२०८१ जेष्ठ ६ आईतवार

आमाको निधनपछि बिचल्ली तीन बालबालिकाका लागि घर निर्माण गरिँदै

धाइजन । आमाको देवाहसनपछि गाँस र बासको समस्यामा परेका झापा मेचीनगर-१२ का तीन बालबालिकाको नाउँमा घर निर्माण हुने भएको छ । परिवारको पालनपोषणको एउटै आधार ४८ वर्षीय पद्मा भुजेलको निधनपछि बालबालिकाको गाँस, बास र शिक्षाको व्यवस्थापनका लागि अनुसन्धान मिडिया प्रालिले सहयोगको आग्रह गरेसँगै सङ्कलित रकमबाट घर निर्माण गरिदिने भएको हो ।

दाताहरूबाट नगद र घर निर्माणका सामाग्री सहयोग जुट्न थालेपछि करिब १० लाख बढी लागत स्टिमेटमा टिनको छानासहित भान्सासहित २ कोठे घर निर्माणको प्रारम्भ गरेको हो । घर निर्माणका लागि मंगलबार बसेको भेलाले प्रालिका सञ्चालक तथा सम्पादक खगेन्द्र घिमिरेको संयोजकत्वमा ११ सदस्यीय निर्माण समिति गठन गरेको छ ।

समितिको सदस्यमा गङ्गा उराउँ मेचे, गोपी रिजाल, सोम ओझा, रामबहादुर मगर, विपिन प्रसाईँ, विष्णु बुढाथोकी,सन्दीप तिम्सिना, भीम कुवर,कवीन्द्र श्रेष्ठ, सुमित्रा गौतम रहेका छन् । घर निर्माणार्थ हालसम्म विभिन्न ठाउँबाट दाताहरूले ७० हजार बढी नगद र निर्माणका सामाग्री सहयोग गर्ने वचन दिएका छन् ।  हातेमालो जनसेवा समाजका केन्द्रीय सदस्य राम थापाले २० बोरा सिमेन्ट सहयोग गरेका छन् भने, मेचीनगर-१० का वडा सदस्य सोम ओझाले जस्ता पाता र स्वास्थ्य बिमाको सहयोग गर्ने भएका छन् ।

मेचीनगर-५ का उमेश उप्रेतीले घर निर्माणका लाग्ने काठको व्यवस्थापन गर्ने भएका छन् । त्यस्तै इट्टा, रङ्गरोगन, पिउने पानीको व्यवस्थापनका लागि दाताले सहयोग गर्ने वचन दिँदै आएका छन् । नगद सहयोगसमेत जुट्दै आएको छ । तीन बालबालिकामध्ये रोहण कक्षा ५ मा, तारा कक्षा ४ मा र  करुणा कक्षा २ मा स्थानीय मेचीनगर-११ स्थित बलभद्र माविमा  अध्ययनरत छन् । उनीहरूलाई उचित शिक्षा र त्यसको व्यवस्थापन गर्न समेत शिक्षासेबीहरुले इच्छा व्यक्त गर्दै आएका छन् ।

संयोजक घिमिरेले घर निर्माण सम्पन्न गर्न अझै आर्थिक अभाव नै भएकाले इच्छुक दाताहरूलाई स्वैच्छिक रुपमा सहयोग पुर्‍याएर घर निर्माणको अभियान अवधीभर साथ दिन  अनुरोध  गरेका छन् ।

उमेरले वृद्ध मृतक भुजेलको श्रीमान् धनबहादुर भुजेल गाउँमा मेलापात र मजदुरी गर्दै आएका छन् । आफ्नो नाउँमा जमिन नहुँदा स्थायी बसोबास गर्न नसकेका भुजेल परिवार विगत ४ वर्षयता मेचीनगर-१२ स्थित हडिया खोलाको ऎलेनी जमिनमा अव्यवस्थित रुपमा बसोबास गर्दै आएका छन् ।

२०८१ बैशाख २६, बुधबार प्रकाशित 1 Minute 120 Views

ताजा समाचार