२०८१ जेष्ठ ७ सोमबार

चिमरिया दम्पतीद्वारा वैवाहिक वर्षगाँठको अवसरमा विपन्न परिवारलाई झुल वितरण

मेचीनगर । मेचीनगर-१२ निवासी चिमरिया दम्पतीले  आफ्नो २१औं वैवाहिक वर्षगाँठको अवसरमा मेचीनगरका १५ वटै वडाका विपन्न परिवारलाई झुल वितरण अभियान सञ्चालन गर्ने भएका छन् ।  समाजसेवी एवम् उद्योगी राजन-गौरा चिमरियाले ३ लाख ६७ हजार पाँच सय मूल्यको १५ सय झुल वितरण गर्ने भएका हुन् ।

मौसम प्रतिकुलसँगै लामखुट्टेको टोकाइबाट डेंगु भएर अकालमै मृत्युवरण भएको देख्न नपरोस् भन्ने उद्देश्यले प्रत्येक वडामा १०० थानका दरले १५ वटै वडामा १५ सय झुल वितरण गर्ने भएको चिमरियाले जानकारी दिए ।

विपन्न परिवारको लगत संकलन सुरु गरिएको छ । संकलन कार्य सकेपछि प्रत्येक वडामा वडास्तरीय कार्यक्रमकाबीच झुल वितरण गर्ने चिमरियाको भनाई छ । जन्मदिन र वैवाहिक वर्षगाँठको अवसरमा समाजमा विभिन्न समस्यामा पर्दै आएका विपन्न समुदायलाई सहयोग पुर्याउँदै आएका चिमरिया दम्पतीले आफ्नो नियमित कार्यक्रमअन्तर्गत झुल वितरण अभियान गरेको हो ।

२१ औं वैवाहिक वर्षगाँठकै दिन आज (बिहीबार) झापाको मेचीनगर-८ को टोकला बगानमा कार्यरत विपन्न चिया मजदुरहरूलाई ५० थान झुल वितरण गरेर अभियानको सुरु गरेका छन् । समाजमा रहेका विपन्न परिवारलाई नगद, जिन्सी तथा चौपाया वितरण गर्दै सामाजिक सेवामा तल्लीन रहेका चिमरियाले यो पटक छुट्टै ढंगले सामाजिक सेवा गर्ने योजना बनाएको उनको भनाई छ ।

यसैबीच चिमरिया दम्पतीले मेचीनगर-१२ स्थित देवाहसनपछि अव्यवस्थित रुपमा बस्दै आएका बालबालिकाको नाउँमा सुरु गरेको घर निर्माणमा १० हजार सहयोग गरेका छन् । उनले घर निर्माण अभियानका संयोजक पत्रकार खगेन्द्र घिमिरेलाई सहयोग रकम प्रदान गरेका थिए ।परिवारको पालनपोषणको एउटै आधार ४८ वर्षीय पद्मा भुजेलको निधनपछि बालबालिकाको गाँस, बास र शिक्षाको व्यवस्थापनका लागि अनुसन्धान मिडिया प्रालिले सहयोगको आग्रह गरेसँगै संकलित रकमबाट घर निर्माण अभियान प्रारम्भ गरिएको थियो ।

कनकाईका प्रजापति र देवीका मैनालीको एक मात्रै छोरी गौरासँग २०६१ साल बैशाख २७ गते वैवाहिक बन्धनमा बाँधिएका थिए । आफ्नै रीतिका डेरी उद्योगबाट दुई वटा सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थीलाई दिवा खाजामा दैनिक नि:शुल्क दूध  खुवाउँदै आएका समाजसेवी चिमरियाले पछिल्लो समयमा समाजमा उदाहरणीय रुपमा समाजसेवा गर्दै आएका छन् ।

उनले  २०७९ सालमा जन्मदिनको अवसर पारेर दर्जनौँ सहिद तथा बेपत्ता परिवार सम्मान गरेका थिए भने २०८० सालमा वैवाहिक वर्षगाँठमा मेचीनगर-१३ स्थित सहिद उप्रेती परिवारलाई ६५ हजार मूल्य पर्ने गाई वितरण गरेका थिए । त्यस्तै दीर्घ रोगी, क्यान्सरपीडितलाई आर्थिक सहयोग र २ हजार बढी विपन्न परिवारलाई निःशुल्क स्वास्थ्य बिमा गर्दै आएका छन् ।

मोटरसाइकल दुर्घटनापछि मृत्यु भएका मेचीनगर-१० का राजवंशी परिवारको सदस्य बालिकालाई शिक्षा कोष अन्तरगत ५१ हजारको कोष निर्माण गरेका थिए भने अग्निपीडित, प्राकृतिक विपत्तिमा परेकालाई उद्दारार्थ आर्थिक तथा सामाजिक सहयोग गर्दै आएका छन्  ।

२०८१ बैशाख २८, शुक्रबार प्रकाशित 1 Minute 123 Views

ताजा समाचार