२०८१ जेष्ठ ७ सोमबार

झापामा भटाभट भेटिए हात्तीपाइलेका रोगी

झापा । झापामा ठूलो संख्यामा हात्तीपाइलेका रोगीहरु भेटिन थालेका छन् । हात्तीपाइले विरुद्धको औषधि खुवाउने अभियान अन्तर्गत घरदैलोका क्रममा जिल्लाका सबै पालिकाहरुमा हात्तीपाइले रोगको लक्षण भएका व्यक्तिहरु भेटिएका हुन् । गतवर्षको तथ्यांक अनुसार झापामा १५० को हाराहारीमा हात्तीपाइलेका रोगीहरु भेटिएका थिए ।

यसवर्ष त्यसको निकै गुणा रोगीको संख्या बृद्धि हुने आँकलन गरिएको छ । जिल्लाका २० प्रतिशत बिरामीहरु मात्र खुलेर बाहिर आएको र ८० प्रतिशत बिरामीहरु लुकेर बसेकाले यसवर्षको अभियानमा त्यस्ता धेरै बिरामीहरु भेटिएको स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाह्रकोटीले बताए । हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने अभियान सम्पन्न भइसकेपछि नयाँ थपिएका बिरामीहरुको संख्या यकिन हुने कार्यालय प्रमुख बाह्रकोटीले जानकारी दिए ।

कचनकवल गाउँपालिकाका ७ प्रतिशतमा हात्तीपाइलेको संक्रमण रहेको तथ्यांक छ । जबकी त्यहाँको जनसंख्या ४२ हजार ९१२ रहेको छ । त्यस आधारमा त्यहाँ मात्र ३ हजारभन्दा बढी हात्तीपाइलेका बिरामी रहेको समीक्षा गरिएको छ । त्यस्तै, झापा गाउँपालिकामा ४ प्रतिशत हात्तीपाइलेको बिरामी रहेको तथ्यांक छ ।

झापा गाउँपालिकाको कुल जनसंख्या ३९ हजार ३०२ को ४ प्रतिशत भनेको करिब १५७२ जना हो । यसरी झापामा ठूलो संख्यामा हात्तीपाइलेका रोगीहरु रहेका छन् ।

बिर्तामोडमा गतवर्ष एकजना हात्तीपाइलेको बिरामी सार्वजनिक भएकोमा यसवर्ष खोज्दै जाँदा करिब १० जना नयाँ विरामी भेटिसकेको र अझै भेटिने क्रममा रहेको नगरपालिकाका सिनियर अहेव दीपक सापकोटाले बताए । भद्रपुरमा एकजना रोगी भेटिएका छन् । भद्रपुर-९ हडिया चिया बगानमा कार्यरत एकजनामा हात्तीपाइलेको लक्षण पाइएको नगर स्वास्थ्यकर्मी एलबी पन्तले जानकारी दिए ।

त्यस्तै, कमल गाउँपालिका भित्र औषधि खुवाउने क्रममा एकजना महिलामा हात्तीपाइलेको लक्षण देखिएको गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले बताए । त्यस्तै, मेचीनगरमा पनि हात्तीपाइलेका लक्षण भएका बिरामीहरु फेला परेको स्वास्थ्य शाखा प्रमुख सविता सापकोटा निरौलाले बताइन् ।

जिल्लामा ठूलो संख्यामा हात्तीपाइलेको रोगी रहेकाले रोगलाई नियन्त्रण गर्न भ्रामक हल्लाको पछि नलागी ढुक्क भई आम औषधि सेवन गर्न सम्पूणर् जिल्लावासीलाई वरिष्ठ जनस्वास्थ्य अधिकृत बाह्रकोटीले अनुरोध गरेका छन् ।

२०८१ बैशाख २७, बिहीबार प्रकाशित 1 Minute 85 Views

ताजा समाचार