२०८१ जेष्ठ ६ आईतवार

जेठ १ गतेदेखि लागु हुने गरी घट्यो ब्रोकर कमिसन

धितोपत्र बोर्डको आइतबार बसेको सञ्चालक समितिको बैठकले ब्रोकर कमिसन १० प्रतिशतले घटाउने निर्णय गरेको छ।

‘हिजो सञ्चालक समितिको बैठक बसेर प्रस्ताव अनुसार नै ब्रोकर कमिसन १० प्रतिशतले घटाउने निर्णय गरेको छ,’ धितोपत्र बोर्डका एक सञ्चालकले भने, ‘जेठ १ गतेदेखि लागु हुने गरी यस्तो निर्णय भएको हो। तर यसमा सबै सञ्चालकको हस्ताक्षर हुन बाँकी छ।’

धितोपत्र बोर्डमा अध्यक्ष नभएकै कारण यो निर्णय हुन सकिरहेको थिएन। आइतबार अर्थमन्त्रालयबाट प्रतिनिधित्व गर्ने सञ्चालक रितेश शाक्यसमेत उपस्थित रहेको बैठकले यस्तो निर्णय गरेको हो। शाक्य अहिले धितोपत्र बोर्डको अध्यक्षको हैसियतमा समेत छन्।

वैशाखबाट कायममुकायम अध्यक्षको जिम्मेवारी अर्थमन्त्रालयबाट बोर्डको सञ्चालक समितिमा प्रतिनिधित्व गरिरहेका रितेश कुमार शाक्यले पाएका थिए। चैत ३० गते संशोधित धितोपत्र ऐन राजपत्रमा प्रकाशित भएसँगै शाक्यले स्वतः कायममुकायम अध्यक्षको जिम्मेवारी पाएका हुन्।

संशोधनले धितोपत्र ऐनले बोर्डको अध्यक्षको पदावधि सकिएको अवस्थामा,  सरकारले हटाएमा वा निलम्बन गरेको अवस्थामा अर्थमन्त्रालयबाट प्रतिनिधित्व गर्ने कर्मचारीले नै धितोपत्र बोर्डको अध्यक्षको जिम्मेवारी सम्हाल्न सक्ने व्यवस्था गरेको छ।

धितोपत्र बोर्डले यसअघि गरेको अध्ययन अनुसार नै हालको शुल्कमा १० प्रतिशत घटाउन अर्थमन्त्रालयले अनुमति दिएको हो।

हाल ५० हजार रूपैयाँसम्मको कारोबारमा लगानीकर्ताले ०.४० प्रतिशत, ५० हजारदेखि पाँच लाख रूपैयाँसम्मको कारोबारमा ०.३७ प्रतिशत, पाँच लाखदेखि २० लाख रूपैयाँसम्मको कारोबारमा ०.३४ प्रतिशत कमिसन शुल्क लाग्छ।

त्यस्तै, २० लाखदेखि एक करोड रूपैयाँसम्मको कारोबारमा ०.३० प्रतिशत र एक करोड रूपैयाँभन्दा धेरैमा ०.२७ प्रतिशतसम्म कमिसन शुल्क लाग्छ।

१० प्रतिशतसम्म घटेमा ५० हजार रूपैयाँसम्मको कारोबारमा लगानीकर्ताले ०.३६ प्रतिशत, ५० हजारदेखि ५ लाख रूपैयाँसम्मको कारोबारमा ०.३३ प्रतिशत, पाँच लाखदेखि २० लाख रूपैयाँसम्मको कारोबारमा ०.३०६ प्रतिशत कमिसन शुल्क लाग्ने भएको छ ।

यस्तै २० लाखदेखि एक करोड रूपैयाँसम्म ०.२७ प्रतिशत र १ करोड रूपैयाँभन्दा माथिको कारोबारमा ०.२४३ प्रतिशतसम्म कमिसन लाग्नेछ।

२०८१ बैशाख २४, सोमबार प्रकाशित 1 Minute 104 Views

ताजा समाचार