२०८१ भाद्र २८ शुक्रबार

भारतका स्टार स्ट्राइकर सुनिल क्षेत्रीले गरे सन्न्यासको घोषणा

काठमाडौं- दक्षिण एसियाली फुटबलमा एकक्षत्र राज गर्दै आएका भारतीय फुटबल स्टार सुनिल क्षेत्रीले खेलाडी जीवनबाट सन्न्यास घोषणा गरेका छन्।

सामाजिक सञ्जालमार्फत एक भिडिओ सन्देश जारी गर्दै उनले अन्तर्राष्ट्रिय खेल जीवन टुंग्याउन लागेको बताए। उनी अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडीमा शीर्ष ४ मा रहेका छन्।

उनले आगामी ६ जुनमा हुने फिफा विश्वकप क्वालिफायरअन्तर्गत् कुवेतविरुद्धको खेल आफ्नो अन्तिम खेल हुने उनले बताएका छन्। ‘मेरो १९ वर्षे फुटबल जीवनको यात्रा एउटा जिम्मेवारी, दवाव र अदम्य खुसीका पलहरूसँग बित्यो। अब कुवेतविरुद्धको खेल मेरो सम्भवत अन्तिम खेलका रूपमा रहनेछ,’ क्षेत्रीले भने।

३९ वर्षीय क्षेत्रीले सन् २००५ को १२ जुनमा पाकिस्तानविरुद्धको खेलबाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका थिए। उनले सोही खेलमा देशका लागि पहिलो गोलसमेत गरेका थिए।

भारतीय फुटबलका पर्यायको रूपमा रहेका क्षेत्रीले देशका लागि ९४ अन्तर्राष्ट्रिय गोल गरेका छन्। उनी क्रिस्टियानो रोनाल्डो, पोर्चुगल (१२८), अली दाइ, इरान (१०८) र लियोनेल मेसी, अर्जेन्टिना (१०६) पछि सर्वाधिक गोल गर्ने खेलाडीका रूपमा रहेका छन्।

क्षेत्री सन् २०१० मा अमेरिकाको क्यान्सस सिटी विजार्ड तथा सन् २०१२ मा पोर्चुगलको स्पोर्टिङ सिपीमा आवद्ध भएर व्यावसायिक फुटबल खेले।

त्यस्तै, उनले भारतमा इस्ट बंगाल, डेम्पो, मुम्बई सीटी हुँदै अहिले बैंगलुरू एफसीबाट व्यावसायिक फुटबल खेलिरहेका छन्।

क्षेत्रीले आफ्नो उत्कृष्ट प्रदर्शनमा भारतलाई धेरैं उपाधि दिलाएका छन्। सन् २००७, २००९ र २०१२ को नेहरू कप, सन् २०११, २०१५ र २०२१ को साफ च्याम्पियनसीपमा भारतलाई विजेता बनाउन क्षेत्रीको योगदान सम्झन लायक रह्यो।

उनले सन् २००८ को एएफसी च्यालेन्ज कपमा पनि भारतलाई जिताएका थिए, जसले गर्दा भारतले २७ वर्षपछि एएफसी एसीएन कपमा भाग लिन पाएको थियो।

सन् २००२ मा डेब्यू गरेयता १५० क्याप जितेका उनी भारतका सर्वाधिक सफल फुटबल खेलाडीका रूपमा रहेका छन्।

२०८१ जेष्ठ ३, बिहीबार प्रकाशित 1 Minute 194 Views

ताजा समाचार