण हुने यो पार्कले स्थानीयहरूलाई कुनै प्रकारको लाभ दिँदैन बरू उल्टै प्राकृतिक स्रोत साधनहरू नष्ट पारेर विभिन्न संकटहरूलाई भने निम्तो दिनेछ ।